समाज


आज दिउँसो तथा राति यस्तो छ वर्षाको सम्भावना

आज दिउँसो तथा राति यस्तो छ वर्षाको सम्भावना

काठमाडौँमा पानी पर्दाको फाइल फोटो


नेपालखबर
साउन ८, २०८३ शुक्रबार ८:२५, काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम सरदरभन्दा थोरै माथि तथा पूर्व सरदर स्थानआसपास छ।

मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला देशभरको आकाशमा साधारणतया बादल लागेको छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो र रातिका लागि यस्तो छ मौसम प्रक्षेपण:

दिउँसो : देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ। मधेस र कोसी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका एक-दुई  स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका हिमाली र पहाडी भेगमा  साधारणतया बादल लाग्नेछ र तराईतर्फ आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना

काठमाडौँ उपत्यकाको मौसम आज (शुक्रबार) बिहानैदेखि बदली भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा रातिदेखि नै बादल छ। 

‘तर यो बिस्तारै हट्ने क्रममा देखिन्छ। तत्काल वर्षाको सम्भावना खासै देखिन्न। बिचमा केही समय घाम पनि लाग्ने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘तर अपराह्नतिर फेरि बादल बढ्दै गएर मध्यमसम्म वर्षा हुने देखिन्छ।’  

हाल मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक नरहेकाले, सरदर स्थानमा रहेकाले त्यस्तो धेरै वर्षाको सम्भावना नदेखिएको मौसमविद् अधिकारीले बताए। 

‘हाल विशेषगरी पहाडी भूभाग र पूर्वी तराईभन्दा पश्चिम तराईतिर वर्षाको सम्भावना अलि बढी देखिएको छ’, उनले भने। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad