समाज


लाजिम्पाटमा व्यवसायीलाई रड प्रहार : पूर्वभाउजूले गुण्डा लगाएको प्रहरीको निष्कर्ष (भिडिओ)

आक्रमण गर्ने समूह लुक्यो दुर्गा प्रसाईंको घरमा, ७ जनाविरुद्ध मुद्दा
लाजिम्पाटमा व्यवसायीलाई रड प्रहार : पूर्वभाउजूले गुण्डा लगाएको प्रहरीको निष्कर्ष (भिडिओ)

उजिर कार्की
माघ १, २०८१ मंगलबार २२:७, काठमाडौँ

लाजिम्पाटमा फलामको सक प्रहार गरी व्यवसायीलाई गम्भीर घाइते बनाएको आरोपमा ७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। काठमाडौँ प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो। 

घरजग्गा व्यवसायी विक्रम लामालाई मोटरसाइकलको सक प्रहार गरी हत्याको प्रयास गर्ने र योजनाकार समेतलाई प्रतिवादी बनाइएको छ। नुवाकोटको ककनी गाउँपालिका ४ का ३३ वर्षीय अजय लामा, नुवाकोटकै बेलकोटगढी नगरपालिका १२ घर भई टोखा बस्ने ३० वर्षका मार्सल भन्ने शैलेन्द्र तामाङ, गोरखाको आरुघाट ७ का २४ वर्षीय दीपक बरामु, गोरखाकै २८ वर्षीय निश्चल सुनार, सुनसरीको धरान उपमहानगरपालिका १३ घर भई बेलायतमा बसोबास गर्ने ५० वर्षकी लक्ष्मी राई, धादिङको ज्वालामुखी गाउँपालिका ४ का रमेश सिलवाल र गोरखा आरुघाट गाउँपालिका ८ का ३० वर्षका सिजन अधिकारी प्रतिवादी छन्। 

यीमध्ये मुख्य योजनाकार भनिएका रमेश र लक्ष्मीसहित चारजना फरार छन्। मुख्य अभियुक्त अजय र दीपक पनि फरार रहेको अभियोग पत्रमा उल्लेख छ। ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा उनीहरूलाई १० वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिवानाको माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिन पनि अदालत समक्ष माग गरिएको छ। 

यस्तो थियो घटना 
घरजग्गा व्यवसायी विक्रम लामा सधैँझैँ २०८१ कात्तिक ११ गते आफ्नो कार्यालय जाने क्रममा इनोभा हस्पिटल लाजिम्पाटको पार्किङमा पुग्छन्। ११ः३५ बजे गाडी पार्किङ गरेर उत्रिनासाथ सुरुमा दुई जनाले उनलाई अन्धाधुन्ध प्रहार गर्न थाल्छन्। उनी त्यहीँ ढल्छन्। तैपनि आक्रमणकारीले उनलाई छाड्दैनन्। थप दुईजना त्यहाँ पुग्छन् र उनीहरूले पनि लडेका विक्रमलाई प्रहार गर्छन्। विक्रमको शरीरबाट रगत बग्न थाल्छ। त्यसको केही समयपछि उनीहरू उनलाई त्यहीँ ढलिरहेको अवस्थामा छाडेर हिँड्छन्।

त्यहाँ हल्लाखल्ला मच्चिन्छ। आसपासका मानिस आएर व्यवसायी लामालाई उठाउँछन्। विक्रमलाई तत्काल इनोभा अस्पतालमा लगिन्छ। अस्पतालले घाइतेको अवस्था जटिल रहेको भन्दै थप सुविधा भएको अस्पतालमा लैजान सल्लाह दिन्छ। विक्रमलाई ग्रिनसिटी अस्पतालमा लगिन्छ र आईसीयूमा राखेर उपचार सुरु हुन्छ।

विक्रमको टाउकोमा गम्भीर चोट लागेको, हात भाँचिएको र शरीरका अन्य भागमा पनि चोट लागेको थियो। 

विक्रमले आफूमाथि आक्रमण गर्ने समूह भने चिनिसकेका हुन्छन्। उनलाई पहिलेदेखि नै उक्त समूहले धम्क्याउँदै आएको उनले प्रहरी समक्ष पछि बयान पनि दिएका छन्। विक्रममाथि आक्रमण गर्ने योजना भने उनकै पूर्वभाउजूकोे रहेको उनीहरूको दाबी छ। विक्रमको अस्पतालमा उपचार चलिरहँदा उनकी दिदीले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। 

यो समूहले विक्रमलाई पहिलेदेखि नै रेकी गरिरहेको पीडितको जाहेरीमा उल्लेख छ। पहिलेदेखि नै बा ७९ प ५२९८ नम्बरको निलो पल्सर मोटरसाइकल र बागमती प्रदेश ०२–०३५– प ९८४३ नम्बरको स्कुटरमा आएका मानिसहरूले रेकी गरिरहेको पीडितले खुलाएका छन्। 

पुरानो रिसइबी, पहिले पनि फसाउने प्रयास
व्यवसायी विक्रम लामा र लक्ष्मी राईबीच पुरानो रिसइबीका कारण घटना भएको प्रहरी अनुसन्धान निष्कर्ष छ। विक्रम र लक्ष्मी पहिले देवर भाउजू हुन्। तर पछि विक्रमका दाइ र लक्ष्मीको सम्बन्धविच्छेद भएको थियो। विक्रमकै कारण सम्बन्धविच्छेद गर्नु परेको लक्ष्मीको आरोप थियो। 

१० वर्षपहिले विवाह गरेका लक्ष्मी र विक्रमका दाइ दीपेशको दुई वर्ष पहिले सम्बन्ध विच्छेद भएको थियो। यसअघि पनि आफ्नो कारण सम्बन्ध बिग्रिएको आरोप लगाउँदै लक्ष्मीले विभिन्न व्यक्तिहरू लगाएर आफूलाई धम्क्याएको विक्रमले अनुसन्धानका क्रममा बताएका छन्। 

विक्रमका अनुसार २०८० असोजमा टीका भण्डारीले सुन तस्करीको आरोप लगाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत उनलाई सोधपुछ गरेर छाडेको थियो। त्यसको एक महिनापछि फेरि लागुऔषध ब्युरोमा लागुऔषधको कारोबार गर्ने भन्ने जानकारी दिएपछि ब्युरोको टोली पुगेर घरमा खानतलासी गरेको विक्रमले बताएका छन्। 

त्यसपछि पनि पटकपटक फसाउने प्रयास गरेको विक्रमले अनुसन्धान अधिकारी समक्ष बयान दिएका छन्। एक वर्षअगाडि पनि विक्रमलाई लागुऔषध मुद्दामा फसाउन गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका दीपक मनाङे भन्ने राजीव गुरुङका सहयोगी टीका भण्डारी लगायतले प्रयास गरेको उनीहरूको जाहेरीमा उल्लेख छ। 

अहिले पनि लक्ष्मी राईको र टीका भण्डारीको योजनामा घटना भएको पीडितको आरोप छ। यस्तै लक्ष्मी राईका हालका श्रीमान् रमेश सिलवालको पनि संलग्नता रहेको उनीहरूको दाबी छ। 

लक्ष्मी राई, टीकाराम भण्डारी, रमेश सिलवाल, सिजन अधिकारी र पदम राईले विक्रम लामाको ज्यान मार्न अन्य प्रतिवादीहरूलाई परिचालन गरेको पीडितको जाहेरीमा उल्लेख छ। 

प्रतिवादी नै भन्छन् : दसैँपहिलेकै योजना हो 
घटनापछि पक्राउ परेका व्यक्तिले पनि विक्रममाथि आक्रमण गर्ने पुरानै योजना रहेको बयान दिएका छन्। झापाबाट पक्राउ परेका निश्चल सुनारले विक्रममाथि आक्रमण गर्ने योजना गएको दसैँपहिले नै भएको बताएका छन्। उनीहरू दसैँअघि कालुपाँडे डाँडामा गएको र अजय लामाले विक्रम लामालाई आक्रमण गर्ने योजना सुनाएको निश्चलले बयानमा खुलाएका छन्। 

घटनाको अघिल्लो राति १० बजे अजयले यो समूहका सबैलाई कलंकीमाथिको कालुपाँडे पार्क नजिक जंगलमा बोलाएका थिए। त्यही दिन अजयले घटनास्थलमा प्रयोग भएको मोटरसाइकल निश्चललाई दिएका थिए। त्यहाँ उनीहरूले आक्रमण गर्नका लागि मोटरसाइकलको सक दिएको सुनारले खुलाएका छन्। 

कात्तिक ११ गते विक्रम इनोभा अस्पतालको पार्किङमा आउने उनीहरूलाई पूर्वजानकारी भइसकेको थियो। पार्किङमा आउनुपहिले अजय र मार्शल भन्ने शैलेन्द्र तामाङले विक्रमको रेकी गरिरहेका थिए। 

निश्चल र दीपक बरामु पहिल्यै उक्त पार्किङमा गएर पर्खिरहेका थिए। विक्रम गाडीबाट ओर्लनासाथ दीपकले पहिले सकले प्रहार गरे। निश्चलले पनि सकले नै प्रहार गरेर विक्रमलाई ढालेको र पछि शैलेन्द्र र अजय पनि आएर प्रहार गरेका थिए। त्यहाँ रहेका अरुले मान्छे मर्‍यो भन्दै कराउन थालेपछि रगताम्य अवस्थामा ढलेका विक्रमलाई छाडेर भागेका थिए। मूलगेटबाट भागेका मार्शलबारे कुनै जानकारी नभएको र अरु तीनजना अजय, दीपक र निश्चल नागढुंगाबाट गोरखा पुगेका थिए। त्यसरात उनीहरू गोरखामा दीपकको घरमा बास बसेका थिए। 

भोलिपल्ट उनीहरू झापा पुगेर विर्तामाड ५ स्थित दुर्गा प्रसाईंको घरमा फ्ल्याट नै भाडामा लिएर बसेको बयान दिएका छन्। २०८१ कात्तिक ३० गते इलाका प्रहरी कार्यालय अनारमनी झापाको टोली खोजतलास गर्दै त्यहाँ पुगेको थियो। 

प्रहरीले निश्चिल सुनारलाई मात्रै पक्राउ गर्न सक्यो। अजय र दीपक भने त्यहाँबाट भागेका थिए। 

घटनामा संलग्न मार्शल भन्ने शैलेन्द्र तामाङले पनि अजयकै निर्देशनमा घटना घटाएको बयान दिएका छन्। अजय र घाइते विक्रम नजिकका आफन्त समेत हुन्। 

घटनाको दुई दिनपहिले पनि उनीहरू ग्रान्डी अपार्टमेन्टमा भेटेर यसबारे योजना बनाएको शैलेन्द्रको बयान छ। आक्रमणमा संलग्न चारजना नै अपार्टमेन्ट नजिकैको क्याफेमा गई एकदुई दिनमै विक्रमलाई आक्रमण गर्ने योजना बनाएको शैलेन्द्रले खुलाएका छन्। 

घटनाको दिन बिहान १० बजे अजयले शैलेन्द्रलाई फोन गरेर सामाखुसी चोकमा बोलाएका थिए। शैलेन्द्र अजयको स्कुटरको पछाडि बसेर विक्रम लामाको गाडीको रेकी गर्न गए। सुरुमा उनीहरूले अपार्टमेन्टको पार्किङमा विक्रमको गाडी रहे नरहेको यकिन गरे। अपार्टमेन्टअगाडिको पेट्रोलपम्प छेउमा उनीहरू पर्खिरहेका थिए। विक्रम चढ्ने सेतो रंगको हाइलक्स गाडी ग्रान्डी अपार्टमेन्टको पार्किङबाट बाहिरियो। 

त्यसपछि अजयले दीपकलाई फोन गरेर तत्काल इनोभा अस्पतालको पार्किङस्थलमा जान भने। उनीहरू गाडीको पिछा गर्दै गए। उनीहरू दुईजना बाहिर स्कुटर पार्किङ गरेर जाँदा दीपक र निश्चलले विक्रममाथि फलामको सकले प्रहार गरिरहेका थिए। 

त्यसपछि शैलेन्द्रलाई सीतापाइलामा पुर्‍याएपछि गाडी चढ्न लगाएर अजय गएका थिए। शैलेन्द्र भने बानियाँटारस्थित आफ्नो डेरामा गएर बसेका थिए। 

यस्तै घटनामा संलग्नता रहेको आरोपी सिजन अधिकारीलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो। घटनास्थलमा नभए पनि उनको मोटरसाइकल प्रयोग भएको पाइएपछि प्रहरीले उनलाई पनि खोजी गरेको थियो। 

आफ्नो मोटरसाइकल प्रयोग भएका कारण प्रहरीले पक्राउ गर्ने भएकाले आफू भारत भागेको अधिकारीले बयान दिएका छन्। यस्तै टीका भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। तर उनले लक्ष्मी राईसँग यो घटना नभई व्यवसायको विषयमा छलफल गर्न भेटघाट र फोनमा कुराकानी भएको बताएका छन्। 

उनलाई र पदम राईलाई कसुरमा संलग्न रहेको प्रमाण फेला नपरेको भन्दै मुद्दा नचल्ने निर्णय गरेको छ। 

अभियुक्तहरू पहिल्यैबाट अपराधमा
व्यवसायी लामामाथि आक्रमणका अभियुक्तहरू यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेको खुलेको छ। अजय लामाविरुद्ध यसअघि ठगीको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाटै तीन वर्ष कैद र ४० हजार रूपैयाँ जरिवाना भएको खुलेको छ। २०७८ पुस २९ गते उनलाई यस्तो सजाय तोक्दै फैसला भएको थियो। 

अभद्र व्यवहारसम्बन्धी मुद्दामा पनि उनलाई काठमाडौँ जिल्ला अदालतबाटै २०८० चैत १२ गते २२ दिन कैद र ३ हजार रूपैयाँ जरिवाना तोकिएको थियो। 

मार्शल भन्ने शैलेन्द्र तामाङ पनि यसअघि अपराधमा संलग्न रहेको तथ्य फेला परेको छ। उनीविरुद्ध अभद्र व्यवहारमा काठमाडौँमै २०८१ कात्तिक २९ गते २९ दिन कैद तोकिएको थियो। 

अर्को पनि अभद्र व्यवहारकै मुद्दा उनीमाथि चलेको भेटिएको छ। २०८१ असार १६ गते फैसला भएको उक्त मुद्दामा ९ हजार रूपैयाँ जरिवानाको फैसला भएको थियो। 

लक्ष्मी राईविरुद्ध पनि पहिले मुद्दा चलेको थियो। अभद्र व्यवहारमा उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०७९ कात्तिक ६ गते ४ हजार २ सय रूपैयाँ जरिवानाको फैसला भएको थियो। 

रमेश सिलवाल पनि बैंकिङ कसुरको मुद्दामा कसुरदार ठहर भई २०८१ असोज १५ गते अदालतबाट फैसला भएको फेला परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad