ad ad

समाज


आज पनि भेटिएनन् त्रिशूलीमा हराएका दुईवटा बस, निराश फर्किए सुरक्षाकर्मी

आज पनि भेटिएनन् त्रिशूलीमा हराएका दुईवटा बस, निराश फर्किए सुरक्षाकर्मी

त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी। तस्बिरः कृष्ण आचार्य/रासस


नेपालखबर
असार २९, २०८१ शनिबार २०:२८, काठमाडौँ

शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसको खोजी कार्य जारी छ। 

शुक्रबार र शनिबार दिनभर खोजी गर्दा पनि बस फेला पार्न सकिएको छैन। खोजी कार्यका लागि गोताखोरसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। 

खोज्दै जाँदा शनिबार बिहान सिमलतालभन्दा ५० किलोमिटर तल गोलाघाटमा एउटा शव फेला परेको थियो भने दिउँसो पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा दुईवटा शव फेला परे।

फेला परेका तीनमध्ये दुईवटा शव आफन्तको सहयोगमा सनाखत भएका छन्। 

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एवं डीएसपी भेषराज रिजालका अनुसार, अब भोलि बिहानैबाट फेरि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोलीले खोजी कार्य गर्नेछन्।

सकेजति सबै उपकरण प्रयोग गरेर खोजीमा लाग्दा पनि बस फेला पार्न नसकेपछि उद्धारमा खटिएका सुरक्षाकर्मी निराश फर्किएका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्स्पेक्सन सिस्टम आदिको प्रयोग गरी खोजी गरिएको थियो।

र्‍याफ्ट बोटमा जडान गरेर सोनार क्यामेराले पानीभित्रका वस्तु हेर्न सहयोग पुर्‍याउँछ।  

सशस्त्र डीएसपी थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट ९ जना गोताखोरसहित २५ जना र १७ नम्बर गण (चितवन) बाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित ३५ जनाको सुरक्षा फौज खोजी परिचालन गरिएको थियो।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन्।

काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ।

उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .