समाज


महाकुम्भबाट फर्किंदै गर्दा सवारी दुर्घटनामा ज्यान गुमाउने ५ नेपालीको शव आज नेपाल ल्याइने

मृतक चार परिवारका, गाडी चालकको परिचय खुल्न बाँकी
महाकुम्भबाट फर्किंदै गर्दा सवारी दुर्घटनामा ज्यान गुमाउने ५ नेपालीको शव आज नेपाल ल्याइने

दुर्घटनामा परेकाे स्कार्पिओ। तस्बिर: सामाजिक सञ्जाल


नेपालखबर
माघ २०, २०८१ आइतबार ८:८, काठमाडौँ

भारतको मधुवनीमा हिजो (शनिबार) दिउँसो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने महाेत्तरी, धनुषा र सिराहाका पाँचजना नेपालीको शव आज नेपाल ल्याउने तयारी भएको छ। 

मृतकको शव लिनको लागि आफन्त भारततर्फ प्रस्थान गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए। 

उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गरेर फर्किंरहेका नेपाली यात्रु सवार बी आर ३२ पी ए ४६६१ नम्बरको गाडी भातरकाे मुजफ्फपुरस्थित सदरथाना क्षेत्रको मादापुरमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको थियो। दुर्घटनामा अन्य चारजना नेपाली घाइते भएका छन्। 

‘घाइते चारैजनाको अवस्था गम्भीर छ भन्ने खबर हामीलाई आएको छ,’ डीएसपी जैसवालले नेपालखबरसँग भने, ‘घाइते सबैको स्थानीय अस्पतालमै उपचार भइरहेको छ। घटनास्थल महोत्तरीको सीमा क्षेत्रबाट झण्डै एकसय किलोमिटर टाढा पर्छ।’

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ निवासी ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका-२ घर भएका ५० वर्षीया मनतारन देवी र धनुषाको नगराइन नगरपालिका गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छिन्।

मृतक जिप चालक सिराहाका भएको प्रहरीले जनाएको छ। ‘तर, अझैसम्म उनको परिचय खुलेको छैन। हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ,’ डीएसपी जैसवालले भने। 

सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीया जगतारण देवी र नातिनी आठ वर्षीया सृष्टि झा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। बालिका सृष्टि अर्चनाकी छोरी हुन्। 

गाडी चालकसहित मृतक पाँच जना चार परिवारका सदस्य हुन्। आफन्त भित्रका तीन परिवारका सदस्य गाडी रिजर्भ गरेर एकसाथ कुम्भ स्नान गर्न गएका थिए। ‘कुम्भ स्नान गरेर फर्किने क्रममा तीव्र गतिको कारण गाडी दुर्घटना परेको स्थानीयले बताएका छन्,’ जैसवालले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad