पूर्वप्रशासक एवं कूटनीतिज्ञ कर्णध्वज अधिकारीको निधन भएको छ।
९२ वर्षीय अधिकारीको आइतबार निधन भएको छोरा अरूणध्वजले जानकारी दिए।
अधिकारी विसं २०४२ साउन २७ देखि २०४६ साउन २६ सम्म नेपाल सरकारको मुख्यसचिव भएका थिए। इन्जिनियरिङ सेवाबाट निजामती प्रशासनको नेतृत्व गर्नेमा उनी पहिलो र हालसम्म एक मात्र कर्मचारी पनि हुन्।
जलस्रोतविज्ञका रूपमा चिनिएका उनी जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकसमेत भएका थिए। उनले जलस्रोतका अलावा कृषि, गृह तथा पञ्चायत र अर्थ मन्त्रालयको सचिवको भूमिकामा समेत काम गरेका थिए।
अधिकारी खानेपानी तथा सिँचाइ विभागका निर्देशक छँदा कोसी बाँध उद्घाटनअघिको छलफलमा वार्ताकारका रूपमा सहभागी थिए। २०११ सालमा कोसी सम्झौता भएको थियो भने २०२५ सालमा राजा महेन्द्रबाट कोसी बाँधको उद्घाटन र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीबाट कोसी पश्चिम नहरको शिलान्यास भएको थियो। त्यसको पृष्ठभूमिमा भएको वार्तामा अधिकारी सामेल थिए।
उनी विसं १९८९ असोज १० गते काठमाडौँको कालधारामा जन्मिएका थिए। पछिल्लो समय काठमाडौँकै बालुवाटारमा बस्दै आएका थिए।
कलकत्ता विश्वविद्यालयबाट बीई अध्ययन गरेका उनी २०१२ साउन १४ गते असिस्टेन्ट इन्जिनियरबाट सरकारी जागिरमा प्रवेश गरेका थिए।
२०६० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा अधिकारी भारतका लागि राजदूत नियुक्त भएका थिए। २०६० फागुन ११ मा राजदूतको जिम्मेवारी सम्हालेका अधिकारीलाई राजनीतिक अस्थिरताका कारण कार्यकाल पूरा नहुँदै फिर्ता बोलाइएको थियो।
Shares

प्रतिक्रिया