समाज


बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या

बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार २०:५३, सिरहा

हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ। आज बिहान आएको बाढीले पुल बगाएको हो।

बाँसबाट बनाइएको यही काठेपुलबाट दैनिक सयौँ मोटरसाइकल तथा स्थानीयवासी ओहोरदोहोर गर्ने गरेका थिए। करिब १३ वर्षदेखि यहाँ निर्माणाधीन पक्की पुल अझै अधुरो छ। यहाँ छ महिनाअघि सिरहा नगरपालिकाले करिब रु दुई लाख खर्चेर अस्थायी काठेपुल निर्माण गरेको थियो। नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले बाढीले  उक्त पुल बगाएपछि आवागमनमा समस्या भएको बताए।

‘बाढीले काठको पुल बगाएपछि यहाँ आवागमन नै बन्द हुन पुगेको छ। पैदलयात्रीहरू भने पुल छेउमा रहेको भर्‍याङबाट जोखिम मोल्दै आवतजावत गरिरहेका छन्’, वडाध्यक्ष यादवले भने, ‘हाल पानीको बहाव बढी रहेको र कम भएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्छौैं।’

यहाँ विसं २०६८ जेठ ३१ बाट तीन वर्षमा सक्ने गरी चार सय ६९ दशमलव दुई मिटर लामो पुलको निर्माण सुरु भएको थियो। पटक–पटक म्याद थप गरेर १० वर्षमा निर्माणको अन्तिम काम भइरहेका बेला विसं २०७८ असारमा आएको सामान्य बाढीले पुल भासिन पुग्यो।

आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी फेरि अन्तिम पटक म्याद थप गरिए पनि निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ ले बीचमै काम छोडेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad