समाज


समाजवादी मोर्चा र राजावादीको प्रदर्शन: बिहानैदेखि काठमाडौँमा सवारी आवागमन प्रभावित

समाजवादी मोर्चा र राजावादीको प्रदर्शन: बिहानैदेखि काठमाडौँमा सवारी आवागमन प्रभावित

प्रदर्शनीमार्गमा मञ्च निर्माण गर्दै समाजवादी मोर्चाका कार्यकर्ता


नेपालखबर
चैत १५, २०८१ शुक्रबार ८:८, काठमाडौँ

चार दलीय समाजवादी मोर्चा र राजावादीले आज काठमाडौँमा छुट्टा छुट्टै प्रदर्शन गर्दैछन्। \

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध समाजवादी मोर्चाले सरकारका गलत क्रियाकलापको विरुद्धमा र गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्। राजावादीहरुले भने वर्तमान व्यवस्थाकै विरुद्धमा प्रदर्शन गर्न लागेका हुन्। 

गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनलाई ध्यान दिएर सरकारले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाएको छ। ठाउँठाउँमा शुक्रबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र ट्राफिक प्रहरी परिचाल परिचालन गरिएको छ। 

गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्ने क्षेत्रमा बिहानैदेखि सवारी आवागमतमा समस्या देखिएकाे छ। सवारी सञ्चालन हुने कतिपय रुटहरु बन्द गरिएका छन्। 

जसका कारण सवारी आवागमनमा बिहानैदेखि समस्या सिर्जना हुँदा यात्रुले सास्ती पाएका छन्।

समाजवादी मोर्चाले सभा गर्न लागेको प्रदर्शनी मार्गलाई केन्द्रीत गरेर ट्राफिक प्रहरीले केही रुटबाट सवारी साधन सञ्चालनमा रोक लगाएको छ। त्रिपुरेश्वर चोकबाट सुन्धारातिर जाने रुट पनि प्रभावित भएको छ। त्यसैगरि घण्टाघरबाट विद्युत् प्राधिकरण हुँदै सहीदगेट निस्कने रुट पनि बन्द छ।

सिंहदरबारबाट पुतलीसडक प्रदर्शनीमार्ग हुँदै चल्ने रुट पनि बन्द छ। कतिपय रुटलाई वान-वे गरिएको छ। 

आज समाजवादी मोर्चाले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीले तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेका छन्। दुई समूहबीच भेट हुन नदिन स्थानीय प्रशासनले राजावादी समूहलाई रिङरोडभित्र प्रवेशै गर्न नदिने तयारी गरेको छ। 

चार दलीय समाजवादी मोर्चाले भने रिङरोडभित्रका विभिन्न क्षेत्रबाट जुलुश प्रदर्शन गर्दैछन्।

शुक्रबार बिहान ११ बजेदेखि समाजवादी मोर्चाका विभिन्न जुलुस रिङरोडभित्रका विभिन्न ठाउँबाट सुरु भएर भृकुटीमण्डप पुग्नेछ। बबरमहल–माइतीघर, कुपन्डोल–थापाथली, सोह्रखुट्टे–पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने समाजवादी मोर्चाले जनाएको छ। 

सभाअघि काठमाडौँका सातवटा रुटहुँदै प्रदर्शन गरिने मोर्चाले जनाएको छ। चार राजनीतिक दलले विभिन्न रुटबाट प्रदर्शनको नेतृत्व गर्ने तय भएको छ। दिउँसो १ बजेदेखि हुने वृहत जनसभाको मञ्च भने भृकुटीमण्डपबाट निस्कने चोकमा टी आकारमा निर्माण गरिने मोर्चाले जनाएको छ। 

माेर्चाका अनुसार रुट नम्बर–१ का रुपमा कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली–भृकुटीमण्डप (भद्रकालीतर्फ मुख्यसडकमा नै रहने) छ । 

रुट नम्बर–२ मा कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्ति बाटिका–भृकुटिमण्डप (रत्नपार्कतर्फको भागमा नै रहने) छ भने रुट नम्बर–३ मा सोह्रखुट्टे–लैनचौर–नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप (आर.आर. क्याम्पसतर्फको भागमा नै रहने) छ। 

जुलुस सोह्रखुट्टे चोक,  बबरमहल (पुलको छेउ), कुपण्डोल (हनुमानथान), त्रिपुरेश्वर चोक, सुन्धारा,  न्युरोड गेट, मैती देवी चोकमा भेला भएर सुरु हुनेछ। 

उता दुर्गा प्रसाइँ नेतृत्वको राजावादीहरुको जुलुस भने तीनकुनेमा पुगेर सभामा परिणत हुने तयारी छ। 

भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने कार्यक्रम छ।

त्यसैगरि जोरपाटी, बौद्ध, चाबहिल, गौशाला हुँदै अर्को जुलुस तीनकुने आउने छ । यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी स्थानीय प्रशासनले राजावादी समूहको लागि अर्को रुट निर्धारण गरेको छ।

कलंकीतर्फबाट निस्किने राजावादीको जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने आउने तय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad