समस्याग्रस्त घोषित इटहरी-६ स्थित अम्बेकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हालसम्म ५ करोड ३९ लाख रुपैयाँ भन्दा बढी बचत फिर्ता गरेको जनाएको छ।
कोसी प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेपछि संस्था व्यवस्थापन समितिको सक्रियतामा बचत फिर्ता, ऋण असुली तथा कानुनी कारबाहीको प्रक्रियालाई तीव्रता दिइएको हो।
२०८१ पुस २३ गते समस्याग्रस्त घोषणा भई सोही महिनाको २७ गतेदेखि कार्य प्रारम्भ गरेको व्यवस्थापन समितिले साना बचतकर्ताहरूलाई प्राथमिकतामा राख्दै चरणबद्धरूपमा रकम फिर्ता गरिरहेको समितिका सदस्य जीवन काफ्लेले जानकारी दिए।
संस्थाले हालसम्म कुल ८४६ जना बचतकर्ताको ५ करोड ३९ लाख ७ हजार ५४० रुपैयाँ बचत फिर्ता गरिसकेको छ।
यसअन्तर्गत २०८३ वैशाख ३० गते २० हजार रुपैयाँसम्म बचत भएका ३०३ जना साना बचतकर्ताको पुरै रकम अर्थात् २९ लाख ६४ हजार ३९८ रुपैयाँ फिर्ता गरिएको थियो।
यसै गरी २०८३ जेठ २३ गते १ लाख रुपैयाँसम्म बचत भएका ३२७ जना बचतकर्तालाई जनही २० हजारका दरले कुल ६५ लाख ४० हजार रुपैयाँ र २०८३ असार १७ गते ५ लाख रुपैयाँसम्म बचत भएका १३५ जनालाई जनही ४० हजारका दरले कुल ५४ लाख रुपैयाँ फिर्ता गरिएको जनाएको छ।
विशेष जोखिममा परेका अन्य ५ जना बचतकर्ताको पनि ३ लाख ४० हजार रुपैयाँ फिर्ता भइसकेको समितिले जनाएको छ। हालसम्म कुल ७७० जनालाई नगद तथा ७६ जना बचतकर्ताको बचत मिलान (ऋणसँग मिलान) मार्फत ३ करोड ८६ लाख ६३ हजार १५० रुपैयाँ बराबरको दायित्व फरफारक गरिएको समितिले जनाएको छ।
ऋण असुलीतर्फ संस्थाले हालसम्म कुल ५ करोड ७२ लाख ४८ हजार ५० रुपैयाँ संकलन गर्न सफल भएको अधिकृत काँशी पराजुलीले बताए। उनका अनुसार यसमध्ये ७६ जना ऋणीको बचत मिलानबाट ३ करोड ८६ लाख ६३ हजार १५० रुपैयाँ र नगद भुक्तानीबाट १ करोड ८५ लाख ८४ हजार ९०० रुपैयाँ असुली भएको हो।
यसैबिच सहकारी बैंकले संस्थाको स्वामित्वमा रहेको घर लिलाम गरी आफ्नो ऋण असुल गरेर १ करोड १४ लाख रुपैयाँ संस्थाको खातामा पठाइदिएको छ। हाल संस्थाको बैंक मौज्दात १ करोड ४४ लाख रहेको छ भने ऋण असुलीकै क्रममा सुनसरी जिल्ला अदालतमा ८ वटा मुद्दामा मिलापत्र समेत भइसकेको छ।
ऋण तिर्न अटेर गर्ने र लामो समयसम्म सम्पर्कमा नआउने १८७ जना ऋणीहरू विरुद्ध समितिले कानुनी कारबाहीको चेतावनी दिएको छ । उनीहरूको नाम र विस्तृत विवरण कार्यालयको वेबसाइटका साथै कोसी प्रदेश लगायत १४ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय र सम्बन्धित स्थानीय तहहरूमा सार्वजनिक गरिएको पराजुलीले बताए।
दोषी र ऋणीहरूको बैंक खाता तथा सम्पत्ति रोक्का गर्ने कार्यलाई पनि तीव्रता दिँदै हालसम्म ३४२ जनाको बैंक खाता र ४२ वटा जग्गा रोक्का गरिएको छ भने प्रक्रिया पूरा गरेका ११६ जनाको बैंक खाता फुकुवा गरिएको छ।
९ हजार ५५९ जना सेयर सदस्य र ९ हजार ४९२ जना बचतकर्ता रहेको यस संस्थाको कुल बचत रकम ४२ करोड ६० लाख ९८ हजार ९६९ रुपैयाँ रहेको छ।
२०८२ माघ २६ गतेसम्म निवेदन दिएका बचतकर्ताहरूको २४ करोड ६१ लाख ४० हजार ८१३ रुपैयाँ बराबरको बचत दाबी प्रमाणित भइसकेको छ।
यस्तै २०८२ माघ २७ देखि २०८३ जेठ १४ गतेसम्म प्राप्त भएका करिब १ हजार जना बचतकर्ताको नयाँ निवेदनलाई प्रमाणित गर्ने प्रक्रिया अहिले अन्तिम चरणमा रहेको छ।
कुल ४१ करोड ९३ लाख १६ हजार २४५ रुपैयाँ ऋण लगानी रहेको यस संस्थामा हालसम्म कुल दाबीको करिब २० दशमलव २५ प्रतिशत रकम फर्छ्यौट भइसकेको व्यवस्थापन समितिले जनाएको छ।
Shares

प्रतिक्रिया