पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी-ढोरपाटन सडक अवरुद्ध भएको छ।
बुर्तिबाङ-ढोरपाटन सडकखण्डअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका-९ फल्लेघरमा शनिबार खसेको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन्। शुक्रबार साँझ नै ढोरपाटन पुगे पर्यटक फर्किन पाएका छैनन् भने बिदामा घुम्न हिँडेका पर्यटक फल्लेघरमै अलपत्र परेका छन्।
मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। सडक अवरुद्ध हुँदा धेरै यात्रु सडकमै अलपत्र परेको उनले जानकारी दिए।
यो याममा ढोरपाटन आउने पर्यटकको घुइँचो लाग्ने गर्छ। ढोरपाटन घुम्न आउने पर्यटकलाई मौसम र सडकको अवस्था बुझेर मात्रै आउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
Shares

प्रतिक्रिया