समाज


उड्डयन क्षेत्रको समग्र अध्ययन गर्न सरकारले आयोग गठन गर्छः मन्त्री पाण्डे

उड्डयन क्षेत्रको समग्र अध्ययन गर्न सरकारले आयोग गठन गर्छः मन्त्री पाण्डे

नेपालखबर
साउन २४, २०८१ बिहिबार १३:३२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताएका छन्।

बिहीबार सिंहदरबारमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे जानकारी गराउँदै उनले सो कुरा बताएका हुन्।

बुधबार हेलिकप्टर दुर्घटनामा परी चालक दलका सदस्यसहित ५ जनाको ज्यान गएको थियो। त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको छानबिनका लागि ३ सदस्यीय जाँच आयोग गठन गरेको थियो। घटना विशेषको छानबिनका लागि आयोग गठन गरे पनि समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या समाधानका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई सो क्षेत्रको समग्र अध्ययनका लागि आयोग नै गठन गर्न निर्देशन दिएको पनि मन्त्री पाण्डेले समितिलाई जानकारी गराए।

उनले गएराति पनि अबेरसम्म प्रधानमन्त्री ओलीले आफू र मन्त्रालयका सचिवसँग सो विषयमा छलफल गरी त्यस क्षेत्रको समस्या समाधान हुने गरी आयोग बनाउन निर्देशन दिएको पनि बताए। अब बस्ने मन्त्रिपरिषद् बैठकले सो आयोग बनाउने जानकारी उनले दिए।

भिडिओ

उनले भने, ‘घटनालगत्तै छानबिन समिति बन्यो। मन्त्रिपरिषदमा पनि निकै लामो छलफल भयो। र, हामीले सधैँ यस्तो आयोग बनाइरहने, आयोगले प्रतिवेदन दिन या त ढिलाइ गर्ने या त दिएपछि पनि त्यसको कार्यान्वयनमा नजाने। यही कारणले हामी झन् जटिलतामा फस्दै गयौँ।अबचाहिँ यसलाई समग्रमा अध्ययन गर्नुपर्छ, हाम्रो सिस्टममाथि नै अध्ययन गर्नुपर्छ।’

प्रधानमन्त्रीले पनि विशेष चासो देखाएको र यस विषयमा आफू पनि छलफलमा रहेको मन्त्री पाण्डेले बताए। उनले समितिमा भने, ‘उड्डयन प्रणालीमाथिकै समस्या हो कि? नीतिगत समस्या हो कि, कानुनी समस्या हो कि? संरचनागत समस्या हो कि? प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरू, अनुगमन र नियमनको स्थिति के हो भन्नेमा समग्र अध्ययनका लागि एउटा आयोग बनाएर नै अघि बढ्ने गरी मन्त्रालयलाई उहाँ (प्रधानमन्त्री) ले निर्देशन दिनुभएको छ। त्यसपछि पनि म र सचिवज्यूसमेत राति प्रधानमन्त्रीज्यूसँग समेत यो विषयमा थप छलफल गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad