प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन्। सोमबारसम्म डिस्चार्ज हुनेमध्ये ५ महिला र ६ जना पुरुष छन्। सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा सोमबारसम्म १५ जनालाई राखिएको छ। सरकारले प्रदेश १ मा ४ सय ३८ आईसोलेसन बेड तयार गरेको छ। यसैगरी ४ हजार ३७ वटा क्वारेन्टाइन बेड तयार गरेको छ। यसैगरी संक्रमित उपचार गर्न ४४ आईसीयू बेड तयारी अवस्थामा छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार प्रदेश १ मा अहिलेसम्म कसैलाई पनि आईसीयूमा राखेर उपचार गर्नु परेको छैन। सूचना डेस्कले दिएको जानकारी अनुसार सोमबारसम्म क्वारेन्टिनमा ४४ महिला र ५ सय ६६ पुरुषसहित जम्मा ६ सय १० जनालाई राखिएको छ। यता होम क्वारेन्टिनमा बस्नेको संख्या ५ सय ३८ महिला र दुई हजार ३ सय ९ पुरुष गरी जम्मा २ हजार ८ सय ४७ जना रहेका छन्।
प्रदेश १ मा हालसम्म ८५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षण गरिएको छ। तीमध्ये ६९ जनालाई कोरोना नभएको पुष्टि भएको छ। बाँकीको रिर्पोट आउन बाँकी रहेको छ। स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिर्पोट आएको हो।
परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमूना धरान पठाइएको छ। प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानबाट कोरोना संक्रमणको परीक्षण भइरहेको छ।
जनसुरक्षा कोषमा ११ करोड ६५ लाख
प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको छ। कोषमा सोमबार थप रु. ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो।
कोषमा आइतबारसम्म रु. ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो। कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो। राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ।
कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।
Shares
प्रतिक्रिया