नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालमा अमेरिकी प्रभाव र पहुँच बढ्दै जानु राष्ट्रिय स्वाधिनताका लागि गम्भीर चुनौती रहेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री सिंहले नेपालको सार्वभौमिकतामाथि अमेरिकाको दवावले चुनौती थपिएको बताए। सिंहले विदेशी शक्ति केन्द्रहरूको प्रभावमा सरकार सञ्चालन हुनु बिडम्बनापूर्ण भएको टिप्पणी गरे।
अमेरिका र चीनबीचको बढ्दो भू–राजनीतिक तनावको केन्द्र नेपाललाई बनाउन खोजिएको सिंहको दाबी थियो। एमसीसीलगायतका सम्झौतामार्फत नेपाललाई सैन्य तथा रणनीतिक गठबन्धनमा तान्ने प्रयास भइरहेको उनले बताए। यस्तो प्रवृत्तिले नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा असर पार्ने उनको भनाइ छ।
नेपालमा स्वतन्त्र तिब्बतसम्बन्धी गतिविधि बढिरहेको दाबी गर्दै उनले नेपाली भूमिलाई छिमेकी चीनविरुद्ध प्रयोग गर्ने प्रयास भइरहेको जिकिर गरे। सरकारकै संरक्षणमा दलाई लामाको जन्मदिन मनाइएको स्मरण गर्दै यस्ता गतिविधिले द्वन्द्व बढाउने चिन्ता व्यक्त गरे। नेपालमा युद्धको अवस्था सिर्जना भए युक्रेनमा जस्तै गम्भीर मानवीय संकट उत्पन्न हुन सक्ने उनको चेतावनी थियो।
साम्राज्यवादी शक्तिहरूको हस्तक्षेपविरुद्ध राजनीतिक रूपमा सचेत र संगठित भएर अघि बढ्नुपर्ने सिंहले स्पष्ट पारे। कांग्रेस, एमाले, माओवादीजस्ता दलहरूले लामो समयसम्म शासन सञ्चालन गरे पनि भ्रष्टाचार र कुशासनविरुद्ध प्रभावकारी कदम चाल्न नसक्दा देशमा लोकप्रियतावाद हावी भएको सिंहले बताए।
महामन्त्री सिंहले वर्तमान सरकार क्रमशः निरंकुश र तानाशाही दिशातर्फ उन्मुख भएको आरोप पनि लगाए। विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चारमाध्यममाथि दवाव र दमन बढेको उनको भनाइ थियो। वर्तमान शासकहरू संविधानका प्रगतिशील प्रावधान उल्टाउने प्रयासमा लागेको आरोप लगाउँदै त्यसविरुद्ध निरन्तर राजनीतिक संघर्ष आवश्यक रहेको सिंहले बताए।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, मसाल बागमतीका प्रवक्ता समीर सिंह, नेता आनन्द शर्मालगायतले धारणा राखेका थिए।
त्यस्तै, आगामी भदौ २१ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा पञ्चायती शासनविरुद्ध भएको संघर्षमा आधारित नाटक ‘१२ मई’ प्रदर्शन गरिने जनाएको छ।
Shares

प्रतिक्रिया