ad ad

समाज


कन्टेनरमा अड्किएको ककपिटबाट रगताम्य पाइलटले भने– अरु दुई जना पनि छन्

कन्टेनरमा अड्किएको ककपिटबाट रगताम्य पाइलटले भने– अरु दुई जना पनि छन्

उजिर कार्की
साउन ९, २०८१ बुधबार १७:२३, काठमाडौँ

बुधबार बिहान दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट (क्याप्टेन) मनीषरत्न शाक्य विमानको अघिल्लो भाग (ककपिट) कन्टेनरमा अड्किँदा जोगिन सफल भएका छन्। विमानको ककपिट कन्टेनरमा खड्किएको देखेपछि उद्धार टोली सुरुमा त्यहाँ पुगेको थियो। 

ककपिटमा सुरक्षाकर्मीले मनीषरत्न शाक्यलाई जिवितै देखेपछि ककपिटबाट बाहिर निकालेका थिए। उनको आँखा नजिकबाट रगत बगिरहेको थियो। 

‘हामी पुग्दा उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो। कन्टेरमा अड्किएको ककपिटबाट उहाँलाई बाहिर निकाल्यौँ। त्यसपछि उहाँले ककपिटमा अरु दुई जना पनि छन् भन्नुभयो’, उद्धारमा संलग्न ती सुरक्षा अधिकारीले भने, ‘त्यसपछि अरु दुई जनालाई पनि ककपिटबाट बाहिर निकालेर त्रिवि शिक्षण अस्पतालमा पठाएका थियौँ।’

ककपिटबाट निकालिएका चालक शाक्य बोल्न सक्ने अवस्थामा थिए। उनलाई सुरक्षाकर्मीहरूले बोकेर विमानस्थलको धावनमार्ग छेउमा निकाले। एम्बुलेन्समा राखेर नजिकैको काठमाडौँ मेडिकल कलेज लगियो।

ककपिटबाटै निकालिएका अरु दुई जनालाई भने त्रिवि शिक्षण अस्पताल पठाइएको थियो। तर उनीहरुलाई अस्पतालले मृत घोषणा गर्‍यो।

विमानको बाँकी भाग भने एक सय मिटर टाढा उछिटिएको थियो। बाँकी यात्रु उक्त भागमा थिए। 

त्यहाँ भने आगो दन्किरहेकाले आगो नियन्त्रणमा लिन करिब २५ मिनेट लागेको सुरक्षाकर्मीले बताएका छन्।

त्यहाँ रहेका १६ जनाको भने मृत्यु भइसकेको थियो। १८ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। 

पाइलट शाक्यको काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ। उनको आँखासहित शरिरका विभिन्न भागमा चोट लागेको छ।

तर उनी बोल्न सक्ने र खतरामुक्त अवस्थामा  रहेको अस्पताललाई उदृत गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एससपी दिनेशराज मैनालीले जानकारी दिए। 

उनलाई अहिले आईसीयूमा राखेर उपचार गरिरहेको र विभिन्न भागको चेकजाँच भइरहेको छ।

सौर्य एयरलाइन्सको सीआरजे ७ (९एनएएमई) जहाज काठमाडौँबाट बिहान ११ः११ मा पोखरा उडानको क्रममा दुर्घटनामा परेको हो। जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको थियो।

दुर्घटनामा परेको विमान प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थल लगिँदै थियो। 

दुर्घटनामा सौर्य एयरलाइन्सका व्यवस्थापकसहित कर्मचारी र आफन्त गरी १८ जनाको मृत्यु भएको छ।

यो पनि–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .