समाज


नेपालमा कोरोना परीक्षणः ५३० सम्म ‘नेगेटिभ’, आज आउँदै १५ परिणाम

नेपालमा कोरोना परीक्षणः ५३० सम्म ‘नेगेटिभ’, आज आउँदै १५ परिणाम

नेपालखबर
चैत ६, २०७६ बिहिबार ५:४७,

नेपालमा कोरोना भाइरस संक्रमण आशंकामा अहिलेसम्म ५३० जनाको स्वास्थ्य परीक्षण गरिएको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले अहिलेसम्म ५३० जनाको नमुना परीक्षण गरिएको बिहीबार नेपालखबरलाई जानकारी दिए।

‘बुधबार साँझसम्म ५३० परीक्षणको नतिजा आयो, ती सबै नेगेटिभ (कोरोना भाइरस नभएका) छन्,’ प्रवक्ता गुप्ताले नेपालखबरसँग भने, ‘अब आज (बिहीबार) १५ वटाजति नमुनाको रिपोर्ट सार्वजनिक गर्दै छौं।’

उनका अनुसार यो रिपोर्ट साँझ ५/६ बजेसम्म सार्वजनिक हुनेछ।

उनका अनुसार कोरोना संक्रमण छ कि छैन भनेर थाहा पाउन बिरामीको मुख र नाकको स्वाब परीक्षण गर्ने गरिन्छ। कोरोनाको परीक्षण नेपालमा अहिले टेकुस्थित प्रयोगशालामा मात्र हुन्छ। अन्य स्थानका अस्पतालमा पनि शंका लागेका बिरामीका नमुना यही प्रयोगशालमा पठाउने गरेका छन्।

केही दिनयता कोरोना आशंकामा नमुना पठाउने क्रम बढेको प्रयोगशालाका प्रवक्ता गुप्ताले बताए। ‘अहिले दिनमा कहिले त ४० वटासम्म पनि आउँछन्,’ उनले भने, ‘तर दिनमा कम्तीमा २५ वटाचाहिँ आउने गरेका छन्।’

तीमध्ये सबभन्दा बढी काठमाडौं उपत्यकाकै हुन्छन्। ‘६० प्रतिशत उपत्यकाकै हुन्छ,’ उनले भने, ‘बाँकी ४० प्रतिशत उपत्यका बाहिरबाट आउँछन्।’

उपत्यकाबाहिरमा सबैभन्दा बढी चितवनबाट परीक्षणका लागि बिरामीको नमुना आउने गरेको उनले जानकारी दिए।

काठमाडौं उपत्यकाबाहिर अहिलेसम्म भरतपुर, पोखरा, लुम्बिनी, नेपालगन्ज, धनगढी, विराटनगर, जनकपुर, धरानबाट कोरोना परीक्षणका लागि नमुना आइरहेको सूचना अधिकारी गुप्ताले जानकारी दिए।

रुघाखोकी, ज्वरो, टाउको दुख्ने लक्षण देखिनेबित्तिकै कोरोना हो कि भनेर अस्पताल पुग्नेहरूको संख्या बढेकाले नमुना परीक्षणको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ।

‘सामान्य ज्वरो, रुघाखोकी, टाउको दुख्ने हुनेबित्तिकै मानिस अस्पताल पुग्ने गरेका छन्,’ प्रयोगशालाका प्रवक्ता गुप्ताले भने, ‘अनि सम्बन्धित अस्पतालका चिकित्सकले कोरोना परीक्षणका लागि बिरामीको नमुना टेकु प्रयोगशाला पठाउँछन्।’

यसरी परीक्षण गराउनुको कारण कोरोनाप्रति मानिसमा सतर्कता बढेको प्रमाण पनि भएको उनी बताउँछन्।

सुरुमा चीनको उहानबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो। तर उपचारपछि उनी अहिले स्वस्थ भई दैनिक काममा फर्किसकेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसयता भने शंका गरिएका कसैमा पनि कोरोना देखिएको छैन। यस अर्थमा अहिलेसम्म नेपाल एवं नेपाली भाग्यमानी देखिएका छन्।

कोरोनाको संक्रमण नफैलिँदै नेपाल सरकारले सतर्कता अपनाएको छ। हिजो बुधबार मात्रै सकारले अत्यावश्यक काम नभई घरबाट बाहिर ननिस्कन तथा २५ जनाभन्दा बढी संख्यामा जमघट नगर्न अनुरोध गरिसकेको छ।

साथै आजै बिहीबारदेखि हुने भनिएको एसर्ईई परीक्षासमेत सरकारले स्थगन गरिसकेको छ। अब अर्काे निर्णय नहुन्जेल एसईई परीक्षा कहिले हुन्छ भन्न नसकिने अवस्था छ।

घरबाहिर निस्किँदा अनिवार्य राम्रो खालको मास्क लगाउन, हातले जथाभावी नछुन तथा छोएपछि राम्रोसँग साबुन पानीले हात धुन वा स्यानिटाइजर लगाउन चिकित्सकले सुझाव दिइरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad