समाज


३८ वर्षअघि मुम्बईको वेश्यालयमा युवती बेचेको आरोपमा ६७ वर्षीय व्यक्ति पक्राउ

३८ वर्षअघि मुम्बईको वेश्यालयमा युवती बेचेको आरोपमा ६७ वर्षीय व्यक्ति पक्राउ

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १८:२६, काठमाडौँ

२०४४ सालमा एक युवतीलाई मुम्बईको बेश्यालयमा बेचविखन गरेको आरोपमा ६७ वर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको साविक भोटेनाम्लाङ गाविस–४ हाल पाँचपोखरी थङपाल गाउँपालिका–७ खोङ्गेका चमारे भन्ने चमार तामाङ पक्राउ परेका हुन्।

प्रहरीका अनुसार तामाङ समेतले काठमाडौँ चाबहिलस्थित गलैँचा बुन्ने कारखानामा काम गरिरहेकी ती युवतीलाई यो काम गर्दा टीबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौँ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ भनी विश्वास दिलाई २०४४साल पुस १९ गते काठमाडौँबाट दिल्ली हुँदै मुम्बई पुर्‍याएका थिए।

मुम्बईमा रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठी नं. ७ मा पुर्‍याई उनीहरूले भारतीय रुपैयाँ ८० हजारमा ती महिलालाई बेचबिखन गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो।

उक्त वेश्यालयमा जबरजस्ती ७ वर्षसम्म वेश्यावृत्तीको काममा लगाउने क्रममा टीबी रोग लागेपछि २०५१ साल माघमा उनी नेपाल फिर्ता आएकी थिइन्। 

तत्पश्चात पीडितले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा २०५२ फागुन १ गते जाहेरी दिएकोमा सिन्धुपाल्चोक प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको थियो। 

सोही साल फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा सो सम्बन्धी मुद्दा दर्ता भएको थियो।

अपराध अनुसन्धान ब्युरोले २०७७ सालदेखि उक्त मुद्दाको थप अनुसन्धान सुरु गरेको थियो।

ब्युरोले फरार व्यक्तिहरूको खोजतलास गर्ने क्रममा तामाङलाई यही वैशाख ११ गते उनकै घर सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो।

तामाङविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad