ad ad

समाज


दोलखाका तत्कालीन प्रजिअ रिजाल भ्रष्टाचारका पाँचवटा मुद्दामा दोषी ठहर

एक महिनादेखि एक वर्षसम्म जेल सजाय
दोलखाका तत्कालीन प्रजिअ रिजाल भ्रष्टाचारका पाँचवटा मुद्दामा दोषी ठहर

फाइल तस्बिर


नेपालखबर
साउन ३०, २०८० मंगलबार १९:६, काठमाडौँ

विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचारका पाँचवटा मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतका न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको मंगलबारको इजलासले रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकसाथ दायर गरेका पाँच मुद्दामा कसुर ठहर गर्दै सजाय सुनाएको हो। 

रिजालविरुद्ध माघ २०७६ माघ २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचवटा मुद्दा चलाएको थियो। ती सबै मुद्दामा उनी दोषी ठहर भएको फैसला विशेष अदालतले सुनाएको हो। 

रिजाललाई एउटा मुद्दामा एक वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएको छ। त्यही मुद्दामा उनलाई त्यति नै रकम बिगो असुलउपर गर्न पनि फैसला भएको छ। 

अदालतले तोकेको बिगोमा दुई लाख रुपैयाँ उनको बैंक खाताबाट जफत गरिनेछ। अन्य बाँकी दुई लाख उनले जम्मा गर्नुपर्ने भएको छ।

रिजालले दोलखामा प्रजिअ हुँदा घुस लिएर भ्रष्टाचार गरेको प्रमाण भेटिएपछि अख्तियारले मुद्दा चलाएको थियो।

जिल्ला प्रशासन कार्यालयले हेर्ने मुद्दाका प्रतिवादीलाई धरौटीमा रिहा गर्नका लागि रिजालले चार लाख रुपैयाँ घुस लिएका थिए। 

सम्बन्धित समाचार

अभियुक्तलाई महिलासम्बन्धी मुद्दा लाग्ने र जागिर जानसमेतको डर देखाउँदै धरौटी रकमका रुपमा रिजालले चार लाख रुपैयाँ लिएको अख्तियारले ठहर गरेको थियो।

अख्तियारको अनुसन्धानबाट रिजालले अर्को मुद्दामा पनि ३५ हजार रुपैयाँ घुस प्रमाण खुलेको थियो। उक्त घुस पनि उनले सजायको त्रास देखाएर लिएका थिए।

यो मुद्दामा अदालतले दोषी ठहर गर्दै ३५/३५ हजार रुपैयाँ जरिवाना र बिगो भराउने फैसला सुनाएको छ। यसमा पनि उनलाई तीन महिना कैद सजाय हुने भएको छ। 

दोलखामै हुँदाको तेस्रो मुद्दामा उनले ९०/९० हजार रुपैयाँ बिगो र जरिवाना तिर्नुपर्ने भएको छ। यो मुद्दामा उनले ५ महिना कैद भोग्नुपर्ने भएको छ।

चौथो मुद्दामा पनि रिजाललाई ४०/४० हजार रुपैयाँ बिगो र जरिवाना तिराउने फैसला भएको छ। यसमा रिजालले एक महिना कैद भोग्नुपर्ने भएको छ। 

भ्रष्टाचारको पाँचौँ मुद्दामा दोषी ठहर भएका रिजालले पाँच महिना कैद र ७७ हजार ६ सय जरिवाना तिर्नुपर्ने भएको छ। अदालतले ७७ हजार ६ सय नै बिगो भराउने पनि फैसला गरेको छ।

के थियो अख्तियारको दाबी?
घुससहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रजिअ रिजालविरुद्ध अख्तियारले माघ २०, २०७६ मा विभिन्न पाँचवटा आरोप पत्र विशेष अदालतमा दर्ता गराएको थियो।

कूल विगो रकम ६ लाख ५२ हजार ६ सय कायम गरी पाँचवटा आरोप पत्र दायर गरिएको थियो। 

रिजाललाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न घुस, रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरे भन्दै थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।

सेवाग्राहीसँग घुस लिएकाे आराेप लागेका रिजाललाई २०७६ मंसिर २४ गते गृह मन्त्रालयले निलम्बन गरेकाे थियाे। उनलाई अख्तियारकाे टाेलीले गत पुस १५ गते नियन्त्रणमा लिएकाे थियो।

अनुसन्धानको सिलसिलामा रिजालले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी महिलासम्बन्धी केश लाग्छ, थुनिदिन्छ, जागिर जान्छ, जिल्ला प्रशासन कार्यालयमा हाजिर गराउँछु भनी मोलाहिजा गरी डरत्रास देखाई गालीगलौज गरी धरौटी भनी झुक्याई सेवाग्राहीहरुबाट घुस/रिसवत लिएकाे अख्तियारले जनाएको थियो।

    यस्तै, उनले भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरी, खाता नै खडा नगरी र कुनै प्रतिवेदन पेश नगरी, कतिपय भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने अधिकारी पदाधिकारीको दस्तखतसमेत नगरी हिनामिना गरेको आरोप थियो।

    उनले अनुगमन गएको भनी भ्रमण भत्तासमेत बुझेका दिनहरुमा अनुगमनमा नै नगई कार्यालयमै बसी आफैले सुरक्षा समितिको बैठक राखी उपस्थित भई हस्ताक्षरसमेत गरी बिभिन्न पत्रहरुमा हस्ताक्षर गरी र म्याद थपको आदेशसमेत गरेको देखिएको जनाइएकाे छ।

    रिजालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर भएकोले ठहरसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी हिनामिना, हानिनोक्सानी गरेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर गर्न अख्तियारले माग गरेको थियो। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .