समाज


लेबनान मिसनका डेपुटी फोर्स कमान्डर महरा उपरथीमा बढुवा

लेबनान मिसनका डेपुटी फोर्स कमान्डर महरा उपरथीमा बढुवा

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १९:४७, काठमाडौँ

नेपाली सेनाका सहायक रथी मानबहादुर महरा उपरथीमा बढुवा भएका छन्। मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको सिफारिसमा महरालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए। 

उपरथीमा बढुवा भएका महरा संयुक्त राष्ट्र संघ शान्ति मिसन अन्तर्गत युनाइटेड नेसन्स इन्टरिम फोर्स डेपुटी कमान्डर छन्। उनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट डेपुटी कमान्डरमा नाम निकाल्न सफल भएका हुन्। 

यसअघि पनि उक्त पदमा नेपाली सेनाकै उपरथी चोकबहादुर ढकाल कार्यरत थिए। तर उनी दुई वर्षे कार्यकाल सकेर स्वदेश फर्किएपछि रिक्त पदमा महरा छनोट भएका हुन्। 

ढकाल भने कार्यकाल सकेर फर्किन विमानस्थल जाने क्रममा लेबनानमै आक्रमणमा परेर सामान्य घाइते भएका थिए। 

प्राविधिकतर्फका उपरथी भोला बुढाथोकी अनिवार्य अवकाश भएपछि एकजना उपरथी साधारण समूहतर्फ रिक्त भएको थियो। सांगठनिक संरचना २०७८ अनुसार डाक्टर र पाइलटबाहेकका प्राविधिकतर्फ एकजना उपरथी रहने व्यवस्था गर्दै उक्त पदमा बुढाथोकीलाई बढुवा गरिएको थियो। सोही व्यवस्थामा उनको अवकाशसँगै उक्त दरबन्दी पनि साधारण समूहतर्फ ल्याउने उल्लेख थियो। 

साढे तीन दशकदेखि नेपाली सेनामा कार्यरत महरा सन् २०२५ मार्च २ मा युनिफिल मिसनमा डेपुटी फोर्स कमाण्डरमा नियुक्त भएका थिए। 

उनले यसअघि मानव अधिकार निर्देशनालय र योजना तथा नीति निर्देशनालयमा पनि निर्देशकका रूपमा काम गरिसकेका छन्। डेपुटी फोर्स कमान्डरमा नियुक्त हुनु पहिले महरा प्रधानसेनापतिको सैन्य सचिवको रूपमा कार्यरत थिए। 

महरासँग शान्ति मिसनहरूमा काम गरेको पनि लामो अनुभव छ। उनले यसअघि शान्ति मिसन अन्तर्गत नै प्लाटुन कमान्डर, कम्पनी कमान्डर, स्टाफ अफिसर, बटालियन कमान्डर र सैन्य पर्यवेक्षकको रूपमा काम गरिसकेका छन्। 

महराले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad