ललितपुरका एक व्यवसायीलाई हनी ट्रयापमा पारी ३० लाख रुपैयाँ लिएको घटनामा ६ जनाविरुद्ध सोमबारदेखि बकपत्र सुरु हुने भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ। आपराधिक लाभ र संगठित अपराधको कसुरमा भैँसेपाटी प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
यस घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी कमल थापा पनि जोडिएका छन्। तर उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिवादी बनाएको छैन।
सुरुमा ललितपुर प्रहरी परिसरबाटै अनुसन्धान भइरहेको यस मुद्दाको अनुसन्धान आरोपीहरूको जोडबलमा सीआईबी लगिएको थियो। तर सीआईबीले फरार रहेकी इन्सपेक्टर शाहीलाई पक्राउ गरेन भने एसपी थापालाई पनि प्रतिवादी नबनाई मुद्दा बुझाएको छ।
सीआईबीले प्रतिवादी नबनाएपछि सरकारी वकिलले प्रहरीलाई थप अनुसन्धान गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। सरकारी वकिल कार्यालयको निर्देशनअनुसार अब एसपी थापामाथि पनि पुनः अनुसन्धान हुने भएको छ। यसअघि सीआईबीले उनीसँग बयान कागज भने गराएको थियो।
एसपी थापाले नै हनी ट्रयापमा पार्ने समूहलाई भैँसेपाटी प्रभागमा पठाएको आरोप छ। यस्तै उनको यो घटनाका मुख्य योजनाकार ताजमुल भन्ने तजम्मुल इस्लामसँग पनि नियमित सम्पर्क तथा भेटघाट भएको पाइएको छ।
यस्तो छ एसपी थापाको बयान
उल्लिखित मुद्दामा सम्बन्धित रहेका व्यक्तिहरूमध्ये ताजमुल भन्ने तजम्मुल इस्लाम र प्रहरी निरीक्षक बिनुकुमारी शाहीसँग मात्र मेरो चिनजान छ, अन्यसँग छैन।
तजम्मुल इस्लाम भन्ने व्यक्ति म जिल्ला प्रहरी कार्यालय, सुनसरीमा कार्यरत रहँदा राष्ट्रिय अनुसन्धान कार्यालयमा सूचकको रूपमा काम गर्ने तथा जिल्ला प्रहरी कार्यालय र मातहतका एकाइ समेतमा विभिन्न अपराध तथा घटनाहरूको सुराकी दिने काम गर्दथे।
कहिलेकाही उसले सम्पर्क गर्दा सामान्य कुराकानी हुने गर्दथ्यो। सम्बन्धमा धेरै निकटता र शत्रुता दुवै छैन। प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई मैले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सँगै कार्यरत रहँदा चिनेको हुँ।
मैले हालसम्म बसेका विभिन्न जिल्लाहरूका व्यक्ति, विभिन्न पेसासँग सम्बन्धित परिचितहरू तथा आफन्तहरूले प्रहरीसँग सम्बन्धित केसहरूमा नेपालभरिकै कुनै समस्या पर्दा भन्ने गर्छन्।
त्यस्तो बेला उपयुक्त स्थानमा मैले सक्ने समाधानका सल्लाह र आवश्यक परे सम्बन्धित कार्यालयमा अनुरोध गरी सहयोग गर्ने गरेको छु। प्रश्नावलीमा उल्लेखित सुस्मा विक र ...राईकै समस्याको विषयमा भैँसेपाटीमा जाऊ भनेको मलाई यकिन छैन तर महिला बालबालिकासम्बन्धी समस्या आउँदा सम्बन्धित जिल्ला र इलाकाहरू, काठमाडौँमा भए प्रहरी वृत कालिमाटी वा ललितपुरमा जानू भन्ने सल्लाह म सबैलाई दिने गर्छु।
त्यस्तै विषयगत ब्युरोसँग सम्बन्धित ब्युरोमा र जघन्य अपराध तथा वित्तीय अपराध भए सीआईबीमा जानको लागि सुझाव दिने गर्छु। मैले उल्लिखित मितिमा ताजले फोन गर्दा कुनै प्रहरी कार्यालयमा तोकेर जानू भनी भनेको छैन। सो विषय के थियो, वारदात कहाँ थियो, को–कोसँग सम्बन्धित विषय थियो र कानुनी उपचारको विषय के थियो भनी मसिनो गरेर सोधपुछ वा छलफल नभई मैले अन्य कुरा भन्न सक्ने अवस्था पनि हुँदैन।
कसैले कुनै समस्या लिएर आए पनि सम्बन्धित कार्यालय र निकायमा पुगिसकेपछि त्यसभित्रको अन्तरनिहित कुराहरूलाई पुनः मलाई सोधिएको भन्ने विषय आफैँमा व्यर्थको छ। आपसी सहमतिको विषय छलफलमा बसेका व्यक्तिहरूलाई मात्रै थाहा हुने भएकाले कुन प्रसंगमा पैसाको कुरा आएको हो, त्यो मलाई थाहा भएन र मैले त्यस्तो कुरामा राय दिनुको पनि कुनै अर्थ हुँदैन। मेरो स्मरणमा यस्तो छैन।
कुनै प्रयोजनको लागि मैले ताजलाई कुनैसँग चिनजान गराएको छैन। भैँसेपाटी बस्ने गणेश उप्रेतीसँग उहाँहरूको के सम्बन्ध हो, केके व्यवहार भएको थियो, मलाई थाहा छैन। विदुर शर्मा, सुदीप कार्की, दर्शन पोख्रेलनामक व्यक्तिहरू कसैसँग मेरो चिनजान, नाता, दुश्मनी र मित्रता केही पनि छैन। गणेश उप्रेतीलाई चिनजान गराएको कुरा निज गणेशलाई सोध्न सकिन्छ। कुन मिति समयमा के कुरा भयो भन्न सक्दिनँ तर एकपटक उसले भेटौँ भनेको थाहा छ।
म तत्कालीन समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिएँ। सुनसरी जिल्लाको एक स्थानीय तहमा भएको बाटो निर्माणको अनियमितताको उजुरी कसरी गर्ने भन्ने उसको प्रश्न रहेको थियो। यही विषयमा पनि कुरा भएको हुन सक्दछ। प्रहरी निरीक्षक बिनुकुमारी शाहीको उल्लिखित दुवै नम्बरमा मेरो नियमित सम्पर्क हुने गर्थ्यो। विगत फागुन महिनाभन्दा अगाडि हामी जिप्रका कञ्चनपुरमा सँगै कार्यरत रहेका थियौँ। कञ्चनपुर जिल्लामा रहँदा र त्यसपछि पनि हामी पारिवारिक हिसाबले चिनजानमा छौँ।
निजको परिवार, आमा, दाजु तथा दिदी, भेना, मेरो श्रीमती र बच्चाहरूसमेत चिनजान तथा सम्पर्कमा रहने गरेका थियौँ। अतः उल्लिखित मिति समयबाहेकको अन्य कलहरू पनि हुन सक्दछ। कुनकुन समयमा के विषयमा कुरा भयो, यकिन गर्न सक्दिनँ।
म टंगाल (अख्तियार) मा कार्यरत रहेको र मेरो बसाइ पेप्सीकोलातिर भएको हुँदा कार्यालय ६ बजे छुटेपछि घर पुग्नुअगाडि बीचको भाग एयरपोर्टनजिक पर्दछ। त्यसैले म छोटो समय कसैलाई भेट्न र कफी खान त्यता रहने गर्थेँ। सो फुटेजमा भएको सेतो सर्ट, सेतो पाइन्ट लगाएको व्यक्ति म र अर्को कालो पाइन्ट र सेतो सर्ट लगाएको व्यक्ति ताजमुल भन्ने तजम्मुल इस्लाम हो।
उक्त होटल (चिकेन स्टेसन) मा उल्लिखित मितिभन्दा अगाडि र पछाडि पनि म जाने गर्थेँ। मलाई प्रविधिको अलिअलि जानकारी छ। त्यसैले कुनै गलत कार्य गर्नुपर्ने भए सीसीटीभीको सामुन्ने कसैसँग भेटघाट गर्ने थिइनँ। उक्त दिन ताजसँगको भेट एउटा कफी खाउन्जेल मात्र भएको हो।
त्यो समय कुनै पनि मुद्दासम्बन्धी कुरा भएको थिएन। सामान्य हालखबरका कुराहरू भएको थियो। त्यो भेटेको समय उसको फोनहरू आइरहने भएकाले कुनै विषयमा सिलसिलेवार गफ भएको थिएन। त्यो दिन ...राई र सुस्मा विक सम्बन्धित मुद्दाको विषयमा कुनै कुरा भएको थिएन। यो विषयमा मैले भैँसेपाटीको प्रहरी निरीक्षकलाई भनी मुद्दा मिलाउने सिफारिस पनि गरेको थिइनँ।
....राई र सुस्मा विकको उजुरी सम्बन्धमा के कस्तो विषय थियो र के कसरी सहमति भयो भन्ने मैले जानकारी पनि पाइनँ।
(पीडितको नाम गोप्य राखिएको छ- सम्पादक)
Shares

प्रतिक्रिया