बागमती प्रदेश सरकारले गत मध्यराति ल्याएको बजेटमा विपक्षी दलहरुले असन्तुष्टि जनाएका छन्। दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक राति ९ बजेबाट मात्र सुरु भएको थियो।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ। चालू आर्थिक वर्षमा ६४ अर्ब ५४ करोड बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि ३ अर्बभन्दा बढी बजेट बढाएर ल्याइएको हो।
तर विपक्षी दलहरुले भने प्रदेश सरकारले ल्याएको बजेट वितरणमुखी, दीर्घकालीन फाइदाको योजना नसमेटिएको तथा अपेक्षा गरिएअनुरुप नभएको आरोप लगाएका छन्।
यस्तो छ दलहरुको प्रतिक्रिया
प्रतिफलविहीन बजेट : नेकपा एकीकृत समाजवादी
बजेट तथा कार्यक्रमले जनताको समृद्धिको कुरा प्रस्ट्याउनुपर्नेमा त्यस्तो नपाइएको उनको भनाइ छ।
‘बजेटमा प्राथकिमता तोकिनुपर्ने हो, त्यो पाइएन’, नेता खनालले भने, ‘बजेट लगानी गरेपछि त्यसले प्रदेश संरचना र प्रदेशबासीलाई के प्रतिफल दिने भन्ने पनि हुनपर्ने हो। तर, त्यस्तो केही पाइएन। जसकारण यो बजेट नेता केन्द्रीत र वितरणमुखी बजेट हो भन्ने मेरो बुझाइ छ’, उनले भने।
बदनियत मिसिएको बजेट : नेमकिपा
यता, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि सरकारले ल्याएको बजेट गञ्जागोल र सरकारको बदनियत मिसिएको पाइएको बताएको छ।
नेमकिपा बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाइँले बागमती सरकारले ल्याएको बजेट नतिजामुखी नभएको बताएका हुन्। यो बजेटसँगै सरकारको संकट पनि सुरु भएको उनले बताए।
‘यो बजेट प्रदेशबासीको हितमा छैन, यो बजेटले प्रदेशबासीलाई केही गर्ला भनेर आशा गर्नु बेकार हुनेछ’, नेता गोसाइँले भने, ‘बलियो दुईवटा दल मिलेर प्रथमपटक ल्याएको बजेट यतिकमजोर होला भन्ने सोचेका थिएनौँ। यो जत्तिको फितलो बजेट प्रदेश सरकारले पाएकै थिएन।’
दुई ठूला दलले बनाएको बजेट राम्रो नआएको उनले आरोप लगाए।
हाँसो लाग्ने बजेट : राप्रपा
त्यसो त, कस्तो न बजेट ल्याउँछौँ जसरी आधा रात लगाएको बागमती प्रदेश सरकारले ल्याएको बजेट देखेर हाँसो लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता उद्धव थापाले बताए।
‘दिउँसो ३ बजेका लागि तोकिएको समयबाट ६ घण्टा ढिलो गरी बजेट ल्याउनुभएको छ।
‘यसलाई हेर्ने हो भने पनि कार्यान्वयनको पक्ष पनि यस्तै ढिला हुन्छ भन्ने लाग्छ’, नेता थापाले भने, ‘संघले पनि अनुदान घटाइरहेको अवस्था छ। प्रदेश सरकारको आम्दानी पनि न्यून छ। यस्तो अवस्थामा ल्याइएको ६७ अर्बको बजेट ल्याएको छ। यस्तो चुनौतीपूर्ण अवस्थामा यो बजेट सफल हुँदै हुँदैन।’
दुई दलीय सरकार असफल : माओवादी केन्द्र
आगामी आर्थिक वर्षका लागि ल्याइएका बजेटले दुई ठूला दलीय गठबन्धको सरकार असफल छ भन्ने पुष्टि गरेको प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको दाबी छ।
बजेट बनाउनेदेखि सदन प्रस्तुत गर्नमा समेत विवाद देखिएको सरकारले ल्याएको बजेट कार्यान्वयनमा फितलो हुने देखिने माआवादी केन्द्र बागमती संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए।
‘खासै नयाँ कार्यक्रम केही छैन, निवर्तमान मुख्यमन्त्री समेत रहेका जम्कट्टेलले भने, ‘बागमती प्रदेशबासीका अपेक्षा जे हो, त्यसलाई यो बजेटले सम्बोधन गरेको खास केही देखिँदैन। विगतका राम्रा योजना तथा कार्यक्रमहरु ल्याएका थियौँ, त्यसलाई निरन्तरता दिन नखोजिएको पाइयो। हाम्रो कार्यकालमा समृद्ध प्रदेश निर्माण गर्न सारेका योजनाहरुलाई शीर्षकमा राखिएको छ तर बजेट भनिएको छैन।’
प्रदेश सरकारले ल्याएको बजेट उत्साह जगाउने खालको नभएको उनले बताए।
नतिजामुखी र उत्पादनमा आधारित बजेट : अर्थमन्त्री काफ्ले
यता, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले भने यसपटकको बजेट अन्य वर्षहरुको भन्दा नतिजामुखी, उत्पादनमा आधारित र उद्यम विकासमा केन्द्रीत भएर ल्याइएकोले प्रभावकारी हुने बताउँछन्।
आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन साउन मसान्तभित्र बजेट कार्यान्वयन कार्ययोजना स्वीकृत गरिने उनले बताए।
सम्बन्धित मन्त्रालय तथा निकायले कार्तिक मसान्तसम्म स्वीकृत कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि, निर्देशिका र मापदण्ड तयार गरी लागु गरिने अर्थमन्त्री काफ्लेले बताए।
‘ल्याएको बजेट कार्यान्वयनका लागि साउन लाग्नेबित्तिकै हामी तदारुकता देखाउने छौं,’ मन्त्री काफ्लेले भने, ‘बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्डको आधारमा आगामी आर्थिक वर्षको पहिलो चौमासिक भित्रै स्रोत सुनिश्चितता प्रदान गर्ने व्यवस्था मिलाइनेछ। प्रदेश गौरवका आयोजना, बहुवर्षीय आयोजना र क्रमागत आयोजनाहरू तोकिएको समयभित्रै सम्पन्न गर्ने गरी काम गर्छौं।’
Shares

प्रतिक्रिया