फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल फेला परेका छन्।
सोमबार बिहान ९ बजेर ४७ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा निरास स्टाटस राख्दै उनी सम्पर्कविहीन भएका थिए।
जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले नेपालखबरलाई जानकारी दिए।
श्रेष्ठलाई प्रहरीले खोजी तीव्र पारेकाे थियो। उनलाई प्रहरीले बालाजुको एक होटलमा सकुशल फेला पारेको हो।
उनलाई प्रहरी टोलीले उद्धार गरेर प्रहरी परिसर काठमाडौँ कार्यालयमा ल्याउँदै छ। त्यहाँबाट उनलाई आफन्तको जिम्मा लगाइने बोहोराले बताए।
रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर मोवाइल बन्द गरेका थिए। उनले सोमबार बिहान फेसबुकमा सबै जनालाई अलविदा, मलाई माफ गरिदिनु भन्दै लेखेका थिए।
१८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा.श्रेष्ठले आफूलाई काम गर्न नदिएका कारण यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेका थिए।
Shares

प्रतिक्रिया