पछिल्लो २० वर्षमा देश छाड्नेको संख्या दोब्बरले बढेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को आप्रवासनसम्बन्धी विश्लेषणात्मक प्रतिवेदनले २० वर्षमा नेपालबाट बाहिरिनेको संख्या दोब्बरले बढेको देखाएको हो।
२०५८ सालको जनगणनाअनुसार, कूल जनसंख्याको ३ दशमलव ३ प्रतिशत नेपालबाट बाहिरिने गरेकामा २०७८ मा आइपुग्दा यो संख्या बढेर ७ दशमलव ५ प्रतिशत पुगेको छ।
प्रतिवेदन अनुसार, देशबाट बाहिरिने जनसंख्यामा पुरुषको हिस्सा निकै ठूलो छ।
बाहिरिनेमध्ये ८२ दशमलव २ प्रतिशत पुरुष छन् भने महिला १७ दशमलव ८ प्रतिशत बाहिरिएका छन्।
देश छाड्नेमध्ये पनि २० देखि २९ वर्ष उमेर समूहको हिस्सा झण्डा आधा छ। ४९ दशमलव ४० प्रतिशतभन्दा केही बढी जनसंख्या यस उमेर समूहबाट बाहिरिएको छ।
नेपालबाट बाहिरिनेमध्ये ३० देखि ३९ वर्ष उमेर समूह १९ दशमलव ५ प्रतिशत छ।
देशबाहिर रहेको जनसंख्याको तीन चौथाइभन्दा बढी अर्थात् ७५ दशमलव ८ प्रतिशत १५ देखि ३४ वर्ष उमेर समूहको छ।
देश छाड्नेको यही प्रवृत्ति रहेमा अबको ३० वर्ष अर्थात् विसं २१०८ सम्ममा देशमा युवा जनशक्तिको अभाव हुन सक्ने कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसूदन बुर्लाकोटीले बताएका छन्। त्यतिन्जेल देशबाट बाहिरिने महिलाको संख्या पनि अधिक हुने उनको भनाइ छ।
कार्यक्रममा बुर्लाकोटीले भने, ‘काम गर्ने उमेर समूहको जनशक्ति उच्च रूपमा बाहिरिने दरलाई नियन्त्रण गराउन यो तथ्यांकले सहयोग गर्ने अपेक्षा छ। दुई दशकमा दोब्बर जनसंख्याले नेपाल छाडिसकेको छ। यो संख्या नियन्त्रण गर्न नसके आगामी दिनमा झन् बढ्नेछन्।’
आन्तरिक उथलपुथल
२०७८ को जनगणना अनुसार, १० वर्षको अवधिमा कूल जनसंख्या २९ दशमलव २ प्रतिशत अर्थात् ८२ लाख ३९ हजार ५८९ व्यक्तिले आन्तरिक बसाईँसराइ गरेका छन्।
थातथलो छाड्ने क्रम सबैभन्दा बढी पहाडी क्षेत्रमा देखिएको छ।
प्रतिवेदनअनुसार, पहाडबाट ३२ प्रतिशतले आन्तरिक बसाइँसराइ गरेको छ भने तराईँबाट करिब २९ प्रतिशत र हिमाली क्षेत्रबाट १४ प्रतिशत छ।
विगत ५० वर्षको तथ्यांक हेर्दा तराईँमा बसाइँ सर्न पुगेको जनसंख्या चार गुणाले बढेको छ। २०२८ सालमा तराईँमा ४ लाख १० हजार बसाइँसराइ गरेर पुगेको जनसंख्या भेटिएको थियो भने २०७८ सालमा यो संख्या २० लाख ८४ हजार पुगेको छ।

बागमती प्रदेशमा बढी आकर्षण
प्रतिवेदनले ५० वर्षमा हिमाली क्षेत्रका बसाइँ सरी जाने संख्या ८ गुणाभन्दा बढी देखाएको छ। २०२८ सालमा ९ हजार ६९८ जनाले हिमाली क्षेत्र छाडेको पाइएको थियो भने २०७८ मा यो संख्या ७५ हजार ५४२ रहेको पाइयो।
२०७८ को जनगणना अनुसार २१ लाख ४२ हजार ३६३ जनाले एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँसराइ गरेका छन्।
बसाइँ सरी आउने जनसंख्याको चाप वा आकर्षण सबैभन्दा बढी बागमती प्रदेशमा रहेको पाइएको छ। त्यसमा पनि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला सबैभन्दा अगाडि छन्।
काठमाडौँ उपत्यकामा कुल जनसंख्याको आधाभन्दा बढी बसाइँ सरी आएको छ।
जिल्लागतरुपमा हेर्दा काठमाडौँमा ५७ दशमलव २, भक्तपुर ५० दशलमव २ र ललितपुरमा ४६ दशमलव २ प्रतिशत जनसंख्या बसाइँ सराइबाट आएको छ।
विवाह, कामको अवसर आदिका कारण आन्तरिक बसाइँसराइ बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेलले तथ्यांकले तराई क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्न र पूर्वाधार विकासमा सरकारको लगानीका बारेका सोच्न बाध्य बनाएको बताएका छन्।
प्रतिवेदनले कार्ययोजना, नीति बनाउन र समस्या भएका क्षेत्र पहिचान गर्न सहयोग गर्ने उनको भनाइ छ।
यस्तै प्रतिवेदनले आगामी ३० वर्षमा अर्थात् २१०८ सम्ममा नेपालको जनसंख्या ३ करोड ३५ लाख पुग्ने आकलन गरेको छ। जनसंख्या वृद्धिदर शून्य दशमलव ३९ देखि शून्य दशमलव ६४ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ।
अब आश्रित जनसंख्या बढ्ने, उमेरअनुसार प्रजननदरमा कमी आउने र बच्चा जन्माउने उमेर ढिलो हुँदै जाने प्रक्षेपण गरिएको छ।
परिणामस्वरुप, विदेशिएकोमध्ये नेपाल फर्किनेको संख्या बढ्ने र पलायन हुने जनसंख्यामा कमी आउन सक्ने प्रतिवेदनमा औँल्याइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ अनुसार पाँच विषयगत प्रतिवेदन मंगलबार सार्वजनिक गरेको हो। प्रजनन् स्थिति, आन्तरिक र अन्तर्राष्ट्रिय बसाइँसराइ, जनसांख्यिक लाभांश र आगामी ३० वर्षको जनसंख्याको प्रक्षेपण गरेको प्रतिवेदन कार्यालयले सार्वजनिक गरेको हो।
Shares

प्रतिक्रिया