भृकुटीमण्डपको उद्यानमा भइरहेको खाना महोत्सवमा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त छिन्। छेवैमा पाक्दैछ तात्तातो सेल अनि लहरै राखिएका छन् थप परिकार। सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीहरुको ध्यान गइरहेको देखिन्छ। खाना पारखीहरु स्वाद मानी मानी खाइरहेको देखिन्छन्।
नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ बाट चिचिएकी सुब्बाले आफूले शोमा बनाएको खीर सबैले रुचाएकाले महोत्सवमा यसको स्वाद चखाउन आएको बताउँछिन्। रियालिटी शोमा आफ्नो समुदायको खानालाई पस्केर सबैको मन जित्नुभएकी उनले नेपाल रैथाने परिकारको धनी भएकाले यसलाई प्रवर्द्धन र संरक्षण गर्न सबैले लाग्नुपर्नेमा जोड दिन्छिन्। सुब्बा भन्छिन्, ‘हिमाल, पहाड र तराई सबै ठाउँको आआफ्नो खानाको विशेषता छ। हामीले सबै परिकारलाई थोरै मात्र परिस्कृत गरेर पस्किन सक्यौँ भने यसले अन्तरराष्ट्रिय बजारमा फैलिने मौका पाउन सक्छ।’
विगत डेढ वर्षदेखि टोखामा ‘आरोग्य कर्णाली अर्गानिक प्रालि’ सञ्चालन गर्दे आउनुभएकी सीता आचार्य मौरी संरक्षणकर्मी हुन्। उनीसँग १५० वटा मौरीका घार छन्। उनले मौरीपालनका साथै कर्णालीमा पाइने विभिन्न रैथाने अन्नबालीहरुको ब्रान्डिङ गरेर बेच्दै आएकी छिन्। उनको स्टलमा मह, कागुनो, चिनो, मार्सी, फापरको पिठो, कोदो, मकैको च्याख्ला, सातु, गुन्दु्रकलगायत २० प्रकारका सामग्रीहरु छन्। आचार्यका अनुसार चिनो, कागुनो, कोदो र फापरको माग बढी रहेको छ। ‘यी अन्नहरु मधेमेह, उच्च रक्तचापका बिरामीलाई खान मिल्छ। कतिलाई थाहा छैन। थाहा हुनेले खोजेर खानुहन्छ,’ उनी भन्छिन्।
परम्परागत र मौलिक खानाको सङ्गम रहेको खाना महोत्सवमा मोही पनि बिक्रीका लागि राखिएको छ। ओखलढुंगे डेरी एण्ड एग्रीफुड प्रालिले दुग्धजन्य पदार्थहरुलगायत मिठाइ, आइसक्रिम, भुजिया, निम्किी, पनिर तथा चिज मःम बेच्दै आएको छ। डेरीका सञ्चालक गोपाल तिमिल्सनाले बजारमा पाइने विभिन्न पेयपदार्थभन्दा कैयौँ गुणा मोही स्वस्थ्यकर भएकाले यसको ब्राण्डिङमा लागेको सुनाए। उनी भन्छन्, ‘स्थानीय उत्पादन मोहीलाई प्रवद्र्धन गर्ने उद्धेश्यले प्याकिङ गरेर बेच्दा स्वास्थ्यलाई राम्रो हुने र आफ्नो स्थानीय उत्पादनको खपत हुने उद्देश्यले हामीले सुरु गरेका हौँ। गुलियो चिसो पेयपदार्थभन्दा गर्मीमा मोहीले शितल गराउँछ।’
अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्टले यो महोत्सव परिकारहरुको प्रदर्शनी मात्र नभइ नेपाली सेफहरुको पहिचान, प्रतिभा, मिहिनेत र सिर्जनशीलताको सजिव दस्तावेज रहेको बताउँछन्। भट्टले नेपाली पाककलामा स्वाद, विविधता, मौलिकता अद्वितीय भए पनि अन्तरराष्ट्रियस्तरमा स्थापित गर्नु चुनौतीपूर्ण भएको उल्लेख गरे। उनी भन्छन्, ‘विश्वसामू चिनाउने हाम्रो सपना हो। यसका लागि सबैको समर्पण र सहकार्य आवश्यकता छ।’
खाना महोत्सवले परम्परागत, रैथाने स्वादसँग आधुनिक परिकारको प्रर्दशनी र नेपालभित्रको पाककलाको सम्भावनाको उज्यालो चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ।
महोत्सवमा ५० वटा स्टल, (४ वटा खानाका ५ वटा रैथाने बाली नालीको प्रदर्शन, पाँच वटा पर्यटन जानकारी) रहेको छ। खानाका स्टलमा विभिन्न जात जातिको खाना (नेवारी, थारु, राई लिम्बु, थकाली, आदि)को परिकारहरु राखिएको छ। रासस
Shares

प्रतिक्रिया