समाज


अदालतले भन्यो- ४ कसुरमा दुर्गा प्रसाईंको संलग्नता देखिएन, आपराधिक उपद्रवमा देखियो

अदालतले भन्यो- ४ कसुरमा दुर्गा प्रसाईंको संलग्नता देखिएन, आपराधिक उपद्रवमा देखियो

उजिर कार्की
जेठ ३०, २०८२ शुक्रबार १९:१६, काठमाडौँ

जिल्ला अदालतले तीनकुने घटनाका कमान्डर दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि लगाइएका चारवटा अभियोगमा भने संलग्नता नदेखिएको जनाएको छ। 

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंलाई लगाइएकामध्ये राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधका कसुरतर्फ कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार नदेखिएको जनाएको छ। यी कसुरमा हाल संलग्नता पुष्टि हुने आधार नदेखिएको र पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा उल्लेख छ। 

तर आपराधिक उपद्रवमा भने प्रसाईंको संलग्नता देखिएको आदेशमा भनिएको छ। 

‘यी प्रतिवादीउपर परेका किटानी जाहेरीहरू, माथि उल्लिखित सहप्रतिवादीहरूले आफूलाई लागेको अभियोगको सम्बन्धमा व्यक्त गरेका कुराहरू, मिसिल संलग्न मोबाइल सेटको परीक्षण प्रतिवेदन, कल डिटेल, प्रहरी प्रतिवेदन समेतका कागजात प्रमाणहरू तथा मिसिल संलग्न घटना विवरण समेतका कागजातहरूबाट यी प्रतिवादी दुर्गा प्रसाईं अभियोग दाबी बमोजिम आपराधिक उपद्रवको कसुरदार हुन् भनी विश्वास गर्ने मनासिव आधार देखियो,’ आदेशमा भनिएको छ, ‘पछि ठहर बमोजिम हुने गरी हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३७ बमोजिम मुद्दा पुर्पक्षको लागि ऐ को दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई स्थानीय कारागार कार्यालयमा पटाइदिनू।’  

आपराधिक उपद्रवमा संलग्नता रहेको प्रारम्भिक निष्कर्षमा पुग्दा अदालतले विभिन्न आधारहरू लिएको छ। जसमा दुर्गा प्रसाईं आफैले र सहप्रतिवादीहरूले दिएको बयानलाई पनि आधार मानिएको छ। प्रसाईंले कार्यक्रम स्थलमा अश्रुग्यास प्रहार भएपछि भाव आवेगमा आएर संसद् भवन कब्जा गरौँ भनेको तर संसद् भवन जाने उदेश्य भने नरहेको अदालत समक्ष बयान दिएका थिए। 

उनले प्रहरीलाई पेल्ने गरी गाडी हाँकेको विषयमा पनि बचाउ गर्दै बयान दिएका छन्। तीव्र गतिमा गाडी नकुदाएको, ब्रेक हान्दै हाफक्लजमा अगाडि बढाएको र प्रहरी तथा सर्वसाधारणलाई चोट नलागोस् भन्नेमा सचेत रहेको बयान दिएका छन्। 

सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको घरमा आगो लगाई पत्रकार सुरेश रजकको हत्या गर्ने कार्यमा पनि आफ्नो संलग्नता अस्वीकार गरेका थिए। सुरेश रजकको हत्यामा जो–जो संलग्न छन् उनीहरूले नै जिम्मा लिनु पर्ने प्रसाईंले बयान दिएका थिए। 

आफूले त्यस्ता कार्य गर्न कसैलाई निर्देशन नदिएको र जनधनमा आफूले क्षति पनि नपुर्‍याएको दाबी गरेका छन्। पत्रकार रजकको ज्यान गएको घटनाबारे आफूलाई केही थाहा नभएको प्रसाईंले बयान दिएका छन्। 

त्यसदिन आफ्नै ज्यानको खतरा भएकाले आफ्नो ज्यान बचाउन त्यहाँबाट सुरक्षित स्थानमा गएको बयान दिएका छन्। उनले आन्दोलन समितिको संयोजक धवलशमशेर राणा र सदस्यमा राप्रपाकै रवीन्द्र मिश्र रहेको कागजातबाट देखिएको आदेशमा उल्लेख छ। 

तर दुर्गा प्रसाईंले सुरेश रजकको कर्तव्य गरी ज्यान मारेको भन्ने कुरा देखिने कुनै प्रमाण वादी पक्षबाट अभियोग पत्रसाथ पेस नभएको पनि आदेशमा उल्लेख छ। 

तर प्रहरीले भने प्रसाईंले तीव्र गतिमा गाडी अगाडि बढाउँदा केही प्रहरी घाइते भएको दाबी गरेको थियो। 

यस्तै प्रहरीले तीनकुनेमा आपराधिक समूहहरू अनवरत तत्परत फौज, नागरिक प्रतिरक्षा बल, शाही युवा शक्ति नेपाल, रोयल टाइगर फोर्स, शिव सेना नेपाल, राष्ट्रिय शक्ति नेपाल, शाही युवा शक्ति भनी उल्लेख गरेको थियो। 

तर उक्त समूहहरू आपराधिक समूह भएको र आर्थिक लाभको लागि काम गरेको पुष्टि हुने तत्काल कुनै प्रमाण अभियोग पत्रसाथ पेस गर्न नसकेको पनि अदालतको आदेशमा उल्लेख छ। 

‘प्रतिवादी दुर्गा प्रसाईं राज्यविरुद्धको कसुर, ज्यान सम्बन्धीको कसुर, संगठित अपराधको कसुर, ज्यान मार्ने उद्योगको कसुरमा इन्कार रहेको देखिएको, दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको तर्फबाट कार्यक्रम आयोजना भएको देखिएको, उक्त संस्था नाफा नकमाउने संस्थाको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको देखिएको, उक्त संस्थाले तीनकुनेमा कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयमा अनुमति माग भई विरोध कार्यक्रमको सूक्ष्म विश्लेषण गर्दै सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा भरपर्दो र त्रुटिरहित ढंगबाट सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको पत्रबाट देखिएको, राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिको सदस्यमा सांसद धवल शमशेर जबरा समेत सदस्य रहेको उनकै बयानबाट देखिएको समेत मिसिल संलग्न प्रमाणबाट यी प्रतिवादी राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान, संगठित अपराध उपरका कसुरमा कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार देखिएन,’ आदेशमा उल्लेख छ।

अदालतले यी आधारसहित प्रसाईं र अन्य ६ जनालाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

कारागार चलान हुनेमा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन्। 

अन्य ३२ जना प्रतिवादीलाई भने धरौटीमा रिहा गर्न अदालतको आदेश छ। उनीहरूलाई १० हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश ध्रुवराज कार्कीले आदेश दिएका छन्।  

हरिहर चौलागाईं, सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल, भीम भन्ने हेमराज थापा, विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेतलाई जनही एक लाख रूपैयाँ धरौटी लिएर रिहा गर्न अदालतको आदेश छ। 

यस्तै निराजनकुमार गिरी, प्रेमबहादुर श्रेष्ठ, दिनेश खड्का, अमित शाह र जितबहादुर श्रेष्ठलाई ५० हजार रूपैयाँका दरले धरौटी तोकिएको छ।

गोपाल मल्ल, पुष्कर खतिवडा, कुमार बस्नेत, मनबहादुर काला, रमेश राई, कमलकुमार विष्ट, लोकबहादुर बस्नेतलाई २० हजार रूपैयाँका दरले धरौटी तोकिएको छ। बाँकी १६ जनालाई १० हजार रूपैयाँका दरले धरौटीमा रिहा गर्न अदालतको आदेश छ। 

पशुपति खड्का, विष्णु पराजुली, मुनेन्द्रराज भण्डारी, अनिलकुमार थापा, गोपाल बोहरा भन्ने तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, ओमप्रकाश लुइँटेल, तेजेन्द्र रायमाझी, दिवस बोगटी क्षत्री, दिलकुमार श्रेष्ठ, सुमन कार्की र मनोजकुमार सापकोटालाई १० हजारका दरले धरौटी माग गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad