विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति विवादको सुनुवाइका लागि अर्को पेसी माघ ३० गते तोकिएको छ।
आज (बुधबार) प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठ रहेको इजलासमा पेसी चढेको थियो। उक्त रिटमा सुनुवाइको पालो आएपछि न्यायाधीश हरिप्रसाद फुयालले आफूले हेर्न नमिल्ने भन्दै अलगिएको घोषणा गरेका थिए।
यो घोषणासँगै अब उनीबाहेकको संवैधानिक इजलास गठन हुनेछ। यस्तै न्यायाधीश कुमार रेग्मी पनि यो रिट हेर्न नमिल्ने न्यायाधीशमा पर्छन्। उनका दाइ माधव रेग्मी लोक सेवा आयोगको अध्यक्षमा यसै विवादित प्रक्रियाबाट नियुक्त भएकाले विपक्षी छन्।
अब फुयाल र रेग्मीबाहेक इजलास गठन गरी माघ ३० गते पेस गरिने भएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीसम्बन्धी विवाद ४ वर्षदेखि सर्वोच्चमा विचाराधीन छ।
२०७७ सालमा सुरू भएको विवाद संवैधानिक इजलासमा विभिन्न कारणले सुनुवाइ प्रभावित हुँदै आएको छ। यस विवादको अघिल्लो पेसी पुस १७ गते थियो। त्यस दिन इजलास सुरु हुनै लाग्दा रिट निवेदकहरू आज सुनुवाइको पालो आउँछ कि आउँदैन भनेर जानकारी लिन पुगेका थिए। त्यसबेला उनीहरूलाई इजलासबाट ‘पालो आउन पनि सक्छ’ भन्ने जवाफ दिइएको थियो।
त्यसै क्रममा निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले न्यायाधीश फुयालले यो विवाद हेर्न मिल्ने हो कि होइन भनेर पनि जिज्ञासा राखेका थिए। जवाफमा न्यायाधीश फुयालले ‘तथ्यमा प्रवेश गरेपछि थाहा हुने’ बताएका थिए।
यसअघि फुयालले संवैधानिक इजलासमा चलिरहेको सुनुवाइ रोक्न एकल इजलासबाट अन्तरिम आदेश दिँदा आलोचना भएको थियो।
-
संवैधानिक नियुक्ति विवादको सुनुवाइबाट न्यायाधीश फुयाल अलग्गिए, सुनुवाइ अर्को पेसीमा
-
संवैधानिक नियुक्ति विवाद फेरि ‘हेर्न नभ्याइने’मा, न्यायाधीश-निवेदक सवालजवाफ
-
संवैधानिक नियुक्ति विवाद जहिल्यै ‘हेर्न नभ्याइने’
-
संवैधानिक नियुक्ति विवादको सुनुवाइ अब अर्को वर्ष मात्रै
-
बहुप्रतीक्षित संवैधानिक नियुक्ति विवादमा आज पनि सुनुवाइ नहुने, प्रधानन्यायाधीश उपत्यकाबाहिर ‘व्यस्त’
Shares

प्रतिक्रिया