कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र रु एक लाख क्षतिपूर्तिको फैसला भएको हो।
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लोकजङ्ग शाहको इजलासले बुधबार सो फैसला गरेको हो। जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई अदालतले उक्त सजाय तोकेको हो।
अदालतका स्रेस्तेदार चिन्तामणि शर्माका अनुसार ती बालिकालाई बलात्कार गर्ने अन्य चार बालकलाई आठ वर्ष बालसुधार गृहमा राख्ने फैसला भएको छ। विसं २०७५ माघ र फागुनमा छुट्टाछुट्टै सयममा ती बालिकालाई ६ जनाले ललाइफकाई जबर्जस्ती करणी गरेका थिए।
बालिकाले डर त्रासका कारण त्यसबारे घरमा कसैलाई जानकारी दिएकी थिइनन्। घटनापछि बालिकाले तीन महिना चार दिनको गर्भ बोकेको कुरा स्वास्थ्य जाँचका क्रममा भेटिएको थियो।
पीडितकी आमाले २०७६ वैशाख ११ गते आफ्नी छोरीलाई ६ जनाले बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन्। सोही आधारमा घटनाका मुख्य आरोपी श्रेष्ठ पक्राउ परेका थिए।
बालिकालाई नगरपालिका–२ गोरुसिङ्गेस्थित रोयल खुस्बु होटलमा लगी बलात्कार गरेको खुलेको थियो। होटल मालिक नगरपालिका–९ इमिलियाका युवराज भुसाल जैसीले समेत बालिकालार्ई बलात्कार गरेका थिए। किटानी जाहेरी परेदेखि उनी फरार छन्। उनको मुद्दा मुल्तबी राखिएको स्रेस्तेदार शर्माले जानकारी दिए।
बालिका सकुशल रहेको प्रहरीले जनाएको छ। बालबालिकासम्बन्धी ऐनको दफा ३६९४० अनुसार आरोपी बालक भए कैदको दुई तिहाइ मात्र सजाय भोग्नुपर्ने प्रावधान छ। रासस

प्रतिक्रिया