मधेस


वडाध्यक्ष यादव हत्याका दुई आरोपी कारागार चलान

वडाध्यक्ष यादव हत्याका दुई आरोपी कारागार चलान

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार २०:२६, जलेश्वर (महोत्तरी)

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई जिल्ला अदालतले कारागार चलान गरेको छ।

औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलिप मण्डललाई कर्तव्य ज्यान (हत्या) सम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए।

जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरेको हो।

गत भदौ ९ गते बिहान वडाध्यक्ष यादवको शव निज सवार ल.प्र.०१–००१प.६३६२ नम्बरको मोटरसाइकलसहित बर्दिबास नगरपालिका–८ स्थित बर्दिबास– औरही सडकखण्डमा कल्भर्टमुनि फेला परेको थियो। नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष यादवको दुर्घटना नभएर हत्या गरिएको भन्दै पार्टीका नेता कार्यकर्ताले जिल्लादेखि केन्द्रसम्म विभिन्न दबाबमूलक कार्यक्रम गरेपछि घटनाको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी हत्या आरोपमा सञ्जीव र दिलीपलाई पक्राउ गरेको थियो। 

घटनाको अघिल्लो रात सञ्जीव, दिलीप र अन्य दुई महिला साथीहरूसँग वडाध्यक्ष यादवले अबेरसम्म बर्दिबासका विभिन्न होटलमा खानपिन गरेको, सँगै बसेको र बिहान उनी मृत अवस्थामा फेला परेको कारण घटना शंकास्पद रहेको माओवादी केन्द्रको दाबी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad