समाज


इन्सपेक्टर शाहीले पीडितलाई १३ मिनेट हिरासतमा राखिन्, एसपी थापाले बेलुका रेस्टुराँमा गिरोह भेटे

इन्सपेक्टर शाहीले पीडितलाई १३ मिनेट हिरासतमा राखिन्, एसपी थापाले बेलुका रेस्टुराँमा गिरोह भेटे

उजिर कार्की
मंसिर १०, २०८१ सोमबार १३:१८, काठमाडौँ

ललितपुरको भैँसेपाटी प्रभागबाट सार्वजनिक भएको हनी ट्रयापको घटनामा प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) कमल थापाको संलग्नता खुलाउने प्रमाण अदालत पुगेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसपी कमल थापालाई प्रतिवादी नबनाए पनि उनीसँग बयान कागज गराएको थियो। बयानका क्रममा एसपी थापाले संलग्नता अस्वीकार गरेका छन्। 

तर, सीआईबीले अनुसन्धान प्रतिवेदनसाथ पेस गरेको प्रमाणमा भने एसपी थापाले गिरोहका सदस्यलाई भैँसेपाटी प्रभाग पठाएको, त्यसपछि पटक–पटक फोन र ह्वाट्सएपमा कुराकानी गरेको र पीडितलाई पक्राउ गरेकै बेलुका गिरोहका योजनाकारसँग रेस्टुराँमा बसेको भेटिएको छ। 

सीआईबीले टेलिफोन संवाद, म्यासेज र सीसीटीभी फुटेज पनि प्रमाणका रूपमा पेस गरेको छ। एउटा फुटेज पीडितलाई नै हिरासतमा राखिएको समेत देखिएको छ। २०८१ असोज ७ गते दिउँसो १२ः३० बजे जाहेरवालालाई नै पक्राउ गरेर भैँसेपाटी प्रभागको हिरासतमा राखिएको पुष्टि भएको छ। उनलाई हिरासतमा राखेको १३ मिनेट ३४ सेकेन्डपछि बाहिर निकालिएको फुटेजमा देखिन्छ। 

हनी ट्रयापमा पार्ने गिरोहका मुख्य योजनाकार भनिएका ताजमुल भन्ने तजम्मुल इस्लामसँग एसपी कमल थापाले रेस्टुराँमै भेटेको सीसीटीभी फुटेज पनि सीआईबीले बुझाएको छ।  

असोज ७ गते बेलुका नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि रहेको चिकेन स्टेसन नामको रेस्टुराँमा साँझ ६ः४० बजे उनीहरूको भेटघाट भएको फुटेजमा देखिएको छ। तजम्मुल सेतो टिसर्ट र खैरो पाइन्ट लगाएर त्यहाँ पुगेका छन्। एसपी कमल थापा सेतो हाफसर्ट, खैरो पाइन्ट र रातो रङका जुत्ता लगाएर त्यहाँ पुगेका छन्। उनीहरू बेलुका ७ बजेर २४ मिनेटमा छुट्टिएको फुटेजले पुष्टि गरेको छ। 

थापा र इस्लामबीच तीनपटक टेलिफोनमा समेत कुराकानी भएको छ। जसमा दुईपटक इस्लामले कल गरेका छन् भने एकपटक एसपी थापाले इस्लामलाई कल गरेका छन्। 

यता प्रहरी निरीक्षक शाही र एसपी थापाको बीचमा भने धेरैपटक कुराकानी भएको मिसिल संलग्न प्रमाणबाट देखिएको छ। शाहीले एसपी थापालाई एउटा नम्बरमा २० पटक र अर्को नम्बरमा २ पटक टेलिफोन गरेकी छन्। एसपी थापाले शाहीलाई ८ पटक कल गरेको रिपोर्ट पनि अभियोगपत्रसाथ पेस गरिएको छ। 

बयानका क्रममा पनि इस्लामले भैँसेपाटी प्रभागमा उजुरी गर्न जानुअङि एसपी थापासँग सल्लाह गरेको खुलाएका छन्। 

‘मैले ह्वाट्सएपमा प्रहरी उपरीक्षक कमल थापालाई फोन गरेर सम्पूर्ण व्यहोरा बताएकोमा निजले त्यो मानिस कुन एरियामा बस्छ भनेर सोधेकोमा मैले एकान्तकुना एरियामा बस्छ भनेपछि भैँसेपाटी प्रभागमा जाउ, मेरो मान्छे छ, त्यहाँ म भनिदिन्छु भन्नुभएपश्चात् २०८१ असोज ५ गते बेलुका सुस्मा विक र भगवती थापालाई बसमा काठमाडौँ पठाएर दर्शन पोखरेल, अनिषा कार्की र म छुट्टाछुट्टै प्लेनमा काठमाडौँ आयौँ’, उनले बयानमा भनेका छन्। 

त्यस दिन साँझ एसपी थापालाई इस्लामले फेरि ह्वाट्सएपमा कल गरेर सोध्दा उनले ‘भैँसेपाटी जानू, इन्सपेक्टर शाहीसँग कुरा गरिदिइसकेको छु’ भनेको पनि उनको बयान उल्लेख छ। 

त्यसपछि उनीहरूले प्रभागमा पुगेर शाहीलाई भेटेका थिए। शाहीको सल्लाहअनुसार नै कुटपिट तथा गालीगलौज गरेको भनी प्रहरी कार्यालयभित्रै निवेदन तयार गरिएको थियो। सुस्मा विश्वकर्माको नामबाट दिइएको निवेदन तोक लगाए पनि दर्ता भने गरिएको थिएन। 

भोलिपल्ट ती व्यवसायी (हनी ट्रयापमा परेका व्यक्ति) लाई फोन गरेर रेस्टुराँमा बोलाउन सुस्मालाई लगाएकी थिइन्। 

असोज ७ गते सुस्माले ती व्यवसायीलाई भेट्न भैँसेपाटी प्रभागनजिकैको रेस्टुराँमा भेटेका थिए। त्यही बेला पूर्वयोजनाअनुसार उनीहरूले इन्सपेक्टर शाहीलाई खबर गरेपछि प्रहरी आएर ती व्यवसायीलाई पक्राउ गरेर लगेको थियो। 

सुरुमा यो मुद्दा मिलाउने हो भने व्यवसायीलाई ५० लाख दिन भनिएको थियो। प्रहरी निरीक्षक शाहीकै कार्यकक्षमा छलफल गर्दा व्यवसायीले ५० लाख दिन नसक्ने भन्दै ३० लाख दिने भनेका थिए। तर उनले तत्काल २० लाख नगद र तीन महिनापछि साट्ने गरी १० लाखको चेक दिने सहमति गरेका थिए। 

गिरोहले समूहमा छलफल गरेपछि यसमा सहमति जनाएका थिए। त्यस दिन उनले ७ लाख रुपैयाँ भीमादेवी थापाको नाममा जम्मा गरिदिएका थिए। बाँकी १३ लाख रुपैयाँ पनि उनले जम्मा गरिदिए। त्यसपछि उनीहरूको मिलापत्र भएको थियो। 

तर आफूलाई फसाइएको भन्दै ती व्यवसायी जिल्ला प्रहरी परिसर, जावलाखेल पुगेपछि घटनाले अर्कै मोड लियो। प्रभागकै इन्चार्जको मिलेमतोमा यस्तो घटना भएको उजुरीपछि परिसरले सबै आरोपी र कागजातसहित जिल्लामा झिकायो। 

जिल्लामा झिकाएपछि इन्सपेक्टर शाहीले मोबाइलका म्यासेज बाटैमा डिलिट गर्न लगाएको र चेकसमेत गायब बनाएको अन्य प्रतिवादीको आरोप छ। आफैमाथि अनुसन्धान सुरु भएपछि शाही भने फरार भएकी थिइन्। पछि सीआईबीले अनुसन्धान गरेको यस मुद्दामा फरार शाही र दर्शन पोखरेलसहित ६ जनालाई प्रतिवादी बनाइएको छ। 

धनकुटाको महालक्ष्मी नगरपालिका-४, खानीगाउँ घर भई इटहरी बस्ने १९ वर्षकी सुस्मा विश्वकर्मा, सुनसरीको दुहवी नगरपालिका-८, सोनापुर घर भई इटहरी बस्ने ३२ वर्षका ताजमुल भन्ने तजम्मुल इस्लाम, तेह्रथुमको लालीगुँरास नगरपालिका ५ घर भई इटहरी बस्ने २० वर्षकी भीमादेवी थापा र प्रहरी निरीक्षक शाहीका सवारी चालकसमेत रहेका सहायक हवल्दार सुर्खेतको सिम्ता गाउँपालिका-१ का ३२ वर्षीय महेन्द्र हमाललाई प्रतिवादी बनाइएको छ। 

सीआईबीले एसपी थापालगायतविरुद्ध मुद्दा नचलाउने रायसहित पठाएपछि सरकारी वकिल कार्यालयले उनीमाथि थप अनुसन्धान गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

सम्बन्धित खबर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad