सशस्त्र प्रहरी बल (एपीएफ) ले कोरोना संक्रमण सुरु भएयता भारतसँगका सीमा नाकाबाट प्रवेश गर्ने ३ लाख १० हजार मानिसको आवश्यक स्वास्थ्य जाँच गरेको बताएको छ।
तीमध्ये करिब २ लाख भारतीय नागरिक र १ लाख नेपाली नागरिक रहेको उसले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीबार गृह मन्त्रीको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा सो जानकारी गराइएको हो।
सो जाँच गर्दा ६० जनामा ज्वरो देखिएको थियो। तीमध्ये ५६ जनालाई ज्वरोका कारण भारततर्फ फर्काइएको थियो भने ४ जना नेपालीलाई अस्पताल भर्ना गरिएको थियो।
भर्ना भएकामध्ये ३ जना निको भई घर फर्केको र १ जनाको कोशी अस्पताल बिराटनगरमा उपचार जारी रहेको सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले बैठकमा जानकारी गराएका हुन्।
उनले सशस्त्र प्रहरीले २० वटा आइसीयू (सघन उपचार कक्ष) वेड संभावित कोरोना उपचारका लागि तयारी अवस्थामा राखिएको, नेपालगञ्ज र बिराटनगरमा फिल्ड अस्पताल तयार गरेको समेत जानकारी गराएका थिए।
उनका अनुसार सशस्त्र प्रहरी बलले प्रदेश १ मा १३०, प्रदेश २ मा २००, वागमति प्रदेशमा २५०, गण्डकीमा २००, र सुदूरपश्चिममा १०० जनालाई क्वारेन्टाइनमा राख्न सकिने उनले बताए।
चीनबाट ल्याइएका नेपालीलाई राखिएको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ८०० जना सम्मलाई राख्न सकिने उनले बताएका थिए।

प्रतिक्रिया