ad ad

समाज


सीमानाका बन्द भएपछि १४ नेपाली चीनको चाँगामै रोकिए

सीमानाका बन्द भएपछि  १४ नेपाली चीनको चाँगामै रोकिए

नेपालखबर
माघ २१, २०७६ मंगलबार ८:५७,

संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाका बन्द भएको छ। चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गरेको हो।

नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए।

सीमापारि रहेकामा १२ जना संखुवासभा र दुईजना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेको अध्यक्ष भोटेले बताए। उनीहरूलाई नेपाल फर्काउन मंगलबार जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको उनले बताए।

उनका अनुसार भोटखोला गाउँपालिका पनि चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रिन सक्ने भएकाले सतर्क हुन आग्रह गरिएको छ।

‘चीनमा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि हामीले पनि भोटखोला नागरिकलाई सचेत रहन आग्रह गरेका छौँ’, उनले भने। कोरोना भाइरसका कारण भोटखोलावासीले अहिले नै डराउनुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ।

खाद्यान्न संकट हुने अवस्था
चीनले यही माघ ५ गतेदेखि किमाथांका नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट हुने अवस्थामा पुगेको अध्यक्ष भोटेले बताए। उहाँले भने, ‘हामी थुनिएका १४ जना र दैनिक उपभोग्य सामग्रीको अभावका बारेमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरिरहेका छौँ।’ सदरमुकामदेखि पाँच दिनको पैदलमा रहेको भोटखोलाका नागरिक दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन्।

किमाथांका गाउँ र चीनको चाँगा बजार बीचमा रहेको कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन्। सोमबारको गाउँकार्यपालिकाको बैठकले किमाथांकाका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने विषयमा निर्णय गरेको थियो। भोटखोलाका प्रत्येक घरलाई एक महिनासम्म पुग्ने खाद्यान्न ढुवानीमा पहल गर्न र ढुवानीका लागि हेलिकोप्टरको प्रबन्ध मिलाइदिन प्रशासनमा अनुरोध गरिएको अध्यक्ष भोटेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .