समाज


एसईई रोकिएकोमा परीक्षा बोर्डले विद्यार्थीसँग क्षमा माग्यो, प्रश्नपत्र सुरक्षित गर्न आग्रह

एसईई रोकिएकोमा परीक्षा बोर्डले विद्यार्थीसँग क्षमा माग्यो, प्रश्नपत्र सुरक्षित गर्न आग्रह

नेपालखबर
चैत ६, २०७६ बिहिबार ५:३८,

सरकारले आज (बिहीबार)देखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन्।

बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान बनेका हुन्।

विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरस (कोभिड–१९) फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बुधबार साँझ बसेको सरकारको उच्चस्तरीय समन्वय समितिको बैठकले आकस्मिक निर्णय गर्दै एसइई परीक्षासँगै चैतमा हुने भनिएका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो।

चैत १७ गतेसम्म सञ्चालन हुने तय भएको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको थियो। अचानक परीक्षा स्थगन भएपछि परीक्षा दिन तयारी अवस्थामा रहेका कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी र परीक्षामा खटिने ६५ हजार जनशक्ति परिचालन नहुँदा परीक्षा केन्द्र सुनसान बनेका हुन्।

स्थानीय तहमार्फत समन्वय गरेर प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने भनिए पनि त्यसको प्रभावकारी तयारी हुन सकेको थिएन। ठिमीका चार वटा परीक्षा केन्द्रमा हेल्थ डेस्कको जिम्मा लिएको नागरिक अस्पतालका नर्सिङ इञ्चार्ज सुन्दरी जोशीले विद्यार्थीको ज्वरो नाप्ने ‘गन थर्मोमिटर’ कहीँकतै नपाइने भएकाले परीक्षा केन्द्रमा सामान्य थर्मोमिटरले ज्वरो जाँच्न असम्भव हुने अवस्थामा परीक्षा स्थगन हुनु सकारात्मक भएको बताए। सिटामोल बोकेर हेल्थ डेस्कमा बस्नुको अर्थ नभएको अवस्थामा विद्यार्थीको स्वास्थ्यप्रति सरकार संवेदनशील भएर परीक्षा स्थगन हुने निर्णय आउनु सकारात्मक भएको उनले बताए।

यता राष्ट्रिय परीक्षा बोर्डले एसइई स्थगन गर्नु परेपछि विद्यार्थी र अभिभावकसँग क्षमा मागेको छ। आजदेखि सञ्चालन हुने गरी निर्धारण गरिएको परीक्षा अन्तिम समयमा आएर स्थगन भएपछि बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थी र अभिभावकसँग क्षमा मागेको हो। बोर्डका सदस्य सचिव दुर्गा अर्यालद्वारा जारी विज्ञप्तिमा ‘एसइई परीक्षा स्थगन हुँदा यसबाट विद्यार्थी तथा अभिभावकलगायत सम्बद्ध सबैमा पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ’ भनिएको छ।

यसबारेमा सदस्य सचिव अर्यालले कोरोना भाइरसको विश्वव्यापी महामारीको अवस्थाप्रति सचेत हुँदै अन्तिम समयमा आएर परीक्षा स्थगन गर्नुपरेकामा क्षमाप्रार्थी रहेको बताउनुभयो । बोर्डले परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई एसइई परीक्षाका प्रश्नपत्रलगायतका गोप्य सामग्री र उत्तरपुस्तिकाको सुरक्षा गर्न निर्देशन दिएको छ भने सुरक्षा निकायलाई परीक्षाका सबै सामग्री सुरक्षाका लागि आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad