समाज


इन्डोनेसिया जान प्लेन टिकट पनि लिइसकेका थिए चुङ्बा शेर्पाले

इन्डोनेसिया जान प्लेन टिकट पनि लिइसकेका थिए चुङ्बा शेर्पाले

चुङ्बा शेर्पा


सुवास दर्नाल/रासस
माघ १, २०८१ मंगलबार २२:१, सोलुखुम्बु

चुङ्बा शेर्पा केही दिनअघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा थिए। उनले १० दिन पहिले नै यात्राका लागि तयारी पूरा गरेका थिए। पारिवारिक स्रोतका अनुसार, उनले प्लेन टिकट पनि लिइसकेका थिए।

यस यात्रालाई उनले फोटोग्राफी जीवनकै महत्त्वपूर्ण यात्राका रूपमा लिएका थिए। तर उनी एक साताअघि अचानक बिरामी परे। कलेजोसम्बन्धी समस्याले ग्रस्त उनलाई काठमाडौँको ग्रान्डी अस्पतालमा भर्ना गरियो। भेन्टिलेटरमा उपचाररत शेर्पाले ६४ वर्षको उमेरमा आइतबार राति १२ः१५ बजे अन्तिम सास फेरे। बाँकी सपना सधैँका लागि अधुरो छाडेर उनी स्वर्गीय भए। 

खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्लामा जन्मिएका शेर्पा ‘वाइल्डलाइफ फोटोग्राफी’को क्षेत्रमा पछिल्लो पाँच वर्षदेखि सक्रिय थिए। उनले नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र दुर्गम स्थान पुगेर दुर्लभ वन्यजन्तुका तस्बिर खिचेका छन्। उनले खिेका जङ्गली याक, हिउँ चितुवा र बाघका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएका छन्। चुङ्बाको जीवन सङ्घर्ष र उपलब्धि जो कोहीका लागि प्रेरणादायी छ। 

विसं २०४० मा तत्कालीन चौँरीखर्क गाउँ पञ्चायतका प्रधानपञ्चबाट उनको सार्वजनिक जीवनको सुरुआत भएको थियो। बहुदल आएपछि नेपाली कांग्रेसमा प्रवेश गरेका शेर्पा पछिल्लो समय खुम्बु पासाङल्हामु गाउँपालिका समितिका सभापति थिए। उनले शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन्।

लुक्ला विमानस्थलदेखि चौँरीखर्कमा माध्यमिक विद्यालय स्थापनामा उनको ठूलो योगदान रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका-१ का वडाध्यक्ष फुनुरु शेर्पाले बताए। उनले भने, ‘खुम्बुको एउटा धरोहर गुमायौँ, उहाँ असाध्यै सहयोगी र दयालु हुनुहुन्थ्यो, कुनै लोभलालच र स्वार्थबिना अथक समाजसेवा गर्ने मान्छे हामीले सायद पाउँदैनौँ होला।’

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका तत्कालीन प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले चुङ्बा शेर्पाको योगदानलाई सम्झँदै प्रतिक्रिया दिएका छन्। उनले भने, ‘चुङ्बा शेर्पा नेपालमा मात्रै नभई विश्वभर ख्यातिप्राप्त प्रतिभाशाली वाइल्डलाइफ फोटोग्राफर हुनुहुन्थ्यो। उहाँको फोटोग्राफीले वन्यजन्तु पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका निर्वाह गरेको छ।’

चुङ्बा शेर्पा कुनै सामान्य फोटोग्राफर नभएर प्रकृतिप्रति गहिरो माया गर्ने व्यक्ति भएको उपाध्यायको ठम्याइ छ। 

चुङ्बा शेर्पा ५७ वर्षको उमेरमा वाइल्डलाइफ फोटोग्राफीमा होमिएका थिए। लामो समयसम्म यती एयरलाइन्समा जागिर र होटल व्यवसाय सफलतापूर्वक सञ्चालन गरेका उनी छोराछोरीलाई सबल बनाइसकेपछि सानैदेखिको सपना पूरा गर्न फोटोग्राफीमा लागेका थिए। 

उनले क्याननको उच्चस्तरीय क्यामेरा र लेन्स प्रयोग गर्न विदेशीहरूबाट अनलाइन कक्षा लिएका थिए। वन्यजन्तुका फोटो खिच्न शेर्पाले धेरै जोखिम मोलेका थिए। जङ्गली याकको फोटो खिच्ने क्रममा उनलाई याकले आक्रमण गरेको उनले आफ्नो अन्तरवार्तामा बताएका छन्। बाघको फोटो खिच्दा पनि बाघले झम्टिएपछि भागेर ज्यान जोगाएका थिए। नेपालको निकुञ्ज विभागले देशैभरका संरक्षित क्षेत्रमा फोटो खिच्न उनलाई अनुमति दिएको थियो। 

शेर्पाले सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ३३ पटक फोटो खिचेको वडाध्यक्ष फुनुरु बताउँछन्। उनले तिब्बतसँगको सिमाना लिमी भ्याली पुगेर दुर्लभ जङ्गली याकको सुन्दर तस्बिर खिचेका थिए। यसअघि नरेश कुसीको टिमले जङ्गली याकलाई क्यामेरामा कैद गर्न सफल भएका थिए। वाइल्डलाइफ फोटोग्राफरका रूपमा चुङ्बाले खिचेको तस्बिर नै हालसम्मकै सुन्दर भएको जानकारहरू बताउँछन्। 

शेर्पाले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याएका छन्। नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पर्यटन बोर्डजस्ता थुप्रै संस्थाबाट उनले सम्मान प्राप्त गरेका थिए। 

शेर्पाका दुई छोरा र दुई छोरी छन्। जेठा छोरा छेवाङ शेर्पा चिकित्सक हुन् भने छोरी बन्दा फुटी शेर्पा जहाजकी क्याप्टेन छिन्। पत्नी आङफुटी शेर्पाको निधन १० महिनाअघि भएको थियो भने छोरी मिङ्मा शेर्पाको पाठेघरको क्यान्सरबाट डेढ वर्षअघि निधन भएको थियो। 

उनका परिवारका सदस्यका अनुसार शेर्पाले फोटोग्राफीबाट कहिल्यै आर्थिक लाभको अपेक्षा गरेनन्। आफ्नो फोटाले नेपालको वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान दिन सकून् भन्ने उनको चाहना थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad