समाज


सौर्य एयर दुर्घटनाका घाइते पाइलट शाक्यलाई आईसीयूबाट वार्डमा सारियो

मेरुदण्डको अपरेसनबारे हड्डी विशेषज्ञसँग छलफल गरिने
सौर्य एयर दुर्घटनाका घाइते पाइलट शाक्यलाई आईसीयूबाट वार्डमा सारियो

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १२:३७, काठमाडौँ

गत शुक्रबार (साउन ९) सौर्य एयरको विमान दुर्घटनामा घाइते भएका पाइलट (क्याप्टेन) मनीषरन्त शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ। काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाका अनुसार, उनलाई शुक्रबार बिहान आईसीयूबाट सारिएको हो। 

शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उनले बताइन्। ‘उहाँ (मनीषरत्न शाक्य) को स्वास्थ्यवस्था सुधार भएको छ। अहिले आईसीयूबाट नर्मल वार्डमा सारिएको छ,’ उनले शुक्रबार दिउँसो नेपालखबरसँग भनिन्। 

दुर्घटनालगत्तै सुरुमा शाक्यलाई आकस्मिक कक्ष (ईमर्जेन्सी)मा पुर्‍याइएको थियो। जतिबेला उनको आँखामा चोट लागेको थियो भने शरिरका अन्य भागबाट रगत आएको थियो।

केहीबेर आकस्मिक कक्षमा उपचार गरेपछि शाक्यलाई सोही दिन आईसीयूमा लगेर उपचार थालिएको थियो। 

चिकित्सकहरूले उनको मेरुदण्डमा समस्या रहेको भन्दै अपरेसन गर्नुपर्ने बताएका थिए। यद्यपि, अहिलेसम्म उनको मेरुदण्डको अपरेसन भएको छैन। 

‘अपरेसन गर्ने कि नगर्ने भन्नेबारे हड्डीको विशेषज्ञसँग कुरा हुँदैछ,’ डा. थापाले भनिन्। 

त्यस्तै, उनले आईसीयू कक्षबाटै बिहीबार घटनाबारे सामान्य जानकारी दिएका थिए। ‘सायद उहाँले हामी सबैलाई देखेपछि त्यहाँको दुर्घटनाबारे भनिहाल्नुभएको हुनसक्छ,’ डा. थापाले भनिन्, ‘अरु चार/पाँच जना डाक्टर साबहरू पनि हुनुहुन्थ्यो।’

उनका अनुसार, त्यतिबेला उनले आफूले टेकअफ गरेर १ सय मिटर माथि पुग्नेबित्तिकै जहाज आफ्नो कन्ट्रोलमा नआएको चिकित्सकहरूसँग सुनाएका थिए। 

‘यो दुर्घटनाबारे छानबिन सुरु भइसकेको छ। छानबिनको विषय भएकाले हामीले उपचारमा रहनुभएका पाइलटसँग धेरै सोध्ने कुरा भएन।’

विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो। विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो।

सोही दुर्घटनामा बाँच्न सफल भएका पाइलट शाक्यलाई २३ मिनेटपछि अस्पताल पुर्‍याइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad