समाज


प्रशिक्षार्थी चिकित्सक पनि आन्दोलित, माइतीघरमा प्रदर्शन

प्रशिक्षार्थी चिकित्सक पनि आन्दोलित, माइतीघरमा प्रदर्शन

नेपालखबर
असार २७, २०८३ शनिबार १५:२३, काठमाडौँ

एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकले स्टाइपेन्डसम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको छन्। 

शनिबार एमबीबीएस तथा बीडीएस इन्टर्न संघर्ष समितिको अगुवाइमा उनीहरूले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। इन्टर्न चिकित्सकको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीको भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका सह-संयोजक विकासकुमार शाहले बताए। 

शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड ७५ प्रतिशत पुर्‍याउने निर्णय गरेको थियो। मन्त्रालयले बनाएको अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा निर्णय गरेको भए पनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म कार्यान्वयन हुन सकेको छैन। 

मन्त्रालयबाट निर्णय भएर आएको कुरा कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिन बाध्यता भएको शाहले बताए। सरकारले छिटोभन्दा छिटो आयोगको पूर्ण बैठक बोलाई इन्टर्न स्टाइपेन्डसम्बन्धी निर्णय अनुमोदन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

‘इन्टर्न मेडिकल अफिसरको तलब ७५ प्रतिशत पुर्‍याउने भन्ने निर्णय गरि समितिबाट मन्त्रालय पुर्‍याउनुभयो तर दुर्भाग्यवस एमईसीको पूरा मिटिङ नबस्दा त्यो निर्णय कागजमै सिमित भयो,’ उनले भने, ‘जब निर्णय भएर पनि कार्यान्वयन हुँदैन, तब आन्दोलन विकल्प होइन, बाध्यता हुन जान्छ।’

नेपाल मेडिकल एसोसिएसनको नेतृत्वप्रति पनि उनीहरूले असन्तुष्टि जनाएका छन्। मेडिकल विद्यार्थी तथा इन्टर्न चिकित्सकको मागका विषयमा संस्थाले प्रभावकारी भूमिका खेल्न नसकेको उनीहरूको गनासो छ। एसोसिएसनले निजी मेडिकल कलेजको भन्दा पनि चिकित्सक र मेडिकल विद्यार्थीको हितलाई प्राथमिकता राख्नुपर्ने उनीहरू बताउँछन्। 

सरकारले नै गरेको निर्णय कार्यान्वयन भएपछि अस्पतालमा फर्किने उनले बताए। अन्यथा माग पूरा नहुँदासम्म आन्दोलन जारी रहेन उनको भनाइ छ। 

‘हामी अस्पताल फर्किन चाहन्छौँ, बिरामीको सेवामा समर्पित हुन चाहन्छौँ। तर सम्मानबिना सेवा सम्भव हुँदैन,’ उनले भने, ‘आज हामी शान्त छौँ तर कमजोर छैनौँ। सम्बन्धित निकायहरु कृपया याद राख्नुहोला, जबसम्म हाम्रो श्रमको सम्मान हुँदैन, जबसम्म हाम्रो वैज्ञानिक अधिकार कार्यान्वयन हुँदैन, तबसम्म यो आवाज कुनै व्यक्ति, पद वा राजनीतिक शक्तिले रोक्न सक्ने छैन।’

उनीहरूले ‘हाम्रो धैर्यको परीक्षा धेरै भयो’, ‘प्रतिवेदन कार्यान्वयन गर’, ‘इन्टर्नमाथिकोण् विभेद अन्त्य गर’, ‘निर्णय कार्यान्वयन गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। सरकार, चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायले इन्टर्न स्टाइपेन्डसम्बन्धी निर्णय नगर्दासम्म आन्दोलनलाई निरन्तरता दिने समितिले चेतावनी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad