ad ad

समाज


निर्मला हत्या प्रकरणः दिलिप प्रहरीको निगरानीमा

निर्मला हत्या प्रकरणः दिलिप प्रहरीको निगरानीमा

गोकुल जोशी
माघ २७, २०७६ सोमबार १३:२०,

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको साढे एक वर्ष पुरा भएको छ। तर हालसम्म पनि घटनाका दोषि पहिचान हुन सकेको छैन। निर्मला प्रकरणमा पछिल्लो पटक सबैभन्दा बढि सुनिने नाममध्ये एक हो, दिलिप सिंह बिष्ट।

दिलिप निर्मला प्रकरणको मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका थिए। ‘मानसिक सन्तुलन गुमाएको निर्दोष’ लाई फसाउन खोजिएको भन्दै आन्दोलन चर्किएपछि उनको डीएनए जाँच गरियो। दिलिपको डिएनए निर्मलाको भेजनाइल स्वाबसँग मेल नखाए पछि उनी छुटेका थिए। प्रहरीको अनुसन्धान फेरि पनि उनै दिलिपमाथि केन्द्रित भएको छ।

निर्मला प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेर डिआइजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिले प्रतिवेदन तयार पारेको छ। पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह बिष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको छ ।

यद्यपी कञ्चनपुर प्रहरीले भने हालसम्म कुनै लिखित निर्देशन नआएको जनाएको छ। दिलिपलाई निगरानीमा राखेको डीएसपी रविन्द्र पौडेल बताउँछन्। ‘दिलिप नै दोषि हो वा अन्य कोही भनि दुई तरिकाबाट अनुसन्धान भइरहेको छ।’ उनले भने, ‘यही हो भनेर अनुसन्धान टुङगिएको छैन।’ निर्मलाकी आमा दुर्गादेवीले दिलिप विरुद्ध दिएको किटानीमा व्यक्त गरेका कुराहरुमाथि अनुसन्धान भइरहेको उनले बताए। दिलिपलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

निर्मलाकी आमा दुर्गादेवीले दिलिप विरुद्ध भदौ २२ गते किटानी जाहेरी दिएकी थिइन्। घटनाको अनुसन्धानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय समितिले डीएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने समेत ठहर गरेको छ।

२०७५ साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मलाको शव अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो। घटनाको साढे एक वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन। निर्मलाको शव भेटिएको दिन साउन ११ देखिनै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन। हाल पनि कञ्चनपुर प्रहरी, सिआइबी लगायतको टोली शंकास्पद मानिएका बिषयको निरन्तर अनुसन्धान गर्ने काममा सक्रिय रहेको बताएका छन्।

घटनाको अनुसन्धानमा संलग्न विभिन्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरेका छन्। प्रहरीले डीएनए परिक्षण, शंकास्पदको बयान, शंकास्पद व्यक्तिहरुमाथि सूक्ष्म अनुसन्धान गर्‍यो। तर प्रहरीको अनुसन्धान अहिलेसम्म पनि अपराधीको छेउछाउ पुग्न सकेको देखिँदैन। प्रहरीले अनुसन्धान गरिरहेको जनाए पनि अनुसन्धान कुहिरोको कागजस्तो आफैमा रुमलिइरहेको देखिन्छ।

प्रहरीले नै प्रमाण नष्ट गरेकोे भन्ने आरोप लागेसँगै प्रहरीले तत्कालिन एसपी डिल्लीराज बिष्ट, सिआइबीका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, दुई जना प्रहरी निरीक्षक र एक जना असई निलम्बनमा परे। निर्मला हत्याका वास्तविक दोषी पहिचान हुन नसक्दा प्रहरीप्रतिको जनताको विश्वास घट्दै गएको छ। निर्मला प्रकरणमा हालसम्म झण्डै ५ सय २९ जना शंकास्पद मानिएकाहरुसँग बयान लिइएको छ भने ७३ जनाको डीएनए परीक्षण गरिएको छ। तर अपराधीसम्म पुग्ने दरिलो आधार भेटाउन सकेको छैन, प्रहरीले।

न्यायको खोजीमा परिवार
घटनाको घटेको एक वर्ष भैसक्दा समेत दोषि पहिचान हुन नसकेपछि न्याय पाउने आशा मरेको निर्मलाकी आमा दुर्गादेवीले बताइन्। यत्रो लामो समय भैसक्दा समेत अपराधीको पहिचान हुन नसक्दा न्याय पाउने कुरा अब दिवास्वप्न जस्तै भएको उनको भनाई छ। दिलिपका कुराहरु सुन्दा उनै हत्यारा जस्तो लाग्ने उनको भनाई छ।

‘डेढ वर्ष भैसक्दा पनि हत्यारा पत्ता लागेन, अब कहिले पत्ता लाग्छ?’ उनले भनिन्, ‘दिलिपका क्रियाकलाप देखेर उनै हो भनि मैले जाहेरी दिएकी छु। उसले भनेका सबै कुरा मेल खाएका छन्।’ यस्तै उनले थपिन्, ‘सबै ठाउँबाट पीडा छ, अब त न्याय पाउने आशा नै छैन। कसरी आशा गर्ने, अब सबै कुरा भगवानको हातमा छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .