समाज


आज यी प्रदेशमा भीषण वर्षाको सम्भावना

‘काठमाडौँमा पनि राम्रैसँग पानी पर्छ’
आज यी प्रदेशमा भीषण वर्षाको सम्भावना

खोटाङको बराहपोखरी गाउँपालिका-२, सुन्तलेस्थित धाप्लाङघाट बस्ती। सुनकोसी नदीको बाढीका कारण यहाँका १८ घर जोखिममा छन्। तस्बिरः केदार मगर/रासस


नेपालखबर
असार १६, २०८३ मंगलबार ८:४४, काठमाडौँ

आज (मंगलबार) दिउँसो तथा राति पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमा महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अहिले बिहान पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। कर्णाली प्रदेशको आकाश पनि पूरै बादलले ढाकेको छ। 

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार यस्तो छ वर्षाको सम्भावना

दिउँसो

-कोसी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थान, कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। 

-लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान र मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

-कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

राति

-कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका केही स्थान तथा कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

-देशको पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

-कोसी प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। 

-मधेस प्रदेश तथा बागमती र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेस प्रदेशको केही स्थानमा हुरीको पनि सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अपराह्न वा साँझपख काठमाडौँ उपत्यकामा वर्षा सुरु हुने सम्भावना छ।

‘अहिले बिहान पनि उपत्यकाको आकाश बादलले ढाकेको हुनाले छिटपुट कतै वर्षा हुन सक्छ’, उनले बिहान सवा ८ बजेतिर नेपालखबरसँग भने, ‘तर अपराह्न वा साँझ र राति भने राम्रैसँग पानी पर्ने सम्भावना देखिएको छ।’

यसअघि आजै बिहान पनि काठमाडौँ उपत्यकामा छिटपुट वर्षा भएको थियो। तर अहिले रोकिएको छ। 

आज काठमाडौँ उपत्यकाको मौसम घाम-बादल, घाम-बादलको अवस्थामा रहने मौसमविद् दाहालले बताए।  

‘एकछिन घाम लागे पनि फेरि बादल आइहाल्छ’, उनले भने। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad