अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्र प्रसाद रिजाललाई पदबाट निलम्बन गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ।
रिजालमाथि घुस लिएको बारे अनुसन्धान भइरहेकोले तत्काल निलम्बन गर्न गृहमा पत्र पठाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका हुन्।
उनीविरूद्ध अनुसन्धान भइरहँदा पदमा बहाल रिजालले प्रमाण मेटाउने भन्दै आयोगले गृहसँग निलम्बन गर्न आग्रह गर्दै पत्र पठाएकाे जनाएकाे छ।
उनलाई गत शुक्रबार गृह मन्त्रालयमा तानिएको थियो। प्रजिअ रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट गत हप्ता २१ हजार लिएको तथ्य सार्वजनिक भएको थियो।
घटना सार्वजनिक भएपछि उनीमाथि दोलाखाबासीले कारबाहीको माग गर्दै आएका थिए।
सार्वजनिक मुद्दा लागेका लामा र तामाङसँग प्रजिअ रिजालले एक लाख ११ हजार रकम लिए पनि १० हजारको मात्रै बिल दिएपछि घटना सार्वजनिक भएको हो। घटना सार्वजनिक भएलगत्तै उनले सम्बन्धित व्यक्तिहरुलाइृ बोलाए गत बिहीबार नै उक्त रकम फिर्ता गरेका थिए।
यसअघि अख्तियारकै कर्मचारी समेत रहेका प्रजिअ रिजालले जनप्रतिनिधिमाथि हातपातको आरोपमा पक्राउ परेका लामा र तामाङसँग मुद्दा नचलाउने भन्दै सो रकम लिएका थिए।
Shares
प्रतिक्रिया