भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी विनियमावली पारित गर्ने विषयलाई लिएर विवाद चर्किएको छ।
उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका एक कर्मचारीको म्याद थप्ने उद्देश्यले विनियमावली पारित गराउन खोजिइएको आरोप लागेको छ। त्यसका लागि केही व्यक्तिले विशेष सक्रियता देखाइरहेको कर्मचारीले बताएका छन्।
अस्पतालको विनियमावलीमा ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकासमा जाने प्रावधान छ। तर अस्पताल बोर्ड समितिले विनियमावली परिवर्तन गरेर उमेरहद ६० वर्ष कायम गर्न खोजेको छ। जसका कारण असार मसान्तसम्म मात्र कार्यावधि रहेका कर्मचारी पनि ६० वर्ष उमेरसम्म काम गर्न पाउनुपर्ने माग गर्न थालेका छन्। यसले विवाद सुरु भएको अस्पतालका एक कर्मचारीले बताए।
‘नयाँ विनियमावलीमा उमेरहद ६० वर्ष राख्ने विषयमा बोर्ड सदस्यबीच छलफल भइरहेको छ। तर यही असार मसान्तबाट अवकासमा जाने कर्मचारीले विनियमावली पारित गराउन लबिइङ गर्न थालेका छन्, त्यसमा हाम्रो विरोध हो,’ ती कर्मचारीले भने।
अस्पतालका अध्यक्ष प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, निमित्त मेडिकल डाइरेक्टर डा. उज्ज्वल चालिसे, केही जनप्रतिनिधि र सरोकारवालाहरू विनियमावली पारित गराउन लागिपरेको कर्मचारीहरूको आरोप छ। असार मसान्त अगाडि नै विनियमावली पारित गराउन ‘लबिइङ’ भइरहेको उनीहरू बताउँछन्।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको गत जेठ १२ गतेको बैठकबाट विनियमावली पारित भइसकेको भन्दै माइन्युट तथा सम्बन्धित कागजातमा हस्ताक्षर गराउने प्रयास भइरहेको उनको दाबी छ। अस्पतालका केही कर्मचारीले मेडिकल डाइरेक्टरमाथि व्यक्तिगत स्वार्थका कारण प्रक्रिया अगाडि बढाउन खोजेको आरोप लगाएका छन्।
‘सम्बन्धित कर्मचारीको सेवा अवधि लम्ब्याउन विनियमावलीलाई हतार-हतार अगाडि बढाइएको हो,’ अर्का कर्मचारीले भने।
अस्पतालका एक बोर्ड सदस्यका अनुसार ११ सदस्यीय बोर्डमध्ये तीन जनाले मात्र विनियमावली सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्। बहुमत सदस्यको हस्ताक्षर गरेका छैनन्।
यस्तो अवस्थामा प्रक्रिया अगाडि बढाइएको हो कि भन्ने विषयमा अस्पतालभित्रै प्रश्न उठ्न थालिएको छ। अस्पतालकी सूचना अधिकारी राजमती गोसाईंले कर्मचारी विनियमावली बनाउने तयारीमा रहेको बताइन्।
‘कर्मचारी विनियमावली हुँदा काम गर्न सजिलो हुने भएकाले बनाउने तयारी भइरहेको छ,’ उनले भनिन्, ‘छलफलकै चरणमा छ।’
कर्मचारी विनियमावली संस्थागत सुधारका लागि ल्याउन खोजिएको हो वा कुनै एक व्यक्तिको सेवा अवधि लम्ब्याउने उद्देश्यले अगाडि बढाइएको हो भन्दै अस्पतालका केही कर्मचारीले विरोध जनाएका छन्। उनीहरूले त्यसबारे प्रष्ट पार्न अस्पताल प्रशासनसँग माग गरेका छन्।
Shares

प्रतिक्रिया