मौसम पूर्वानुमान महाशाखाले आज मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मी बढ्ने सम्भावना रहेको जनाएको छ।
लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आज तातो हावाको लहर आउने सम्भावनासमेत रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज राति पनि मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना छ। यो क्रम भोलिसम्म नै रहने अनुमान छ।
हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा आज तापक्रम बढ्ने प्रक्षेपण महाशाखाले गरेको छ।
काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ। आज काठमडौँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।
महाशाखाले बुधबार साँझ विशेष बुलेटिन जारी गर्दै बिहीबार र शुक्रबार लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तातो लहरको समेत सम्भावना रहेको जानकारी दिएको छ।
बुलेटिनमा भनिएको छ- आगामी दुई दिनसम्म मधेसप्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न हुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। लुम्बिनी प्रदेशका तराईका भूभागमा आगामी २ दिन (वैशाख १२ गतेसम्म) तातो लहर (Heat wave) को समेत सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
आज कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। देशका बाँकी भू–भागमा मौसम सफा रहनेछ।
त्यसैगरि कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाकोसमेत सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया