समाज


वडाध्यक्ष छोराको रहस्यमय मृत्युको शोकमा रहेकी आमालाई हृदयाघात

उपनिर्वाचनका लागि बुहारी उम्मेदवार घोषित भएकै दिन सासुले संसार छाडिन्
वडाध्यक्ष छोराको रहस्यमय मृत्युको शोकमा रहेकी आमालाई हृदयाघात

स्वर्गीय मुकेश यादव र उनकी पत्नी आइतीकुमारी


नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १३:६, काठमाडौँ

महोत्तरीमा वडाध्यक्ष छोराको रहस्यमय मृत्युपछि शोकमा रहेकी आमालाई हृदयाघात भएको छ। 

रामगोपालपुर नगरपालिका- २ का वडाध्यक्ष मुकेश यादवको मृत्युको शोकमा रहेकी आमा समुद्रीदेवी यादवको गएराति हृदयाघातको कारण मृत्यु भएको हो। 

३५ वर्षीय यादवको गएको भदौ ९ गते बिहान शंकास्पद अवस्थामा शव फेला परेको थियो। उनको हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन्। उनीहरु पुर्पक्षको लागि हाल जलेश्वरस्थित जिल्ला कारागारमा छन्। 

वडाध्यक्ष मुकेशको मृत्युपछि रामगोपालपुर- २ मा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। 

उपनिर्वाचनको लागि माओवादी केन्द्रले मुकेशकी पत्नी आइतीकुमारी यादवलाई मंगलबार दिउँसो मात्रै उम्मेदवार घोषणा गरेको थियो। बुहारी उम्मेदवार घोषित भएकै राति सासुलाई हृदयघात भएको हो। 

मंगलबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा रामगोपालपुरमा भएको सभामा माओवादी कन्द्रले आइतीकुमारीलाई वडाध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको थियो। 

‘हामीले यो निर्णय केही दिनअघि नै गरेका थियौँ,’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने, ‘हिजो दिउँसो आइतीकुमारीलाई वडाध्यक्षकाे उम्मेदवार घोषणा गरिएको थियो। छोराको हत्यापछि शोकमा रहेकी आमा समुद्रीदेवको राति नै हृतयघातबाट मृत्यु भयो। एउटा शाेकमाथि अर्काे शाेक थपियाे।’

गएको भदौ ९ गते बिहान महोत्तरीको बर्दिबास नगरपालिका-८ को सडक छेउमा मोटरसाइकलसँगै वडाध्यक्ष यादवको शव फेला परेको थियो। 

माओवादी केन्द्रले उनको हत्या भएको दाबी गर्दै प्रहरीलाई अनुसन्धानको लागि विभिन्न ढंगले दवाव दिँदै आएकाे थियो। 

घटनाको लामो अनुसन्धानपछि प्रहरीले महोत्तरीकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलिप मण्डल पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। उनीहरु यही कात्तिक ७ गते कर्तव्य ज्यान (हत्या) सम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad