नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पारेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले कुनै मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेती गरिरहेको टिप्पणी गरेको बताएका हुन्।
‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही खेति नगरिकन अरु कुनै राजनीतिक मसला नपाएपछि उहाँले गरिरहनुभएको खेती हो,' उनले भने, 'सरकारमा कुनै समस्या छैन। उहाँले भ्रम र भय सिर्जना त्यस प्रकारको परिस्थिति निर्माण गर्नुभएको हो। पानीलाई धमिलो बनाउने प्रयत्न प्रचण्डको हो। प्रचण्ड फण्डाबाहेक काँग्रेस र एमालेको बीचमा सत्ता सहयात्राको विषयमा कुनै पनि समस्या छैन।'
०८४ सम्मै कांग्रेस-एमालेको सहयात्रा पुग्यो भने माओवादीलाई खोज्नुपर्ने परिस्थिति हुन्छ भन्ने प्रचण्डले बुझेको उनको टिप्पणी छ।
'कांग्रेस र एमालेबीचको यो सत्ता सहयात्रा ०८४ सम्मै पुग्यो भने माओवादीलाई खोज्नुपर्नै परिस्थिति निर्माण हुँदैछ भन्ने प्रचण्डले बुझ्नुभएको छ,' उनले भने, 'त्यो चिन्ता र भयले गर्दा उहाँ बिहान उठ्नेबित्तिकै यो सरकार ढल्छ भन्नुभएको छ, सुत्ने बेला ढल्छ भन्नुभएको छ। एकल बहुमतको लागि हामी ०८४ कुर्छौं। त्यतिबेलासम्म कांग्रेस र एमालेबीचको सत्ता सहयात्रा यही ढंगले अगाडि बढ्छ।’
Shares

प्रतिक्रिया