भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद रुपमा मृत फेला परेकी विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ।
बुधबार साँझ सुनौली नाका हुँदै उनको शव घर ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए।
प्रकृतिको शव भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिनेछ।
प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए। उनी भने घर आइपुगेका छैनन्।
प्रकृतिको शव र बुवा सुनिल गोरखपुरसम्म फरक जहाजमा आएकाले उनी आउन ढिला भएको हो।
बुवा सुनिल आएपछि शव आजै हस्तान्तरण गर्ने वा भोलि भन्नेबारे निर्णय हुने डीएसपी कार्कीले बताए।
गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए।
तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो।
त्यसपछि भएको विवादले उग्ररुप लिएपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै जबर्जस्ती निकालिएको थियो। उनीहरू विभिन्न नाका हुँदै स्वदेश फर्किरहेका छन्।
बुधबार साँझसम्म १६८ विद्यार्थी स्वदेश फर्किएका छन्।
नेपाल फर्किएका विद्यार्थीले साथीको मृत्यु पश्चात् त्रासका कारण आफूहरू नेपाल फर्किनु परेको बताएका छन्। शङ्कास्पद अवस्थामा मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि कलेजले उनीहरूलाई निकालेको थियो।
उक्त घटनामा क्याम्पस प्रशासनले माफी मागेर नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आह्वान गरिसकेको छ। तर, विद्यार्थीहरू भने फर्किएका छैनन्।
Shares

प्रतिक्रिया