समाज


विपद् ग्रस्त रोशीमा विस्तृत क्षति आँकलन सुरु : गृहमन्त्री लेखक

विपद् ग्रस्त रोशीमा विस्तृत क्षति आँकलन सुरु  : गृहमन्त्री लेखक

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १९:१३, धुलिखेल

गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलनको औपचारिक सुरुवात यहाँको रोशी गाउँपालिका–२ नारायणटारबाट भएको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘२०८१ को मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलन (डिडिए) सुभारम्भ कार्यक्रम’मा विपद् प्रभावित परिवारको लगत संकलन कार्यक्रम सम्पन्न तथा प्रभावितलाई निस्सा वितरण गर्दै उनले निजी आवास पुनर्निर्माण सुरु भएको बताएका हुन्।

‘गत असोजमा गएको बाढीपहिरोले देशका विभिन्न ठाउँमा क्षति  पुर्या‍एकामा पुनर्निर्माण गर्ने काम आजबाट सुरु भएको छ’, उनले भने, ‘आजदेखि काभ्रेजिल्लाभरि क्षति भएका घरहरुको विस्तृत क्षति आँकलन प्रारम्भ भएको छ।’ सो क्रममा पूर्ण रुपमा क्षति भएका घरको पुनर्निर्माण गर्ने र आंशिक रुपमा क्षति भएका घरको प्रवलीकरण गर्ने उनको भनाइ छ। 

बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेपलाञ्चोक र त्यसमा पनि रोशी गाउँपालिका रहेकाले विस्तृत क्षतिको आँकलन यहीँबाट सुरवात गरेको गृहमन्त्री लेखकले बताए। उक्त मनसुनजन्य विपदबाट क्षति पुगेका अन्य जिल्लाको क्षतिग्रस्त निजी घरहरुको विस्तृत क्षति आँकलन प्रारम्भ गर्ने जनाएको छ।

बजेटको व्यवस्थापन, कानुन, नीति निर्देशिका परिवर्तन गर्नुपर्ने र प्रारम्भिक क्षतिको विवरण भर्ने काममा ढिलाइ भएकाले क्षति आँकलन ढिलाइ भएको उनले स्पष्ट पारे। जसमा अस्थायी आवास निर्माण गर्न दुई चरणमा रु २५/२५ हजार रकम उपलब्ध गराउने र स्थायी घर निर्माणका लागि प्रति घर रु चार लाख उपलब्ध गराउने गृहमन्त्री लेखकले जानकारी दिए।

अस्थायी घर निर्माणका लागि काभ्रेपलाञ्चोकका लागि ७ करोड ३५ लाख रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आजै उपलब्ध गराइसकेको गृहमन्त्री लेखकले बताए। अब सरकारबाट थालनी गरेको कामलाई ढिला नगरिकन तीव्रता दिन जनप्रतिनिधिलाई उनले आग्रह गरे। जसमा सबै तहका सरकार र सबै राजनीतिक दलहरु मिलेर अगाडि बढ्न आवश्यक रहेकोमा उनले जोड दिए।

सो क्रममा बोल्दै गृहमन्त्री लेखकले सडक र पुल पुनर्निर्माण सम्बन्धित मन्त्रालयसँग समन्वय गरी अगाडि बढाउने बताएका छन्। क्षतिग्रस्त वीपी राजमार्गको पुनर्निर्माण अगाडि बढिसकेकोमा वर्षामा पनि आवातजावत गर्न यातायात अवरुद्ध नहुने गरी काम भइरहेको उनको भनाइ छ।

बाढीपहिरोबाट रोशी गाउँपालिकाको ५६३ निजीघरहरु क्षतिग्रस्त बनाएको गाउँपालिकाले जनाएको छ। क्षतिग्रस्त नागरिकको घर अस्थायी वा स्थायी निर्माण गर्नका लागि प्राधिकरणबाट रकम प्राप्त गर्न अनिवार्य रुपमा गाउँपालिका र प्राधिकरणबाट खटिएका प्राविधिकबाट विस्तृत क्षति आकलन गर्नुपर्ने प्रावधान रहेको छ। 

रोशी गाउँपालिकामा पालिका र प्राधिकरणबाट गरी १८ जना प्राविधिक जनशक्ति परिचालन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad