ad ad

समाज


बंगालको खाडीमा बनेको चक्रवातको प्रभाव पर्दा नेपालमा के हुन्छ?

बंगालको खाडीमा बनेको चक्रवातको प्रभाव पर्दा नेपालमा के हुन्छ?

फाइल फाेटाे


नेपालखबर
कात्तिक ७, २०८० मंगलबार ७:१८, काठमाडौँ

मौसमविद्का अनुसार अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव परिरहेको छ भने पूर्वतर्फ बंगालको खाडीमा बनेको ‘हामुन’ नामको चक्रवातको प्रभाव परिरहेको छ। 

मनसुन (पूर्वी वायु) सकिएपछि नेपालमा अहिले प्रि–मनसुनको सिजन चलिरहेको छ।

अंग्रेजी महिना नोभेम्बरसम्म रहने यस सिजनमा पश्चिमी वायु सक्रिय हुन्छ। यो जति क्षमताका साथ आउँछ, उति नै मात्रामा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात तथा अन्य स्थानमा वर्षा गराउँछ।  

नेपालको पश्चिमी क्षेत्रबाट भित्रिने भएकाले यसको प्रभाव बढी मात्रामा पश्चिमतिरै पर्छ।

यतिबेला पूर्वी क्षेत्रमा भने बंगालको खाडीमा बनेको हुमान चक्रवातको आंशिक प्रभाव सुरु भएको मौसम पूर्वानुमान महाशाखका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। 

के गर्छ त यो चक्रवातले?  
मौसमविद् लामिछानेका अनुसार अहिले नेपालमा उक्त चक्रवातको आंशिक प्रभाव मात्र परिरहेको छ। 

‘कोशी, मधेश र बागमती प्रदेशसम्म यसको प्रभाव परेको छ’, उनले भने, ‘त्यसमा बढी प्रभाव कोशी प्रदेशकै पूर्वी क्षेत्रमा मात्र परेको छ।’

उनका अनुसार उक्त चक्रवातले नेपालको पूर्वी क्षेत्रमा बादल ल्याउने र मौसम बदली गराउने भूमिका खेल्छ।

‘त्यस्तो वर्षा नै गराउने किसिमको प्रभाव देखिएको छैन, पूर्वी पहाडका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहे पनि सम्भावना अलि कम नै छ’, मौसमविद् लामिछानेले भने, ‘यसले पूर्वी क्षेत्रमा मौसम बदलीसम्म गराएको छ।’ 

आज मौसम कस्तो रहला? 

मौसम पूर्वानुमान महाशाखाको बिहानी बुलेटिनअनुसार दिउँसो कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

यस क्रममा आज दिउँसो देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुलेटिनअनुसार आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली  र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .