२०७४ अघि दुर्गा प्रसाईंलाई चिन्ने मान्छेहरू निकै कम थिए। तर, त्यो वर्षको फागुन ३ गते सार्वजनिक भएको एउटा तस्बिरले उनलाई एकाएक देशभर चर्चित बनाइदियो।
त्यो त्यही तस्बिर थियो, जसमा प्रसाईं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बसेर मार्सी चामलको भात खाइरहेका देखिन्थे।
त्यसपछि नै हो मार्सी चामल र प्रसाईंको चर्चा हुन थालेको छ।
अर्को वर्ष एमाले र माओवादीले एकता गरेर नेकपा बनाए। प्रसाईंले दुवै नेतासँग सन्तुलित सम्बन्ध बनाए। मेडिकल व्यावसायमा संलग्न उनको लागि यो सम्बन्ध आवश्यक थियो।
किनकि, झापामा रहेको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउनु उनको उदेश्य थियो। त्यतिबेला प्रधानमन्त्री ओली थिए भने नेकपाका अर्का अध्यक्ष प्रचण्ड थिए। आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रसाईंलाई उनीहरूको साथ आवश्यउक थियो।
यद्यपि, डा. गोविन्द केसीको आन्दोलनका कारण बीएन्डसी कलेजलाई सम्बन्धन दिन ओली–प्रचण्ड दुवैले सकेनन्।
प्रसाईंले बताएअनुसार उनी पहिला माओवादी थिए। मेडिकल व्यवसायमा लागेपछि उनी एमाले र माओवादी दुवै दलसँग निकट भए। सर्वाेच्च अदालतले नेकपा भंग गरेपछि एमाले बने।
२०७८ मा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले उनलाई केन्द्रीय सदस्य मनोनीत गरे। एमाले केन्द्रीय सदस्य भएका उनको राजनीतिक यात्रा अघि बढ्यो।
त्यसको केही समयमै एमालेको उद्योग विभाग उपप्रमुख बनाइए। सार्वजनिक कार्यक्रममै अध्यक्ष ओलीलाई ‘हजुरबा’ सम्बोधन गर्ने प्रसाईंको महत्त्वाकांक्षा चुलिँदै गयो।
तर, बीएन्डसीले सम्बन्धन पाएन। भारी ऋणले थिचिएका प्रसाईं बिच्किए। र, उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई २०७९ फागुन १ गते झापाको काकडभित्तामा लगेर ‘नागरिक बचाऊ महाअभियान’ घोषणा गरे। पार्टीहितविरुद्ध लागेको भन्दै एमाले प्रदेश १ कमिटीले प्रसाईंलाई कारबाही गर्यो। २०७९ फागुन ७ गते उनले एमाले त्यागे।
जनकमान्डर
आफ्नो स्वार्थका लागि जुनसुकै विचारधारा र दलमा हामफाल्ने प्रसाईंले २०७३ यदा अनेकपटक कित्ता फेरिसकेका छन्। गणतन्त्रवादी माओवादी र एमाले हुँदै राजावादी बनेका उनले लामो समयदेखि राजसंस्था पुनर्स्थापनाका लागि जोडबल लगाइरहेका राप्रपा र राप्रपा नेपाललगायत दल र तिनका नयाँ–पुराना नेताहरूलाई छेउ लगाइदिएका छन्।
र, अहिले राजसंस्था पुनर्स्थापना गर्ने जनआन्दोलनको कमान्डर बनेका छन्। राप्रपाले त त्यही मुद्दा लिएर स्थानीय, प्रदेश र संघीय चुनावमा केही स्थानमा जित हात पारी संसदको पाँचौँ ठूलो दल बनेको छ। सो पार्टीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, महामन्त्री धवलशम्शेर राणा, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनीजस्ता पुराना नेताहरू छन्।
कमल थापा नेतृत्वको राप्रपा नेपाल पुरानो विरासत बोकेको दल हो।
तर, सबैलाई पन्छाउँदै प्रसाईं एकाएक पूर्वराजा ज्ञानेन्द्र शाहको आशीर्वादले आन्दोलनको कमान्डर बनेर उदाएपछि तर, यी पाका, अनुभवी र चुनाव जितेका नेताहरू हेरेको हेर्यै भएका छन्।
चित्त नबुझे पनि उनीहरू चैत १५ गते गर्ने प्रसाईं नेतृत्वको आन्दोलनलाई साथ दिन राजावादी दल र संघसंस्था बाध्य छन्।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका नेताहरू डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री डा. धवलशम्शेर राणा लगायतले प्रसाईंलाई कमान्डर मानेका छन्।
राजावादी नेताहरूलाई गन्दैनन् प्रसाईं
एमाले छोडेपछि प्रसाईं उग्ररूपमा प्रस्तुत हुन थालेका थिए। उनले बैङ्कको ब्याज र किस्ता नतिर्न आग्रह गर्दै देशव्यापी अभियान चलाए। लघुवित्त, सहकारीदेखि बैङ्कको २० लाख ऋण मिनाहा हुनुपर्ने नारालाई अघि सारे। केही समय आन्दोलन पनि गरे।
त्यसपछि ज्ञानेन्द्र शाहको सम्पर्कमा पुगेका उनी व्यवस्था परिवर्तन गर्ने नारा उठाउने निष्कर्षमा पुगे। जतिसुकै बद्नाम भए पनि शक्ति केन्द्रमा पस्न सीपालु उनी पूर्वराजा ज्ञानेन्द्रको पनि विश्वास जित्न सफल भएका छन्। शाहसँग पटकपटक भेट भएको प्रसाईं दाबी गर्छन्।
फागुन २५ मा ज्ञानेन्द्रको स्वागत प्रदर्शनमा देशभरबाट मानिस ल्याएको जिकिर गर्ने उनी अब आन्दोलन नै गरेर भएपनि ज्ञानेन्द्रलाई फर्काउन कस्सिएको बताउँछन्। फागुन २७ गरे प्रसाईंले राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई चर्काे शब्दमा गाली गरे।
‘म राजासँगै मिलेर काम गर्न चाहन्छु, हलीसँग मिलेर सडक आन्दोलनमा किमार्थ जान्नँ, म कसैको हलीहरूसँग सहकार्य गर्न किमार्थ तयार रहँदिनँ। सबैलाई चेतना भया,’ प्रसाईंले भनेका थिए, ‘आजको राजसंस्थाविहीन जर्जर नेपाल यसै बनेको होइन। २०७२ सालमा संविधान घोषणा हुने बेला राप्रपाका दुई नेताहरू कमल थापा र राजेन्द्र लिङ्देनले हस्ताक्षर नगरेको भए आज हाम्रो सनातन धर्म मासेर धर्मनिरपेक्ष राज्य हुने थिएन, राजादेखि माओवादीसम्म अट्ने व्यवस्था हुने थियो।’
यसबाट स्पष्ट हुन्छ, उनी राप्रपालगायतका राजावादी दलका नेताहरूलाई गन्दैनन्। तर, उनीहरू तिनै प्रसाईंको पछि लाग्नुपर्ने अवस्था कसरी बन्यो त?
राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा भने एजेन्डा मिलेकोले साथ दिनुपरेको तर्क गर्छन्।
‘हामीले दुर्गा प्रसाईंलाई नेता मानेको होइन, कसैलाई मिनिमाइज्ड गर्ने पनि होइन,’ राणाले नेपालखबरसँग भने, ‘हाम्रो एजेन्डामा जो कोही अगाडि बढे पनि साथ दिन खोजेका हौँ।’
प्रसाईंले पहिला कार्यक्रम राखेको भएर साथ दिनुपरेको उनी बताउँछन्।
राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले २६ गतेको कार्यक्रममा दुर्गा प्रसाईंको साथ पाउने अपेक्षा गरेको बताए।
‘समान विचार भएको, समान उद्देश्य भएको व्यक्ति समूह, दल अभियानले गर्ने आन्दोलन र संघर्षको कार्यक्रममा राप्रपाको साथ समर्थन र सहयोग रहन्छ,’ उनले भने।
तर, राप्रपाका कतिपय नेताहरू प्रसाईंलाई साथ दिनु गल्ती भएको बताउँछन्।
‘उनले कतिखेर एजेन्डा टिप्छन् र कतिखेर छोडेर हिँड्छन् के टुंगो छ र?’ राप्रपाका एक नेताले भने, ‘अहिले आन्दोलन चलेको बेलामा हामी नछुटौँ भनेर मात्र सहभागी भएको हो।’
उता राप्रपा नेपालका नेताहरू पनि प्रसाईंलाई नेता नमानेको बताउँछन्।
‘दुर्गा प्रसाईंजीको मुड छिनछिनमा परिवर्तन भइरहन्छ। उहाँको राजनीति उतारचढावपूर्ण छ। गणतन्त्र स्थापना गर्न बन्दुक उठाएको कुरा पनि छ। माओवादीसँग लाग्या, केपी ओलीसँग लाग्या कुरा पनि छ,’ एक पदाधिकारीले भने, ‘बाहिरबाट हेर्दा दुर्गाजीले हाइज्याक गरेको जस्तो देखिए पनि त्यस्तो होइन। नवराज सुवेदीले स्वामित्व ग्रहण गरेपछि हामीले महत्त्व दिनुपरेको हो। किनकि, सुवेदीजीको समितिमा हाम्रो पार्टीले प्रतिनिधि नै पठाएको छ। कार्यसमितिबाट निर्णय गरेका छौँ।’
Shares

प्रतिक्रिया