संयुक्त राष्ट्र संघले सशस्त्र प्रहरीका १८० जनालाई मात्रै शान्ति मिसनमा लिन्छ। उनीहरू हरेक वर्ष अदलाबदली गरेर फर्म्ड पुलिस युनिट (एफपीयू) मिसनमा साउथ सुडानमा खटिन्छन्। अहिले त्यहाँ भएको टोली वैशाखमा फिर्ता हुन्छ, अनि नयाँ टोली जान्छ।
यो भन्दा बढी कोटा सशस्त्र प्रहरीका लागि नरहेको प्रवक्ता डीआईजी कुमार न्यौपाने बताउँछन्।
तर नेपाल प्रहरीको असइ बताउने एक व्यक्तिले ६ लाख रुपैयाँ दिए साउथ सुडानकै एफपीयू मिसनमा पठाइदिन्छु भनेर सशस्त्रकै ८ कर्मचारीसँग रकम असुलेको भेटिएको छ। यसरी शान्ति मिसनमा पठाइदिने भन्दै रकम असुल्न सशस्त्रकै हवल्दार समेत परिचालित भएको पनि खुलेको छ।
अहिले उनीहरू दुवै जनालाई हिरासतमा राखेर नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सशस्त्र प्रहरीका कर्मचारीलाई ठग्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका २ बतासे घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने २७ वर्षका दिनेश सापकोटालाई पक्राउ गरेको हो।
उनलाई अनुसन्धान गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं २२ गुहेश्वरी गण भक्तपुरमा कार्यरत हवल्दार टुकबहादुर राना मगर भने सशस्त्र प्रहरी प्रधान कार्यालयको नियन्त्रणमा छन्। उनलाई प्रहरीले झिकाउँदा सशस्त्र प्रहरीले उपस्थित गराउँदै आएको छ। बुधबार पनि उनलाई परिसरमा बोलाएर सोधपुछ गरिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।
आफूलाई नेपाल प्रहरीको असइ बताउने दिनेश असइ नभएर यसअघि पनि चोरी तथा ठगी आरोपमै पक्राउ परेर कारबाही भोगेका व्यक्ति भएको खुलेको छ।
उनलाई विगतमा चोरी तथा डाँका सम्बन्धी कसुर, बैंकिङ कसुर, ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ परेर कारबाही भएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताए।
सशस्त्र प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनमा सापकोटाको समेत संलग्नता रहेको खुलेपछि कारबाहीका लागि सशस्त्र प्रहरीको कानुन शाखाले नेपाल प्रहरीलाई पत्राचार गरेको थियो।
सापकोटालाई अपराध अनुसन्धान कार्यालयले फागुन ४ गते दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट पक्राउ गरेको हो।
सहकर्मीसँग रकम उठाएर सापकोटालाई पठाउँथे हवल्दार
सापकोटाले सशस्त्र प्रहरीका कर्मचारीलाई ठग्न हवल्दार टुकबहादुर राना मगरलाई पनि प्रयोग गरेको खुलेको छ। उनले वरिष्ठ हवल्दारदेखि जवानसम्मलाई विश्वासमा पारेर रकम उठाउन सघाएको अनुसन्धानमा खुलेको छ।
वरिष्ठ हवल्दार भीमप्रसाद सुवेदी, हवल्दार राजकुमार लामा, हवल्दारहरू ईश्वर कार्की, वेदबहादुर तामाङ, कमल बानियाँ, सहायक हवल्दार कुमार आले मगर, सहायक हवल्दार शंकर थापा र जवान यज्ञ खत्रीबाट ठगी गरेको खुलेको छ।
मिसनमा जानका लागि ६ लाख रुपैयाँ बुझाउने सहमति भए पनि अहिले उनीहरूले प्रतिव्यक्ति ८० हजारदेखि २ लाख रुपैयाँसम्म बुझाएको पाइएको छ।
१५ नम्बर हेडक्वार्टर काभ्रे दरबन्दी भएका वरिष्ठ हवल्दार भीमप्रसाद सुवेदीले १ लाख, पशुपति बाहिनी मुख्यालयमा कार्यरत हवल्दार राजकुमार लामाले १ लाख ५० हजार, सशस्त्र हेडक्र्वाटरमा कार्यरत हवल्दार ईश्वर कार्कीले ८० हजार बुझाएका छन्। उनीहरू तीनैजनाले टुकबहादुरलाई रकम बुझाएका हुन्। टुकबहादुरले त्यो रकम सापकोटालााई पठाएका थिए।
टुकबहादुरसँगै २२ नं गणमा कार्यरत हवल्दार वेदबहादुर तामाङले १ लाख ५० हजार, सहायक हवल्दार कमल बानियाँले २ लाख र जवान यज्ञ खत्रीले १ लाख ५० हजार रुपैयाँ बुझाएको प्रमाण फेला परेको छ।
यस्तै हेडक्र्वाटरको डग ह्यान्डलर शाखामा कार्यरत सहायक हवल्दार कुमार आले मगरले १ लाख ५० हजार, १९ नं गुल्म नुवाकोटमा कार्यरत सहायक हवल्दार शंकर थापाले १ लाख ५० हजार र बुझाएको खुलेको छ। उनीहरू ५ जनाले भने टुकबहादुरले भने अनुसार नक्कली असइ सापकोटालाई रकम बुझाएको अनुसन्धानमा भेटिएको छ।
टुकबहादुरकै गणबाट खुल्यो नक्कली मिसनको पोल
गत पुसमै टुकबहादुरले सापकोटामार्फत मिसनमा जाने प्रस्ताव ल्याएको गणभित्र गोप्य रुपमा कुरा चलिरहेको थियो।
टुकबहादुर र नक्कली असइ सापकोटाको विश्वासमा परेका तीनजनाले रकम नै बुझाइसकेका थिए। उनीहरूले अन्यलाई पनि यस्तो प्रस्ताव गरेका थिए।
तीनै मध्येकाले गणमा सुनाए। गणपतिले बुझ्दा केहीले त रकम नै बुझाइसकेको खुल्यो। त्यसपछि गणपतिले प्रहरी प्रवक्ता डीआईजी न्यौपानेलाई सुनाए।
यो कुरा हेडक्वार्टरसम्म पुगेपछि सशस्त्र प्रहरीले गोप्य रुपमा अनुसन्धान सुरु गर्यो।
आफ्नै डीएसपी नवराज बोहराको संयोजकत्वमा सात सदस्यीय समिति बनायो। समितिले अनुसन्धान गर्दा अन्य गणमा पनि यसरी ठगिएका कर्मचारी रहेको खुल्यो।
छानबिन समितिले पुसमै प्रतिवेदन बुझायो। तर यस्तो ठगीमा सशस्त्र प्रहरीभन्दा बाहिरका व्यक्ति पनि संलग्न रहेको खुल्यो।
माघ ४ गते अन्य व्यक्ति समेत संलग्न रहेको जानकारी आएपछि यसको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई लगाउने निधो भएको सशस्त्र प्रहरीका डीआईजी न्यौपानेले बताए।
सुरुमा गणभित्रै भएको छानबिनमा टुकबहादुरको मात्रै संलग्नता रहेको भन्दै उनलाई मात्रै कारबाही गर्न प्रधान कार्याालयको निर्देशन थियो। तर अन्य गणमा समेत यस्तो ठगी भएको र ठगीमा बाहिरका व्यक्ति समेत संलग्न रहेको खुलेपछि प्रहरीलाई यो मुद्दाको जिम्मा लगाइएको थियो।
टुकबहादुर बर्खास्त, अरुलाई विभागीय कारबाही गर्ने
सशस्त्र प्रहरी प्रधान कार्यालयले आफ्नै कर्मचारीको ठगीमा संलग्न देखिएका हवल्दार टुकबहादुर राना मगरलाई बर्खास्त गर्ने भएको छ।
अहिले प्रहरीले अनुसन्धान गरिरहँदा आफ्नै हिरासतमा राखेका मगरलाई आवश्यक परे प्रहरीको जिम्मा लगाइने छ। तर अनुसन्धान सकिएपछि उनलाई जागिरबाटै बर्खास्त गर्न पर्ने देखिएको डीआईजी न्यौपानेले बताए।
सुरुमै उनलाई कारबाही गर्न निर्देशन दिए पनि थप पोल खुलेपछि उनलाई हेडक्वार्टर झिकाएर अनुसन्धान गरिएको थियो।
‘दिनेश सापकोटा बाहिरका व्यक्ति भएकाले उसलाई हामीले कारबाही गर्न मिलेन। त्यही भएर नेपाल प्रहरीलाई घटनाको सम्पूर्ण विवरणसहित कारबाहीका लागि पत्राचार गर्यो। टुकबहादुर थापा मगरले दिनेश सापकोटासँग समन्वय गरेर सशस्त्रका कर्मचारीसँग उठाएको रकम सापकोटालाई पठाएको भेटिएको छ। केहीले उनकै खातामा रकम जम्मा गरिदिएका छन्। हवल्दारलाई यो अनुसन्धान सकिएपछि बर्खास्त गरिन्छ,’ डीआईजी न्यौपानेले भने।
मिसनमा जानका लागि ठगलााई रकम बुझाउने ८ जनाााई पनि विभागीय कारबाही हुने भएको छ।
‘यो मुद्दामा उनीहरू पीडित भएकाले यसको टुंगो लाग्न दिऊँ। त्यसपछि यस्ता प्रलोभनमा परेर मिसन जान खोज्नेहरूलाई पनि उचित विभागीय कारबाही हुन्छ’, उनले भने।
Shares

प्रतिक्रिया