समाज


मितेरी सहकारीको रकम हुण्डीबाट पुग्यो कम्बोडिया, नेक्सस खोज्दै सीआईबी

सहकारी ठग्ने सुवास खत्री पनि पक्राउ
मितेरी सहकारीको रकम हुण्डीबाट पुग्यो कम्बोडिया, नेक्सस खोज्दै सीआईबी

कम्बोडियामा पक्राउ परेपछि नेपाल ल्याइएका ज्योतिबहादुर भण्डारी


उजिर कार्की
असार १७, २०८२ मंगलबार २१:५३, काठमाडौँ

ललितपुरको मितेरी सहकारीको करोडौँ रूपैयाँ हुण्डीमार्फत कम्बोडिया पुर्‍याएको खुलेको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा कम्बोडियाबाट पक्राउ परेका ज्योतिबहादुर भण्डारीमाथि अनुसन्धान गर्दा भण्डारीले हुण्डीमार्फत रकम विदेश लगेको खुलेको हो। 

सीआईबीले मितेरी सहकारी ठगीको आरोपमा अर्का आरोपितलाई पनि पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। धादिङ घर भई काठमाडौँको सोल्टीमोड बस्ने सुवास खत्रीलाई पनि सीआईबीले पक्राउ गरेको छ। 

कम्बोडियामा पक्राउ परेका बर्दियाको बाँसगढी नगरपालिका ७ का ४२ वर्षीय ज्योतिबहादुर भण्डारीलाई असार ४ गते राति नेपाल ल्याइएको थियो। मितेरीका सञ्चालकहरूले सहकारीको रकम उनीहरू दुवैजनालाई दिएको बताएका थिए। उनीहरूमार्फत नै सहकारीको रकम हिनामिना गरेको खुलेपछि सीआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। 

यसअघि सहकारीका सञ्चालक ज्योति गुरुङ र कुम्भराज गुरुङले सहकारीको रकम ज्योतिबहादुर भण्डारी र सुवास खत्री मार्फत नै क्रिप्टो र ब्याजमा लगाएको बताएका थिए। 

उनीहरूले बढी ब्याज दिने र क्रिप्टोमा लगानी गरिदिने भन्दै सहकारी सञ्चालकलाई नै ठगी गरेको खुलेको छ। 

२ दिनपहिले मात्रै पक्राउ परेका सुवासले भने आफूले सहकारीबाट लगेको रकम पनि ज्योतिबहादुर भण्डारीलाई नै दिएको बताएका छन्। सीआईबीका अनुसन्धान अधिकृतले भने, ‘मुख्य आरोपित भनिएका दुवैजना पक्राउ परिसकेका छन्। उनीहरूले सहकारीबाट रकम लिएको पनि स्वीकार गरेका छन्। तर सुवासले आफूले लगेको रकम पनि पछि ज्योति भण्डारीलाई नै बुझाएको भनेका छन्। ज्योतिले त्यो कुरा  स्वीकार गरेको छैन। सहकारीबाट लगेको भने उसले पनि स्वीकार गरेको छ।’

सहकारीबाट उनीहरूले लगेको रकम हुण्डीमार्फत विदेश पुगेको प्रमाण फेला परेको पनि सीआईबी स्रोतले पुष्टि गरेको छ। 

‘कुम्भराज र ज्योति गुरुङबाट रकम लगेको कुरा दुवैजनाले स्वीकार गरेका छन्। उक्त रकम हुण्डीमार्फत गएको देखिन्छ। ज्योति गुरुङ र कुम्भराजले कतिकति रकम दिए उनीहरूलाई, कुनकुन च्यानलमार्फत कसरी हुण्डीमार्फत विदेश गयो भनेर हेरिरहेका छौँ,’ अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘उनीहरूका पुराना डिभाइस र बैंक खाताहरूमा पनि अनुसन्धान भइरहेको छ।’

सुवास यसअघि पनि हुण्डी र ठगीको कसुरमा पक्राउ परेका थिए। 

मितेरी सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले आफूले सहकारीबाट अपचलन गरेको करोडौँ रकम थाइल्यान्डमा बसोबास गर्ने ज्योतिबहादुर भण्डारीले चलाएको र उनले  फिर्ता गर्ने बताएकी थिइन्। 

मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका १४४ जना बचतकर्ताहरू र सञ्चालकहरूको समेत गरी १४ करोडभन्दा बढी रकम ठगी गरेको आरोप छ। 

ज्योति गुरुङले ह्वाट्सएपमार्फत सहकारीका पदाधिकारीहरू र ज्योतिबहादुर भण्डारीबीच सम्पर्क पनि गराएकी थिइन्। 

भण्डारीले मितेरी सहकारी संस्थाका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंक, इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रूपैयाँ पार्सल पठाएको छु भनी ह्वाट्सएपमार्फत नै टोकनको फोटो पठाएका थिए। 

विदेशबाट आएको पार्सल रकम लिनको लागि कमिसन तिर्नु पर्छ भनी विभिन्न नम्बर र नामबाट सहकारी संस्थाका पदाधिकारीहरूसँग सम्पर्क गरी सहकारी संस्थाका पदाधिकारीहरूको व्यक्तिगत रकम थप ३ करोड ४४ लाख ७४ हजार ३२० रूपैयाँ ठगी गरेको आरोप छ।

भण्डारीको नाममा फरकफरक जिल्लाबाट जारी भएका २ वटा नागरिकता र राहदानी रहेको समेत खुलेको छ। राहदानी नं १०५४८६८८, ना प्र प नं १५८८३ कास्कीबाट जारी भएको थियो। 

राहदानी नं ११३६४६९१, ना प्र प नं १४८०३र जन्मस्थान बर्दिया उल्लेख भएको अनुसन्धानबाट खुलेको छ। 

भण्डारीले अन्य व्यक्तिहरूको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरूको विवरण राखी सोही किर्ते गरेको नागरिकता तथा राहदानीलाई ठगी गर्न दुरुपयोग गरेको समेत सीआईबीको दाबी छ।

भण्डारीले फरक–फरक नामबाट फेसबुक र ह्वाट्सएप चलाएर ठगी गर्दै आएको पनि भेटिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँमा विभिन्न मितिमा दर्ता भएका ३ वटा ठगी मुद्दामा समेत उनी फरार रहेको अभिलेख फेला परेको छ। 

ज्योति गुरुङ र भण्डारीविरुद्ध २०८१ कात्तिक १३ गते इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। भण्डारीलाई पक्राउ गरेर नेपाल ल्याएसँगै मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ ठगी सम्बन्धी कसुर र परिच्छेद २५ को दफा २७६ किर्ते कसुरमा अनुसन्धान अगाडि बढाएको छ। तर ज्योति गुरुङ भने फरार छिन्। उनी कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी हुन्। धनराजले भने ज्योतिसँग सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन्।

सीआईबीले यसअघि गुरुङसँग पनि सोधपुछ गरेको थियो। ज्योतिका नाममा लिएको कर्जाको ब्याज पनि उनले तिरेका थिए। तर ज्योति गुरुङ विदेशमा फरार हुँदा सीआईबी पनि यो विषयको निष्कर्षमा पुग्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad