ad ad

समाज


नयाँ ट्राभल एड्भाइजरी : स्वीकृति नदिएका देशका सेनामा भर्ना भए अब सम्बन्धित व्यक्ति जिम्मेवार

नयाँ ट्राभल एड्भाइजरी : स्वीकृति नदिएका देशका सेनामा भर्ना भए अब सम्बन्धित व्यक्ति जिम्मेवार

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८० मंगलबार १८:३०, काठमाडौँ

सरकारले भ्रमण तथा पर्यटक भिसामा विदेश गएर कुनै देशको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मेवार स्वयम् व्यक्ति हुने स्पष्ट पारेको छ।

अध्यागमन विभागले मंगलबार १३ बुँदे ट्राभल एड्भाइजरी जारी गर्दै भारत र बेलायतबाहेकका देशको सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्ण रूपमा गैरकानुनी र राष्ट्रहितविपरीत रहेको पनि जनाएको छ।

भिजिट र पर्यटक भिसामा गएर रोजगारी गर्ने तथा सेनामा भर्ती हुने जस्ता गतिविधि बढेपछि सरकारले 'ट्राभल एड्भाइजरी' जारी गरेको छ।

भिजिट भिसामा जानेहरूले नक्कली कागजात पेस गर्ने, झुट्टो विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र जाने क्रम बढेपछि सरकारले नयाँ निर्णय लिएको हो।

पछिल्लो समयमा नेपालीहरू द्वन्द्वग्रस्त देशमा पुगेर अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिकमा भर्ना हुने जस्ता गतिविधि बढेपछि अध्यागमन विभागले मंगलबार नयाँ 'ट्राभल एड्भाइजरी' जारी गरेको हो।

भिजिट र विद्यार्थी भिसामा गएर पछिल्लो समय रुसी र युक्रेनी सेनामा नेपालीहरू भर्ना हुने क्रम बढेपछि सरकारले त्यसलाई रोक्ने कोसिस गरेको हो। 

यी दुई देशको सेनामा नेपालीहरू भर्ना भएर युद्ध लडेको पाइपछि सरकारले नयाँ ट्राभल एड्भाइजरीमार्फत त्यस्ता मुलुकहरूबारे जानकारी लिएर मात्रै भ्रमणमा जान भनेको हो। 

अबदेखि भिजिट भिसामा जानेहरूले निर्धारित समयमै स्वदेश फर्किने स्वघोषणा गर्नुपर्ने कुरा पनि एड्भाइजरीमा उल्लेख गरिएको छ।

‘भिजिट भिसामा गएका नेपालीहरू उल्लेखित मितिमा फर्किने गरेको नपाइएकाले असामान्य स्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनुहोला,’ एड्भाइजरीमार्फत सरकारले भनेको छ, ‘अन्यथा यसबाट सिर्जना हुने अवस्थाबारे व्यक्ति स्वयम् जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वःघोषणा गरेर मात्रै प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ।’

विदेश उड्नुअघि त्यस देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्रै भ्रमण गर्न पनि सरकारले भनेको छ।

भिजिट भिसामा नक्कली कागजात र गलत विवरण राखेर द्वन्द्वग्रस्त मुलुकसम्म लगेर विचौलियाले अलपत्र पार्ने गरेकोतर्फ पनि सरकारले नागरिकलाई सचेत गराएको छ।

ट्राभल एड्भाइजरीकाे पूर्णपाठ :
१) भिजिट भिसा सो मुलुकमा रहेका यात्रुका आफन्तलाई भेटन जाने प्रयोजनका लागि सम्बन्धित मुलुकले दिएको प्रवेश अनुमति मात्र हो भने पर्यटक भिसा आफ्नो वा प्रायोजकको खर्चमा सो देशमा घुम्न जानका लागि सम्बन्धित मुलुकले उपलब्ध गराएको प्रवेश अनुमति मात्र हो। भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य हो। यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुन अनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने हुन्छ। तसर्थ, भिजिट भिसा वा पर्यटक भिसामा विदेश जाँदै हुनुहुन्छ भने आफन्त भेटने र घुम्ने लगायत भिसाको उद्देश्य अनुसारका काम मात्र गर्नुहोस् र भिसाको अवधिभित्रै स्वदेश फर्कनुहोस्। भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले भिजिट भिसामा पठाउनको लागि सेटिङको नाममा विचौलियाहरुले रकम माग गरेमा त्यस्तो रकम नबुझाउनुहोस्।

२) भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरुले नक्कली कागजात पेश गर्ने,  झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्य विपरित एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरुसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरुबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने हुँदा यस विषयमा भ्रमण गर्ने मुलुकको पूर्ण जानकारी लिई आफ्नो भ्रमणको उद्देश्य अनुरुप मात्र कार्य गरी आफूलाई पूर्ण रुपमा सुरक्षित राख्न थप सजगता अपनाउनुहोस्।

३) श्रम गन्तव्य मुलुकहरु कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराईन जस्ता देशहरुमा विचौलियाहरुको प्रभावमा महिलाहरुलाई भिजिट वा पर्यटक भिसामा पुगी वर्किङ भिसामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने,  तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट बञ्चित हुनुपर्ने जस्ता सम्भावना रहेकोले काम गर्ने मनसायले विदेश जाँदै हुनुहुन्छ भने भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्नुहोस्।

४) विभिन्न मुलुकमा भिजिट वा पर्यटक भिसामा गएका केही नेपाली यात्रीहरु उल्लिखित मितिमा फर्कने गरेको नपाइएकोले असामान्य परिस्थिति वाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनु होला। अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्व:घोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ। विदेश प्रस्थान गर्नुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्नुहोस्।

५) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सूचीकृत भएका विश्वविद्यालयहरुमा भर्ना भएर विदेश जाने र सम्बन्धित विश्वविद्यालयहरुमा नपढी गलत ढङ्गबाट काम गर्दा समस्या आउन सक्ने एवं पछिल्ला दिनहरुमा अध्ययन भिसामा रहेर पनि काम गर्न एवं पैसा कमाउन सकिन्छ भनेर विभिन्न विचौलियाहरु मार्फत विदेशी विश्वविद्यालयहरुमा भर्ना भई काम गर्ने मनासायले भ्रमण गर्दै हुनुहुन्छ भने काम गर्ने र पढ्ने बिषय अलग-अलग भएकोले यसमा थप सतर्कता अपनाउनुहोस्।

६) विदेश यात्रा गर्दै हुनुहुन्छ भने नेपालको विमानस्थलहरुबाट मात्र यात्रा गर्नुहोस्। भारत वा अन्य तेश्रो मुलुकको विमानस्थल भएर अन्य मुलुकमा यात्रा गर्दै हुनुहुन्छ भने नेपाली राजदूतावासबाट जारी हुने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)  लिएर मात्र यात्रा गर्ने तथा महिलाहरुको हकमा भारतका विमानस्थल भएर तेश्रो मुलुक यात्रा गर्दै हुनुहुन्छ भने थप सजगता एवम् सावधानी अपनाउनुहोस्।

७) तपाईंलाई श्रम स्वीकृति लिएर विदेशमा पठाउने भनी आश्वासनसहित रकम माग गरेमा सो रकम बुझाउनुपूर्व सो इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) को आधिकारिकताको कागजात माग गर्नुहोला। शैक्षिक परामर्शदाता, ट्राभल्स एजेन्सी वा कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी आश्वासन दिई रकम मागेमा रकम नबुझाउनु होला। आफू ठगीमा पर्दैछु भन्ने लागेमा सोको जानकारी वैदेशिक रोजगार विभाग वा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको टेलिफोन नं. १०० मा जानकारी दिनुहोस्। 
    
८) वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त संस्था (म्यानपावर कम्पनी) लाई नेपाल सरकारले तोकेको न्यूनतम रकम मात्र बुझाई सोको रसिद लिन नभुल्नुहोला। प्रचलित कानुनमा यस सम्बन्धी कार्य गर्ने एजेन्टको व्यवस्था नभएको हुँदा कसैले म एजेन्ट हुँ, वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी झुटा आश्वासन दिएमा विश्वास नगर्नुहोस् एवं एजेन्टलाई कुनै पनि हालतमा रकम नबुझाउनुहोस्। 

९) वैदेशिक रोगजारीमा पठाउन इजाजत प्राप्त संस्थाले भिजिट वा पर्यटक भिसामा पठाउन खोजेमा सो सम्बन्धमा गोप्य सूचना दिनको लागि गृह मन्त्रालय,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग वा अध्यागमन विभागमा तुरुन्त सम्पर्क गर्नुहोस्।

१०. मित्रराष्ट्र भारत तथा वेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुने वाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्ण रुपमा गैरकानुनी र राष्ट्रहित विपरीत हो। यस्तो कार्य गर्ने व्यक्तिहरुलाई उद्दार गर्न समेत कठिन हुने भएकाले कुनैपनि अवस्थामा यस्तो कार्य नगर्नु नगराउनु होस्।

११. वैदेशिक रोजगारीको सिलसिलामा वा भिजिट भिसामा ठगीमा पर्नु भएमा वा पर्न लागेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरु वा वैदेशिक रोजगार विभागमा तुरुन्त उजुरी गर्नुहोला। तपाईं विदेशमा रहेको बेलामा कुनै सहयोग आवश्यक परेमा उक्त देशमा रहेको नेपाली दूतावास वा नियोगमा समेत सम्पर्क गर्नुहुन।

१२. नेपालका सम्पूर्ण स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रहरुबाट द्विविधा रहेका विषयमा श्रम तथा वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा आवश्यक जानकारी लिनु हुन।

१३. वैदेशिक रोजगारीका सम्बन्धमा कुनै जिज्ञासा भएमा वा कुनै जानकारी लिनुपर्ने भएमा राहदानी बनाउँदाका बखतमै जिल्ला प्रशासन कार्यालयहरुमा रहेको नम्बरमा सम्पर्क राख्नु होला। वैदेशिक रोजगार सम्बन्धी बिषयमा कुनै समस्या भएमा वैदेशिक रोजगार वोर्डको सचिवालमा रहेको कल सेन्टरको पैसा नलाग्ने नं. ११४१ मा फोन वा श्रम कल सेन्टरको ईमेल [email protected] मा ईमेल गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .