एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसीबाट प्रतिनिधित्व गर्ने केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरूले पनि नेतृत्व छोड्न सुझाव दिएका छन्।
विराटनगरमा भएको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यदलसँग उनीहरूले नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका हुन्।
नेताहरूले कम्युनिस्ट पार्टीमा व्यक्तिभन्दा आन्दोलन प्रधान हुने भएकाले आन्दोलनलाई अगाडि बढाउन पार्टी पुनर्गठन हुनुपर्ने धारणा राखे। उनीहरूले पार्टीको पुनर्गठन शिरदेखि हुनुपर्ने सुझाव दिएका छन्।
फागुन २१ को निर्वाचनमा प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार भएकहरुले निर्वाचन समीक्षामा पार्टी पुनर्गठन गरेर जाँदा नै पार्टी बलियो हुने धारणा राखेको नेताहरुले बताएका छन् ।
कुनै बेला अध्यक्ष ओलीका विश्वासपात्रमध्येका एक दीपक कार्कीले तत्कालै नेतृत्व फेर्नुपर्ने बताए।
‘अब पनि नेतृत्व परिवर्तन नगरे कहिले गर्ने?,’ उनले भने। केन्द्रीय सदस्य समेत रहेका कार्की ओलीकै निर्वाचन क्षेत्रका नेता हुन्।
अर्का एमाले नेता विनोद ढकालले केन्द्रीय नेतृत्व अध्यक्ष मात्र नभई सबै पदाधिकारी फेरेर जानुपर्ने धारणा राखे। उनले भने, ‘पदाधिकारीसहित सबैले जसअपजस लिनुपर्छ, त्यसैले अब दललाई नयाँरूपमा अघि बढाउन अध्यक्षसहित सबै पदाधिकारी फेरेर जानुपर्छ।’
अध्यक्ष ओलीका विश्वासपात्र मानिएका राजेन्द्र गौतमले औपचारिक हलमा नबोले पनि कार्यकर्ताको बीचमा अब नेतृत्व फेरेर जाँदा उपयुक्त हुनेबारे छलफल गरेका थिए।
छलफलमा सहभागी एक नेताका अनुसार गौतमले अनौपचरिक कुराकानीका क्रममा अब ओलीबाट पार्टी नचल्ने भन्दै विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर जानुपर्ने बताएका थिए।
केन्द्रीय नेताहरूले मात्रै पार्टी पुनर्गठनको कुरा उठाएनन् जिल्ला तहका झापाबाहेकका सबै जिल्ला अध्यक्षहरूले पार्टीलाई नयाँ ढंगले लैजानुपर्ने सुझाव दिए।
सोलुखुम्बुका जिल्ला अध्यक्ष डुक बाँस्तोलाले अहिले ओलीलाई बोकेर गाउँ जानसक्ने अवस्था नरहेको बताए। ओलीका बोलीले गर्दा समस्या देखिएको र गाउँगाउँमा जाँदासमेत बोल्न सक्ने अवस्था नभएको उनले बताएका थिए।
मंगलबार बिहानदेखि लिइएका सुझाव साँझसम्म चलेको थियो। कार्यदलका संयोजक पार्टी उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेललगायतका नेताहरू सुझाव संकलनपछि उठेका विषयको जबाफ नदिई बुधबार बिहानै फर्किएका थिए।
पार्टी महासचिव शंकर पोखरेल भने बुधबार एमाले कोसी प्रदेश कमिटीले आयोजना गरेको पार्टी जागरण अभियान एवम् प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्न बसेका थिए।
कार्यक्रममा पोखरेलसहित सचिवहरू शेरधन राई, हिक्मतकुमार कार्की र भानुभक्त ढकाल सहभागी थिए।
पोखरेलले विगतको निर्वाचन परिणाम र बदलिँदो जनमतले राजनीतिक दलहरूका लागि गम्भीर आत्मसमीक्षाको आवश्यकता रहेको बताए।
‘निर्वाचनमा मुख्य गरी तीनवटा एजेन्डाहरू हाबी भएको देखिन्छ, जसमा एउटा विशिष्ट घटनालाई लिएर एमालेलाई मात्रै दोषी देखाउने र उसैमाथि प्रहार गर्ने प्रवृत्तिले चुनावी वातावरणमा बढी प्रभाव पार्यो,’ उनले भने, ‘पुराना राजनीतिक दलहरू नागरिकका अपेक्षा पूरा गर्न असफल भएको र अब नयाँ शक्ति वा विकल्प चाहिन्छ भन्ने भाष्य बनाइयो।’
चुनावमा देशभक्ति, राष्ट्रिय विकास र सामाजिक न्याय जस्ता आधारभूत मुद्दाहरूले जनतालाई खासै छुन नसकेको उनको भनाइ थियो। भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने नाराले बढी प्राथमिकता पाएका कारण एमालेको पराजय भएको उनको समीक्षा छ।
‘जनता के चाहन्छन् भन्ने कुराको सही वस्तुनिष्ठ मूल्यांकन नगरी अगाडि बढ्दा जनमत आफ्नो पक्षमा ल्याउन असम्भव बन्दछ,’ उनले भने, ‘अहिलेको अवस्थामा राजनीतिक दलहरूका लागि कि त आफ्ना नीति र एजेन्डाहरू स्पष्ट रूपमा जनतालाई बुझाउन सक्नुपर्छ कि जनभावना र चाहनालाई बुझेर दल र तिनका नेतृत्वले आफैँलाई समयानुकूल बदल्नुपर्छ।’
कतिपय जिम्मेवार नेता कार्यकर्ताहरूले अध्ययन र विचारै नगरी नयाँ पुस्तालाई अपराधी करार गर्ने किसिमका गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको प्रति उनले असन्तुष्टि जनाए।
युवाहरुलाई सँगै लिएर जान नसक्दा कतिपय अवस्थामा युवाहरू पनि दलहरूप्रति असन्तुष्ट र टाढा भइरहेको बताए। ‘युवाहरूले आफैँ पनि कतिपय आन्दोलन र अभियानहरू ‘हाइज्याक’ भएको स्वीकार गरिरहेका बेला, दलहरूले हतारमा सिंगो पुस्तालाई नै दोषी देख्नु भूल हुनेछ,’ उनले भने।
साथै उनले पार्टीका जिम्मेवार नेताकार्यकर्ताको गलत रिपोर्टिङ र भुइँतहको वस्तविकताबीचको ठूलो खाडलका कारण निर्वाचनमा पार्टीले अकल्पनीय र लज्जास्पद पराजय बेहोर्नुपरेको स्वीकार गरेका छन्। एमाले नेतृत्वले आफ्ना कुरा मात्रै जनतामा थोपर्ने तर जनताका कुरा नसुन्ने प्रवृत्तिका कारण आज नागरिकसँगको सम्बन्ध पूर्णरूपमा टुटेको बताए।
‘एमालेको ओरालो यात्रा २०७९ सालको स्थानीय निर्वाचनदेखिनै सुरु भइसकेको र त्यतिबेलै ६ लाख मत गुमिसकेको थियो। नेतृत्वले कमजोरी पत्ता लगाएर सुधारका उपाय दिँदादिँदै पनि तल्लो कमिटीले त्यसलाई कार्यान्वयन गर्न सकेन,’ उनले भने।
युवा, सहरी क्षेत्रका मतदाता, वैदेशिक रोजगारीमा गएका नेपाली र एमालेको परम्परागत शक्तिका रूपमा रहेका सहरी गरिब एवं सुकुमवासीहरूले एमालेमाथि भरोसा गर्न छाडेको उनको भनाइ छ।
महासचिव पोखरेलले चुनावका बेला जनतामा चलेको ‘चुपचाप घन्टी छाप’ को लहरलाई एमाले कार्यकर्ताले सुइँको समेत नपाएको स्वीकार गरे। मतदाताले एमालेसँग पूर्ण विच्छेद नगरे पनि ‘यसपालि एमालेलाई दण्डित गर्नैपर्छ’ भनी बनाएको मौन मानसिकता बुझ्न पार्टी पूर्णरूपमा असफल भएको उनको भनाइ छ। साथै पार्टीको ‘मिसन ग्रासरुट’ अभियान पनि असफल भएको बताए।
Shares

प्रतिक्रिया