प्रहरी नै संलग्न भएको भनिएको ललितपुर, भैँसेपाटीको हनी ट्रयाप घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको छ। घटनामा संलग्न भनिएका प्रहरीले नै गृह मन्त्रालयमा उजुरी दिएको स्रोतले नेपालखबरसँग दाबी गरेको छ।
उनीहरूको उजुरीपछि उक्त घटनाको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। जिल्ला प्रहरी परिसर, ललितपुरले उक्त घटनाको अनुसन्धान मिसिल र पक्राउ गरिएका चार जना आरोपीलाई पनि बुधबार नै सीआईबीलाई बुझाइसकेको एसएसपी शेखर खनालले बताए।
खनालले उक्त घटनाको अनुसन्धान जिल्लाबाट मात्रै हेर्न नमिल्ने भएकाले माथिल्लो तहलाई नै जिम्मा लगाएको बताए। यता गृह मन्त्रालय स्रोतले भने ललितपुर प्रहरीको छानबिन र अनुसन्धानविरुद्ध उजुरी परेकाले उनीहरूमाथि नै छानबिन गर्न अर्को समिति बनाइएको बताएका छन्।
ललितपुर प्रहरीले पूर्वाग्राही भएर अनुसन्धान गरेको उक्त अनुसन्धान तथा परिसरले बनाएको छानबिनमा पनि चित्त नबुझेको भन्दै संलग्न भनिएका प्रहरीको उजुरी परेको छ।
गृह मन्त्रालयले उक्त उजुरी प्रहरी प्रधान कार्यालयमा पठाएर परिससरले गरेको छानबिनमाथि नै छानबिन गर्न अर्को समिति गठन गरेको छ।
एसएसपी दीपेन्द्र घर्ती क्षत्री (जीसी) को नेतृत्वमा प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। अब यही समितिले जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले गरेको छानबिनमाथि नै छानबिन गर्नेछ।
जिल्लाको छानबिन र अनुसन्धानमै प्रश्न उठेपछि फाइल सीआईबीलाई जिम्मा दिन निर्देश गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
‘हाम्रो कुरा भनेको प्रहरीको छानबिन र अनुसन्धानमा प्रश्न उठ्न हुँदैन भन्ने हो। असन्तुष्ट पक्षको माग पनि सीआईबीले अनुसन्धान गरिदिनुपर्छ भन्ने छ, त्यही भएर फाइल त्यहीँ लगिएको हो। अब बाँकी अनुसन्धान सीआईबीबाट हुुन्छ। यसअघि छानबिन र अनुसन्धानमा लापरबाही गरेको पाइए ललितपुर प्रहरीका अधिकारीमाथि कारबाही हुन्छ’, प्रहरीका एक उच्च अधिकारीले भने।
भैँसेपाटी प्रभागकी प्रहरी प्रमुख बिनु शाही मुछिएको हनी ट्रयापको घटना अनुसन्धान गर्न यसअघि परिसरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो।
समितिले शाहीसहितका प्रहरीको संलग्नता देखिएको निष्कर्षसहित उनलाई निलम्बन गरेर कारबाही अघि बढाउन सिफारिस गरेको थियो।
समितिको सिफारिसपछि परिसरले शाहीसहितका प्रहरीविरुद्ध अनुसन्धान गर्न अदालतबाट अनुमति पनि लिएको थियो। शाहीले हनी ट्रयापका आरोपीसँग मिलेर आर्थिक फाइदा लिएको आरोप छ।
शाहीले आफ्ना सवारी चालकमार्फत रकम लिएको आरोप छ। शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाललाई पनि पक्राउ गरेको छ। हिरासतमा राखेर अनुसन्धान गरिरहेका उनी पनि निलम्बनमा छन्।
यसअघि शाहीले भने छानबिन समितिले सोधपुछका लागि बोलाउँदा पनि जान इकार गरेकी थिइन्। प्रहरीले त्यसअघि नै सुनसरीको इटहरीकी सुष्मा विक, इटहरीकै ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरेको थियो।
अर्का आरोपी दर्शन पोखरेल भने फरार छन्। एक व्यवसायीलाई भैंसेपाटी प्रभागमा ल्याएर रकम बार्गेनिङ गरेको र उनीसँग ३० लाख रुपैयाँ लिएर छाडिएको बताइएको छ। रकम भिमादेवीको खातामा जम्मा गरेको, रकम जम्मा गर्न प्रहरी पनि साथै गएको दाबी गरिएको छ।
सुष्मालाई भेट्न इटहरी पुगेका ललितपुरका व्यवसायीलाई पछि उनीहरूले बलात्कारको मुद्दा लगाइदिने भन्दै रकम बार्गेनिङ गरेका थिए।
यो घटनाका गिरोहसँग एसपी कमल थापाको पनि साँठगाँठ देखिएको छ। अख्तियारमा कार्यरत थापालाई प्रहरी प्रधान कार्यालयले यसअघि नै फिर्ता बोलाएको थियो। थापाले इन्सपेक्टर शाहीलाई गिरोहसँग चिनजान गराइदिएको खुलेको छ।
थापा यसअघि सुनसरी प्रहरी प्रमुख हुँदा नै ताज स्माइलसँग चिनजान रहेको र शाहीसम्म उनले नै पुर्याएको प्रहरीको दाबी छ। एसपी थापा र गिरोहबीच पटक पटक संवाद भएका प्रमाण पनि फेला परेका छन्।
यस्तै, यो गिरोहले अन्य ठाउँमा पनि यसअघि यस्ता घटना घटाएको अनुसन्धानमा फेला परेको छ।
Shares

प्रतिक्रिया