देशभर पश्चिमी वायुको प्रभाव छ भने पहाडी भेगमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण यतिबेला (मंगलबार साँझ) देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
महाशाखाका अनुसार आज राति कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा कोसी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाको भनाइ छ।
मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा पातलो (२६ देखि ५० प्रतिशतसम्म) बादल लाग्नु हो भने साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म बादल लाग्नु हो। मौसम मुख्यतया सफा भनेको चाहिँ लगभग आकाश सफा (२५ प्रतिशत मात्र बादल लाग्नु) हो।
यस्तै हल्का वर्षा भनेको १० मिलिमिटरभन्दा कम पानी पर्नु हो। मौसमविद्का अनुसार एक/दुई स्थानमा वर्षाको सम्भावना देखिनु भनेको पानी पर्ने सम्भावना निकै कम रहनु हो। एक/दुई स्थान भन्नाले जुनसुकै ठाउँमा पानीपर्न सक्छ भनेर बुझ्नपर्ने हुन्छ, वर्षा यही ठाउँमा हुन्छ भने निश्चित स्थान तोक्न भने नसकिने मौसमविद् बताउँछन्।
हाल नेपालमा पोस्ट मनसुन चलिरहेकोे छ, जुन सिजन नोभेम्बरसम्म रहन्छ र यसपछि अर्थात् डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।
Shares

प्रतिक्रिया